“आइएम सरी” कथा
दिनभरि गोल्डेन गेटको रमाइलो यात्रा, बे साइडमा सिरिरी चलेको हल्का शितल बायुको स्पर्स अनि मनलाई सधै शितलता प्रदान गर्ने निलो आकाश मुनिको निलो सामुद्रिक तट । यथार्तमा रमिरहेका जो थिए त्यस रंगमंचमा, म भने आफ्नो अतित सम्झेर भावनामा एक्लै हराएको थिए । लाग्दै थियो सन्जोग पनि कस्तो, यस्तै समय जुरेको रहेछ मेरो अतीतलाई वर्तमान बनि मेरो सामु आउन । एक मनले लाग्छ, जुन सन्जोग छ एकदम ठिक छ, जहाँ मैले केहि समय भए पनि आफ्नो भौतिक व्यस्ततालाई भुलेको छु, अर्को मनले भन्छ म आफै आफूभित्र सिमित हुँदा मेरो यथार्त के होला ? भनाइ छ नि बनमा डढेलो लग्यो भने सबैले देख्छन् तर मनमा सल्किएको आगो कसैले देख्न सक्दैन ।
हो, आज दशक पछाडि मलाइ पनि मेरो अतितले जलाएको छ, निको नहुने चोटले फेरि मलाई जिन्दगीमा नराम्ररी घायल बनाएको छ । दिलाशाको परिवार हुनुमा उनको के दोष थियो ? उनको छोरी थियो, श्रीमान थियो, यसको मतलब उनको मन थिएन र ? उनले आफ्नो जीवन आफैले बाच्न चाहेकी थिइन् , आफ्नो चाहना अनुसारको संसार खोजेकी थिइन् तर अफसोच उनलाई मैले सपना मात्र दिए तर यथार्त दिन सकिन । अहिले पनि सम्झिन्छु म, उनले सुनाएको बेदनाहरु जहाँ उनि एक्लै संघर्स गरिरहेकी थिईन् । आफ्नो परिवारको खातिर, आफ्नो बच्चाको खातिर उनि सिर्फ जिउदो लास बनेर बाचेकी थिइन् अनि आफ्नो परिवारको खुसि जसले उनको शुखमय जीवनको कामना गर्दै सुम्पिएका थिए कसैको साथमा । यो चमत्कारिकरुपमा भएको संचार सुबिधा प्रति पनि खेद लागेको छ मलाई । सायद यो फेसबुक नहुने हो भने कम्तिमा मैले कसैको जीवनमा सपना जगाएर भत्काउन सम्म त सक्दिन थिए । पश्चातापको आगोले मेरो मन जलाएको छ, मुटु छिया छिया पारेको छ, तर घायल शिकारी भएर बाच्न शिवाय म संग कुनै विकल्प बाकि रहेको छैन । किनकी म नै थिए उनको यथार्थ उप्काउने अनि म नै थिए सपना बाडेर उनिवाट टाढा भाग्ने ।
सुनैसुनको घहनामा पुर्णरुपमा सजिएकी शुन्दरीको तस्बिर देखेको थिए फेसबुकमा अनि मैले नै उनलाई साथी बन्नको लागि अनुरोध गरेको थिए । शुरुमा उनि लामो समय सम्म कैयन पल्ट बोलाउदा पनि बोल्न सम्म मानिनन्, तर मेरै अथाह प्रयास पछि उनिसंग कुरा गर्ने मेरो सपना पुरा भयो । म अमेरिका आएको लगभग शुरुवातीको दिन थियो त्यो । मास्टर डिग्री पढ्नको लागि यहाँ मैले मेरो पाइला राखेको थिए जहाँ हजारौ सपनाहरु हरेक दिन जन्मिन्छन् त कैयौ सपनाको अधुरै मृत्यु हुन्छ । मेरो चाहना उनीसंग त्यसरी नजिकिने कुनै थिएन किनकी मैले उनको सम्पूर्ण जानकारी फेसबुक बाटै पाइसकेको थिए । उनि एउटा बिबाहित महिला थिइन्, त्यतिमात्र होइन एउटा छोरी पनि लगभग दुइ अढाई वर्षको थियो ।
