दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन आइतबार सउलमा सम्पन्न भएको छ । दिपेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष अन्जित खत्री, उपाध्यक्ष जयराम कार्की, महासचिव अंकित कार्की, सचिव पासाङ दावा शेर्पा र कोषाध्यक्षमा सुभाष भुजेल चयन भएका छन् । सदस्यहरुमा तिर्थराज ओली, टिकाराज घिमिरे, सोङदा दोर्जे शेर्पा, सरोज केसी, नवराज बस्नेत र केदार खतिवडा निर्वाचित भएका छन् ।
अधिबेशनलाई कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैह्र आवासिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्रीले दोलखाली समाजले छोटो समयमै दक्षिण कोरिया र स्वदेशमा धेरै राम्रो काम गरेको बताए । उनले भने ‘संस्थाको कार्यलाई व्यतिगत रुपमा नभइ सामूहिक रुपमा अघि बढे सबैलाई फाइदा हुनेछ ।’ त्यस्तै नेपाल सम्पर्क समिति दक्षिण कोरियाका महासचिव सुन्दर लिम्बुले दक्षिण कोरियामा धेरै नाम मात्रैको संस्था भएको बताए । उनले दोलखाली समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरे ।
कार्यक्रमलाई पत्रकार महासंघ दक्षिण कोरियाका उपाध्यक्ष विकास श्रेष्ठ, आदिबासी जनजाति महासंघ दक्षिण कारियाका अध्यक्ष चित्रबहादुर मोक्तान र दोलखाली समाज दक्षिण कोरियाका संरक्षकहरु लालकाजी बस्नेत, सेरसाङ्बो शेर्पा र सल्लाहाकार शंकर गुरुङले सम्बोधन गरेका थिए । कार्यक्रममा समाजको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य निबर्तमान उपाध्यक्ष रामजी श्रेष्ठले गरेका थिए ।