उमा गुरुङको सदावहार ‘सालको पात’
‘आम्मै नि ! नमरे बाँचे भेट हुने रहेछ । म त यो दिदीलाई चटक्कै भुलेर जानुभयो भन्ठानेकी सम्झेर आउनुभयो बहिनी’, घरको गेटबाट भित्र पस्नसाथ र्गल्याम्म अंगालो हाल्दै एकैसासमा खुशी व्यक्त गरिन् । ‘दिदी हजुर त धेरै मोटाउनुभएछ नि,’ रातो कुर्तासलवारमा टमक्क कसिएकी दिदीलाई भनें । ‘अहिले अलि घटेको पो बहिनी योगा गर्छु । उमेर ढल्कदै गएपछि हेल्थको पनि बढि नै केयर गर्नुपर्ने रहेछ ।’
पाँचवर्षपछि नेपाल फर्केपनि मसँग प्रसस्त समय थिएन । व्यस्तताको वावजूद पनि मैंले गायिका तथा साहित्यकार उमा गुरुङलाई भेट्ने योजना कोरियाबाट नै बनाएकी थिएँ । किनकी मलाई असाध्य माया गर्ने उमा दिदीलाई नभेटी कोरिया आएकोमा मलाई साह्रै पछुतो लागिरहेको थियो ।
लामो समयपछिको भेट, खुशीको रौनकता छछल्किन बेर लागेन । दिदी एकैछिन बाहिरिइन् । मैंले तात्तातो मिल्क कफिको चुस्किसँगै बैठक कोठा नियाल्न थालें । भित्ताभरी भुण्डिएका दर्जनौं सम्मानपत्र, पत्रपत्रिकामा छापिएका दिदीको अन्तरर्वाताका फ्रेमहरु लहरै सजाएर राखिएका थिए । अर्को पाटामा विभिन्न कला झल्कने ब्ल्याक एण्ड ह्वाइट पेन्टिङ अनि भुईभरी दिदीका प्रकाशित कृतिका पुस्तकहरु छरिएका थिए । काठमाडौंको कालोपुलस्थित उनको निवासमा झण्डै आधा घण्टासम्म बसेर हामीले कुरालाई अगाडि बढाइरह्यौं फरमल इनफरमल ।
सालको पात टपरी गाँसेर
धेर भो माय जाउँ डाँडा काटेर
पानी तालैमा…
बोलको कालजयी गीत गाएर तीन दशक अघि नै नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएकी गायिका हुन् उमा गुरुङ । २०३२ सालतिरै १३ वर्षको उमेरमा उक्त बोलको लोकगीत रेडियो नेपालमा रेकर्ड गराएकी थिइन् । सानैदेखि गीतसंगीतमा निकै रुचि राख्ने उमा ‘ए दुरका सितारा’ गीतका गायक मामा बटुकृष्ण ज्वालाको साथ र संगतले कलिलो मस्तिष्कमा संगीतको नसा भरिसकेको थियो । कक्षा छदेखि ८ पढदासम्म पढदा रेडियो नेपालमा बाल कार्यक्रममा सहभागी भएर विभिन्न बालगीत गाउनुकासाथै बालकविता वाचन गरिसकेकी थिइन् ।
कक्षा ९ मा पढदै गर्दा रेडियो नेपालबाट हुने सांगीतिक प्रतियोगितामा भाग लिइन् । सहभागी अग्रज कलाकारहरुलाई उछिनेर मामाका छोरा राजु सिलवालले लेखेको सालको पात टपरी गाँसेर गीतबाट उत्कृष्ट भइ स्वर्णपदक हात पारिन् । त्यसपछि आधुनिक गीतको भ्वाइस टेष्टमा पनि प्रथम भएकी उमाले गुरु गणेश परिवारको सहयोगमा उक्त गीत रेडियो नेपालमा रेकर्ड गराइन् । गीत रेकर्ड गर्दा भक्तराज आचार्यले यो नानीलाई यहि गीतले चिनाउछ भनेको उनलाई अझै झलझली सम्झना छ ।
आफ्नै रचना, संगीत र स्वरमा ‘बाबा’ र ‘तिर्सना’ गीतिएल्वम निकालिसकेकी गायिका उमा पछिल्लो समय संगीतमा भन्दा साहित्य लेखनमा बढी सक्रिय भइन् । ३५ वर्षसम्म बालउद्यान मावि बालाजुकी प्रधानअध्यापिका रहेकी उमा गुरुङ नेपाली गीत, संगीत र साहित्य क्षेत्रमा अनवरत लागिरहने स्रस्टाको नाम हो । उनको साहित्य सिर्जना मुलतः गीत, कविता, काब्य, बालसाहित्य, कथा र उपन्यास विधामा छ । लामो समय शिक्षण कार्यमा रहेर समाज सेवामा समेत आफ्नो पहिचान बनाइसकेकी उमा थुप्रै पुरस्कारबाट सम्मानित भइसकेकी छिन् ।