परिचय पछि नै हाम्रो दुख सुखको आदान प्रदान भएको थियो । उनिको बोलीबचन अनि हरेक क्रियाकलापवाट म प्रभावित बन्दै गएको थिए । अनि बिस्तारै मैले नै हासो र ठट्टाको पारामा उनलाई मन पराएको कुरा बताएको थिए । उनको जबाफ थियो ” एउटा आमा भैसकेको मान्छे संग पनि माया लाग्छ र ?” उनले पनि ठट्टाको भरमै जबाफ दिएकी थिइन् । मैले पनि जबाफ दिए ” माया प्रिती भन्ने चिज नै यस्तो हो जसलाई न त उमेरले छेक्न सक्छ न त कुनै बैबाहिक सम्बन्धले नै छेक्न सक्छ, कसैलाई प्रेम गर्नु अपराध होइन, तिमी एउटा आमा भैसकेकी युवती हो मलाई थाहा छ तर यति भन्दैमा मैले तिमीलाई माया गर्नु अनि तिमीले मलाई माया गर्नु कुनै अपराध होइन । होला हाम्रो सामाजिक परिधिभित्रका साँघुरो सोचाइभित्र, तर मायालाई त्यति साँघुरो घेराभित्र राख्नु त्यो तिमी र म जस्तो सज्जन अनि शिक्षित मानिसको भुल हो ” । यसरि नै मैले पनि आफ्नो भावनाहरु राखेको थिए । लामो समय सम्म उनि आफु बिबाहित भएको अनि आमा भैसकेको बिषयलाइ लिएर माया प्रिती प्रतिको कुनै सोच विचार नभएको बिचारमा अडिग भैरहिन् । मैले पनि रिसाएको पारामा भनिदिए; “त्यसो भए तिमी मलाई माया गर्दैनौ रहेछौ म संग अबदेखि नबोल्नु ” उनले पनि हुन्छ भनि । समय त्यसरी नै बगिरह्यो ।
मैले उनलाई नबोल भने पनि मेरो मनभित्र पलाएको उनिप्रतिको भावनाहरु त्यतिकै मार्न सकिन । मनभित्रै अनेक कुरा सोच्दै गर्दा उनको फेरि एउटा म्यासेज आयो , “अपराज! हामी के साथी मात्र हुन सक्दैनौ ?” । त्यसपछि भने मलाई अर्को अवसर प्राप्त भएको थियो उनि संग नजिकिने । त्यहि बहानामा फेरि शुरु भयो हाम्रो सम्बन्ध, साथीकै हैसियतले उनिसंग नजिकिए, उनको हरेक सुख दुख संग नजिक पुगे । उनि पनि आफ्नो सारा यथार्त बताउन थालिन् । दिलाशा र मैले बिताएका परिवेश अनि उमेरको हिसाबले पनि हामी उस्तै भएकोले हाम्रो सोचाई र बिचारहरु धेरै नै मिल्दो जुल्दो थियो । उनि आफ्नो बास्तबिक जीवनका सारा कथाहरु मलाई सुनाउन थालिन् ।
उनि ग्रामिण भेगमा जन्मिएकी एक शिक्षित महिला थिइन्, धरानमा बि बि यस पढ्दा पढदै आफन्तले एक धनाढ्य व्यक्ति उनको हात माग्न सहयोग गरेका थिए । उनको परिवारले छोरीको भबिस्य उज्जवल हुने खुसीले उनलाई त्यहि व्यक्तिको साथमा बिहे गरिदिए । उनि पनि बिबाह पछि काठमाडौँ उनका श्रीमान संगै सरीन । श्रीमान व्यापार गर्थे, त्यसैले उनि भने आफ्नो पढाईलाइ निरन्तरता दिन चाहिंन र प्रस्ताब राखिन् । उनले सोचे भन्दा परिणाम बिपरित आयो । उनका श्रीमान अर्थात् जनक उनलाई पढाउने पक्षमा थिएनन् । उनको पढ्ने प्रस्ताब अस्विकार भए पछि उनको खुसीको दिनको अत्य त्यहि भएको थियो जहाँ उनले बाध्यतामा आफ्नो सपनाको हत्या गर्नु पर्यो । त्यसैले उनले आफु आफ्नो परिवार र छोरीको लागि मात्र बाचिरहेको दुखेसो पोख्थिन् । हरेक दिन जस्तो हुने हरेक बिषयमा संधै म उनलाई शान्त्वना दिने गर्थे । जीवन नै संघर्स हो, हार्न हुन्न भनेर हरेक दिन उर्जा थप्ने काम गर्थे ।
