कोरियामा कालो पोथी र गाजलु
पछिल्लो समय दक्षिण कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढ्न थालेको छ । केही समय अघि मात्र कोरियाका विभिन्न शहरमा प्रर्दशित अनमोल केसी अभिनित चलचित्र डिम्स अपार सफलतापश्चात अहिले चलचित्र कालो पोथी र गाजलु प्रदर्शन हुने तयारीमा रहेका छन् ।
युवा निर्देशक मिनबहादुर भामद्धारा निर्देशित चलचित्र कालोपाथी यहि जुलाई १७ तारिख आइतबार किम्हेमा प्रदर्शन गरिने भएको छ ।
त्यस्तै २४ मा थेगुमा समेत प्रर्दशनी गर्न लागिएको उक्त चलचित्र गतवर्ष भेनिस अन्राष्टिय फिल्म फेस्टिभलमा क्रिटिक्स विधातर्फ उत्कृष्ट फिल्म घोषित भएपछि दर्शकमाझ बहुप्रतिक्षित बनेको थियो । बुसान अन्र्तराष्टिय फिल्म महोत्सवमा समेत छनोट भएको कोलो पोथी मुगुका दुई बालसखा प्रकाश र किरणबिचको मित्रतालाई माओवादी युद्धको पृष्ठभूमिमा राखेर निर्देशक भामले चलचित्र तयार पारेका छन् । जात र वर्गका आधारमा भिन्नता रहे पनि प्रकाश र किरणले मित्रतालाई कसरी कायम राखेका छन् भन्ने कुरालाई देखाउन खोजीएको चलचित्र कालो पाथीमा स्थानीय खडकराज नेपाली (प्रकाश) र शुक्रराज रोकाया(किरण)को मुख्य अभिनय रहेको छ ।
किम्हे माइग्रेन्ट स्पोर्टस क्लव र परदेशी लाइफ डट कमको संयुक्त प्रस्तुति रहेको चलचित्र प्रदर्शनबाट संकलित रकम खेल क्षेत्रको स्तरवृद्धि तथा परोपकारी अभियानमा खर्च गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी यहि जुलाई २४ तारिख कोरियाको राजधानी सोल र ३१ तारिख बुसानमा नेपाली चलचित्र गाजलु प्रदर्शन गरिने भएको छ । आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र नेपाली आवास गृह व्यवस्थापन समिति बुसानको सहकार्यमा प्रदर्शन गर्न लागिएको चलचित्र जीवित देवी कुमारी प्रथामा आधारित रहेको छ । चलचित्रमा अनमोल केसीकासाथमा २०१२ का मिस नेपाल सृष्टी श्रेष्ठ, मेनका प्रधान, सलोन बस्नेत, गौरव पहारी, गौरी मल्ललगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
बुसानको नेपाली आवास गृहलाई अझ व्यवस्थित बनाउनको लागि गृहलाई चाहिने आधारभूत अत्यावश्यक सामान व्यवस्थापन गर्ने उदेश्यसहित प्रदर्शन गर्न लागिएको चलचित्र हेमराज बिसीले निर्देशन गरेको छन् ।