बाबाको सम्झना(शोककाब्य), देवेन्द्र स्मृति संग्रह, आमाको सम्झना(शोककाब्य), पृथ्वी बाल मातृत्व कथासंग्रह, अमृतांश भजन संग्रह, ताती बालगीत संग्रह, निष्पत्ति छोरालाई चिठी, ऐना उपन्यास, परिभाषा गीतिकविता संग्रह र सुस्केरा, उत्तमा, सखल्ल, गुञ्जन जस्ता कविता संग्रह गरी १३ औं कृति प्रकाशित गरिसकेकी उमा भजन र बालगीतहरु रेकर्डि गर्नुकासाथै नाटक लेख्ने सोचमा छिन् । ‘जीवनमा सँधै केही नौलो गरौ भन्ने मात्र लागिरहन्छ । त्यसैले भविष्यमा मलाई नाटक लेख्ने अति नै रहर छ हेरौं समय र परिस्थितिले मलाई कतिको साथ दिन्छ’, उनी सुनाउछिन् ।
उनले १७ वर्षको उमेरदेखि नै शिक्षण पेशा अपनाएकी थिइन् । सुरुदेखि नै प्रधानअध्यापिका भएर काम गरेकी उमा गीतसंगीतसँगै शिक्षण पेशा पनि मन पर्ने र लगाव पनि यसैमा भएकोले शिक्षणलाई अँगाल्न पुगिन् । त्यसो त उनको बुबा शिक्षाविद् प्रा.देवेन्द्र बहादुर गुरुङको गाउँफर्क राष्ट्रिय अभियानको गुरु योजनाको मूल मन्त्रले उनलाई जीवनमा केही गरौं भन्ने उत्साह थपिदियो । गाउँका पिछडिएका किसान र गरीब परिवारको छोराछोरीका लागि न्यून शुल्कमा विद्यालय संचालन गरिन् । उमा लामो समयसम्म शिक्षण पेसामा लागि परेर पाएको ठुलो उपलब्धी भन्नु नै आफ्ना विद्यार्थीहरु कोही डाक्टर, इन्जिनियर, अधिवत्ता, प्रोफेसरका साथै थुप्रै प्रतिष्ठित ब्यक्ति बनेकोमा गर्व गर्छिन् । ‘आफ्ना नानीहरुलाई विद्यालयको् छनोट गर्दा ठुलठुला विद्यालयको भवनलाई होइन गुणस्तरीय शिक्षा दिने विद्यालयलाई रोज्न आग्रह गर्छु । ताकी आफ्नो नानीहरु भविष्यमा एक असल अनुशासित र कर्मठ विद्यार्थी भएर जीवनमा सफल र प्रतिभाशाली बन्न सकुन्,’ उनी सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्छिन् ।
विसं २०६१ सालदेखि प्रतिभावान पत्रकारकासाथै आफुले अध्यापन गराएका विद्यार्थी र प्रतिष्ठित व्यत्ति विशेषलाई बुबाको नामबाट ‘देवेन्द्र स्मृति सम्मान’ भनेर सम्मानित गर्दै आएकी छिन् ।
सानैदेखि नेपाली भाषा साहितय तथा विशेषत नेपाल र नेपालीहरुको पहिचान लोक गति अति मन पर्ने हुनाले नेपालीहरु अध्ययनको सिलसिलाले होस् वा कामको सिलसिलाले होस संसारका जुनसुकै कुनामा रहेता पनि नेपाली भाषा संस्कृतिलाई भने सबैले सदैव माया गरी रहुन् भन्ने उनलाई लाग्छ ।
जीवन रहुन्जेल सिर्जनामा लागिरहने उमा साहित्य, संगीत र कला विहीन मानिस पशु समान देख्छिन् । यिनै सत्य सार्थकताले हरदम नौलो सिर्जनामा लाग्ने हौसला मिलेको उनको ठहर छ । कसैले जीवनको परिभाषा सोधे उनी यसरी जवाफ दिन्छिन्, ‘नदीले भन्छ, मलाई पनि गाह्रो छ सलल बग्न पाउँदिन थुप्रै ढुंगा र चट्टानहरुलाई छिचोल्दै बहनुपर्छ । रुख र वन जंगलले भन्छ, मलाई पनि कहाँ शान्ति छ र ? आँधीबेहेरीले लर्छार्दै कहा कहाँ पुर्याइदिन्छ । मानिस त झन् आफैंमा निराश छ संघर्षदेखि जति पर भागे पनि आखिर संघर्ष आगानमा नै आइदिन्छ, मन अत्याइदिन्छ । तर जीवन घामछाया हो आइरहन्छ गइरहन्छ प्रकृतिका यथार्थबाट हामीले पनि सदैव हिम्मतका पाठ सिक्नु पर्छ ।’