मेसिनमा बेरिएर एक नेपालीको मृत्यु
फोनिज कोरिया सम्वाददाता
दक्षिण कोरियामा काम गर्ने क्रममा मेशिनमा च्यापिएर शनिबार एक नेपालीको मृत्यु भएको छ । छुङछङबुक्दोको थेसोस्थित सङहोन प्राइट कम्पनीमा कार्यरत रुपन्देहीका ३९ वर्षिय नुभराज भूसालको बिहान साँढे दशबजेतिर मेशिन सफा गर्ने क्रममा चलिरहेको मेशिनको मोटरमा बेरिएर मृत्यु भएको हो । मृतक भूसाल चारवर्ष दश महिनापुरा गरी पुनः सिबिटि पास गरेर साँढे दुई वर्ष अघि कोरिया आएका थिए । मृतक भूसालको मेकानिकल डिपार्ट अन्तर्गत मेशिन जाँच गर्ने काममा खटिएका थिए । सोही काम अन्तर्गत आज चलिरहेको मेशिन चेक गर्ने क्रममा चलिरहेको मेशिनको मोटरमा बेरिएर मृत्यु भएको उनीसँगै कार्यरत सहकर्मी देवेन्द्र पोखरेलले बताएका छन् ।
मृतकका श्रीमती र दुई छोरी रहेका छन् । घटनाको बारेमा परिवारलाई जानकारी गराइसकेको छ भने मृतकको शब खुवाङ थेसङ अस्पतालमा राखिएको छ । घटनापछि तत्काल सोलस्थित नेपाली राजदूतावासमा जानकारी गराइ पनि दूतावासले साप्ताहिक बिदा परेको कारणले सोमबार मात्र घटनाको बारेमा जानकारी दिने बताएको छ ।