बुद्धचित्तको रुखबाट ३० लाख रुपैयाँसम्म आम्दानी
प्रकाश सुन्दास
काभ्रे– बौद्ध गुरु पद्मसम्भव (गुरु रेमपोछे)ले काभ्रे तिमालको पोखरी नारायणस्थान–९ तोङसाम कुन्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो ठाउँ फर्कने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ । पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप रोप्न दिएको एउटा वनस्पती (बुद्धचित्त)को माला बेचेर अहिले तिमालबासी लखपति बनेका छन् ।
कृषकहरूले एउटै बोटबाट २ देखि २५–३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । लामो समयसम्म कुहिएर खेर गइरहेको बुद्धचित्त मालाको व्यावसायिक कारोबार हुन थालेको भने ३–४ वर्षमात्रै भएको छ । बुद्धचित्तका लागि तिमालको हावापानी विश्वमै अब्बल मानिन्छ । तिमालका बोल्देफेदिचे, सस्र्युखर्क, कानपुर, मेच्छे, ठूलोपर्सेल, पोखरीनारायणस्थान, कुरुवास चापाखोरी र सरमथलीमा यसको व्यावसायिक खेती नै सुरु भएको छ ।
बुद्धचित्तको माला बुद्धका अनुयायी तथा बौद्ध धर्मावलम्बीले अध्यात्मिक चिन्तनमा उपयोग गर्छन् । उनीहरूले बुद्धचित्तका १०८ दानाबाट तयार पारिएको माला लिएर जप्छन् । बुद्धचित्तलाई तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँहरूले सामाजिक, धार्मिक एवं सांस्कृतिक रूपमा प्रयोग गर्ने गरेका छन् । अहिले बजारमा १०८ वटा साना दानाले बनेको माला सुनभन्दा तेब्बर महँगो छ । वर्षको दुईपटक बुद्धचित्तका दाना टिप्न सकिन्छ ।-कारोबार