उनीसंग बोल्न नपाएको दिनहरु मलाई किन किन नरमाइलो लाग्थ्यो, मलाई थाहा थियो उनि र मेरो यथार्त फरक छ तैपनि, मैले उनलाई माया गरे । मेरो मनले त्यसै भन्यो; कसैलाई माया गर्नु पाप होइन । उनि घरिघरि गुनासो पोख्थिन्, “तिमीसंग पहिले किन भेट नभाको होला हगि ?” मेरो जवाफ हुन्थ्यो; ” दिलाशा तिम्रो बैबाहिक सम्बन्धप्रति मेरो कुनै शिकायत छैन, शायद भाग्यमा तिम्रो र मेरो भेट यहि समयमा हुन् लेखेको होला, त्यसैले हामीले यो चुनौती लिनु पर्छ, सजिलो बाटो त जो पनि हिड्छ निथाहा छ तर अप्ठेरो अनि चुनौतीसंग लड्न सक्नु नै जीवनको यथार्तता हो ” । मेरो भनाइसंग उनि सहमत हुन्थिन् । यसरी नै हाम्रो मायाको दुरी भौगोलिक रुपमा जति टाढा भए पनि मानसिकरुपमा यति नजिक भयो कि नङ र मासु जस्तै ।
भाग्यमा लेखेको भन्दा बढी केही पाइन्न अनि समय भन्दा अघि कोही जान सक्दैन भन्ने यथार्त ममा पनि लागु भयो । सायद मेरो भाग्यमा यति नै लेखेको रहेछ । एकदिन अचानक उनको फेसबुक वालमा उनको हासीखुसि परिवारको फोटो देखे । म नि एउटा मान्छे न हो, आफुले माया गरेको अनि आफुले मनमा राखेको मान्छे अरुसंग खुसि भएको कसरी हेर्न सक्छु र ? त्यसदिन म सारै रोए, मेरो मन रोयो, मेरो भावनाको बस्ति उजाडियो । बास्तबमा मैले जसलाई माया गर्दै थिए त्यो केवल मेरो भ्रम रहेछ, म त्यस भ्रमको पर्दावाट निस्कन जरुरी छ, किनकी उनि यदि त्यहि संसारमा सुखमय जीवन बिताउदै छिन् भने मैले त्यो संसार किन खोस्ने ? त्यहि सोचेर उनीबाट टाढिने कोशिस गरे । उनलाई माया नगरेको भने होइन, न त उनलाई चोट पुर्याउन खोजेको नै हो । तर मैले उनलाई यी सारा यथार्त भन्न भने सकिन, आफै म टाढा भए ।
उनले आफ्ना भावनाहरु छताछुल्ल पोखेर मनका अनेकन बेदनाहरु कैयन पल्ट पठाइन् तर मैले जबाफ दिनबाट आफै रोके आफुलाई । यति सजिलो भन्ने पक्कै थिएन त्यो निर्णय, तर जब जब उनको याद आउथ्यो, उनको खुसि अनि सुखी परिवारको तस्बिर मेरो सामु नाच्न पुग्थ्यो अनि म जल्थे आगो बिनानै । यसरी नै उनलाई भुल्ने बहानामा फेसबूकबाट पनि ब्लक गरे । त्यसपछी सदाको लागि उनिसंगको सम्पर्क टुट्यो । बिस्तारै बिस्तारै मैले उनलाई भुले । त्यसको एक वर्ष पछि जुनु न्यु योर्क वाट सान फ्रान्सिस्को घुम्न आएको समयमा भेट भयो । मैले दिलाशालाइ भुल्न सकेको त थिइन् तर जीवन यथार्तमा बाच्नु थियो त्यसैले थोरै समयको चिनजान पछि हामी बैबाहिक जीवनमा बाधीयौ । बिबाहको केही समय पछि म पनि सदाको लागि न्यु योर्क सरे ।
