नेपालको सर्बोच्च तीन निकायमा महिलाको नेतृत्व ऐतिहासिक संयोग
काठमाण्डौ
शुशिला कार्कीले प्रधानन्यायधिशको कार्यभार ग्रहण गरेसँगै नेपालका तीन शक्तिशाली पदमा महिलाको नेतृत्व स्थापित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशिला कार्की हुनुभएको छ । बरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले नेपालको छवि अहिले महिलाको विषयमा बोल्नेमात्र नभएर व्यवहारमा लागु गर्ने देशको रुपमा सुचीकृत भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘परिवर्तनको प्रतिवद्घतालाई व्यवहारमा उतार्न सक्षम देश भनेर स्थापित भएको छ ।’
उहाँले देशको प्रमुख पदमा महिलाको नेतृत्वले आम महिलाले सकारात्मक अनुभूत गर्ने आशा जगाएको बताउनुभयो । नेतृत्व तहमा महिला पुग्नु महत्वपुर्ण भएपनि पूर्ण रुपमा सफल भने यसलाई भन्न नमिल्ने उहाँको भनाइ छ । ‘५१ प्रतिशत महिलाका लागि उहाँहरू खम्बा हुनुभएको छ अवश्यपनि सकारात्मक परिवर्तन हुन्छ भन्ने विश्वास छ’ मल्लले भन्नुभयो । सपना प्रधान मल्ल सर्वोच्च अदालतमा न्यायाधिसका लागि शिफारिस गरिएका एघारजना मध्ये एक हुनुहुन्छ ।
अधिकारकर्मी शर्मिला कार्कीले पिछडिएको मुलुक भएकाले यहाँका महिलाले केही गर्न सक्दैनन् भन्ने विश्वको आम बुझाइलाई नेपालले गलत सावित गरिदिएको बताउनुभयो । यसबाट अवशर पाएमा नेपाली महिलाले जुनसुकै पदको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण विश्व मै स्थापित भएको उहाको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो ‘राष्ट्रप्रमुख, न्यायपालिकाको प्रमुख र व्यवस्थापिकाको प्रमुख महिला हुनु विश्व मै ऐतिहासिक संयोग हो, यस्तो संयोग विश्वमै निकै दुर्लभ हुन्छ ।’
‘यी महत्वपूर्ण र ऐतिहासिक अवशरसँगै चूनौति पनि कम छैनन्’ उहाँ भन्नुहुन्छ । यीमध्ये कुनैपनि निकायमा थोरैमात्र पनि तलमाथि भएमा महिलाले गर्दा भयो भन्ने हुन्छ, त्यसैले यसतर्फ धेरै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
तीनवटा प्रमुख निकायमा महिलाको नेतृत्व ऐतिहासिक भएकाले खुशी लागेपनि महिलाको सहभागिताले मात्र नपुग्ने अधिकारर्मी डा.रेणु अधिकारीको प्रतिक्रिया छ । यो सहभागितासँगै कतिपयले अब महिलालाई के चाहियो भन्ने प्रतिकृया दिनेक्रम बढेको उहाँको भनाइ छ । ‘निर्णायक तहमा प्रधानन्यायाधिस मात्र हुनुहुन्छ, अरु दुईजनाको त प्रतिकात्मक सहभागिता मात्र हो’ अधिकारी भन्नुहुन्छ । उहाँ थप्नुहुन्छ ‘५० प्रतिशत भन्दा बढी जनसंख्यामा रहेको महिलाका लागि पर्याप्त कानुन नभएकोले अन्यायमा परेका महिलालाई प्रधानन्यायाधिसले न्याय दिनुहुन्छ भन्ने विश्वास छ ।’
स्रोत महिला खबर