कोरियाको थेगुमा प्रथम तमू धीं कप फुटसल प्रतियोगिता आउँदो मे १ तारिकमा हुने
कोरियाको दक्षिणी भेग थेगुस्थित तमू धीं थेगु शाखाले आउँदो मे १ तारिक प्रथम तमू धीं कप फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपालीहरुको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहर नजिकैको खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश गुरुङले बताए ।
प्रतियोगितामा विजेता टिमले २५ लाख कोरियन वोन सहित कप, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद ५०,००० वोन सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलाडी टिम दर्ता यही अप्रिल २४ तारिकसम्म रहने सोही संस्थाका खेल संयोजक निमेश गुरुङले जानकारी दिए ।
तमू धीं थेगु शाखाले कोरियामा रहेका तमू समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको सन्दर्भ संस्थाका निवर्तमान अध्यक्ष हर्क गुरुङले उल्लेख गरे । प्रथम तमू धीं कप फुटसल प्रतियोगिता २०२२ लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा संस्थाले उपस्थितिको लागि अनुरोध गरेको छ ।