जीवनमा अनेकन् उकाली ओराली चढियो । सोचे जस्तो नहुने रहेछ जीवन , म जुनु संग पनि दिलाशाको जस्तै आचरण खोज्छु त्यो नपाउदा कतै मैले जीवनमा गरेको गल्तिको सजाय त पाएको छैन भन्ने आभासले मुटु चसक्क घोच्छ । हिजो न्यु योर्कवाट सान फ्रान्सिस्को घुम्नको लागि आएको मेरो परिवार । हाम्रो लागि भन्दा पनि आठ बर्सको छोरो बिबेकको समर भ्याकेसनको समय हो यो । आज बिहान साथी चन्द्रको रूममा अचानक एउटा पुस्तक टेबलमा भेटे, पुस्तकको नाम थियो; ” आइएम सरी ” । दिलाशा हरेक बोलचालको क्रममा केहि गल्ति हुन साथ आइम सरि भन्थिन् मानौ यो उनको बोल्ने शैली हो । पुस्तकको लेखक को रहेछ भनेर बढो उत्सुकताको साथ् हेरे, बैजनी रङमा लेखकको नाम थियो दिलाशा ।
म छागाबाट झरे जस्तै भए, त्यतिको हाम्रो सम्बन्धमा मैले कहिले पनि अन्दाज गरिन उनि एउटी लेखक हुन् । मेरो मनमा अनेक तरङ्ग फैलियो । तर त्यो पुस्तक राम्ररी हेर्न नपाउदै हाम्रो बाहिरने समय भैसकेको थियो । दिनभरि रमाइला दृस्यहरु आँखाले मात्र हेर्यो तर मनले अर्कै कुरो महशुस गरिरहेको थियो । अनुतरित यक्ष प्रश्न मेरो सामु आइरह्यो । आखिर यो पुस्तकको पात्र को होला ? कतैं उनले मलाई नै त पात्र बनाइनन ? किनभने मैले नै हो उनलाई उनको जीवनको नयाँ सपना देखाएर टाढा भागेको ? के यो यथार्त सांचिकै मेरो सामु एउटा कथा बनेर आयो भने ? आज दिनभरिको घुमाईसंगै यिनै अनुतरित प्रश्नहरु मेरो दिमागमा आइरह्यो साँझ मित्र चन्द्रको घरमा आइसके पछि हिम्मत गरेर पुस्तक मागे अनि आफ्नो कोठामा लागे । मलाई त्यो पुस्तक संगको भेटले किनकिन उनि अर्थात् मेरी कुनै दिनकी राजकुमारी संग भेट भएको महसुस भयो, म भित्र जति प्रस्न जन्मेका थिए क्षणभरका लागि भुले अनि पुस्तकलाई आफ्नो सिरानीमा राखेर त्यहि कल्पनामा एकपल्ट पुग्न मन लग्यो जहाँ म भौतिकरुपमा नभए पनि उनिसंग काल्पनिक संसारमा शयर गरेको थिए ।
सबै कुरा भुलेर मेरो बलियो बाहुपासमा बाधे उनलाई अनि भने, दिलाशा ! मलाई माफी गर है । म साँचीकै स्वार्थी छु यो दुनियाँमा, तिम्रो नजरमा माफी गर्न लायक सम्म छैन । तर जेहोस आज तिमीलाई भेटे मेरो मर्नु भन्दा अघिको एउटा कामना पुरा भयो । म यसरी आफ्नो कल्पनामा उनलाई भन्दै थिए । त्यो पुस्तकसंग को भेट मेरो लागि वास्तविक दिलाशा संगको भेट जस्तै बन्यो, त्यसैले म त्यहि पुस्तकसंग आफ्नो भावना पोख्न थाले । यी सारा अतितसंग अनि आफ्नै मनसंग खेल्दा खेल्दै समयले एक फन्को घुमीसकेछ । रात बितेर बिहान भैसकेछ, पत्तै भएन । अचानक जुनुको श्रीमान ज्यु जागै आज ? कुनै कारण छ कि ? भन्ने प्रश्नले मेरो भावना अनि कल्पना छताछुल्ल हुन्छ अनि फेरि बाध्यताको यो यथार्त भुमरीमा मन नपरी नपरी आउछु, भावनालाई अनि मेरी अतितका उनीलाई पर सार्दै ।
प्रतिक्रियाको लागि [email protected]
लेखकलाई भेट्न सक्नुहुनेछ यहाँ पनि www.indirasite.com