कोरिया पढ्न आउँदा
सानैदेखि बाले भन्थे, ‘पढिस भने चन्द्रमा पुग्छस, ठगिस् भने पाताल पुग्छस्।’
यही डरले जसोतसो स्नातकोत्तरको पढाइ सकाएँ। यसपश्चात् मेरो सङघर्षको घडी चल्न थाल्यो। रोजगारी खोज्ने क्रममा काठमाडौंका सबै भ्याकेन्सी चहारेँ। अनुभव र आफन्तको खडेरीले गर्दा काठमाडौंमा जागिर खान सकिनँ। केही सीप नलागेपछि एक जना साथीको मद्दतमा नेपालकै सबैभन्दा विकट क्षेत्र कर्णाली गएँ, जागिर खान। यसबीचमा मेरा थुप्रै सहपाठीहरु विभिन्न देश गइसकेका थिए। आँकलझुकल ती साथीहरुसँग फेसबुकमा गफ हुँदा र तिनीहरुका फेसबुकका भित्तामा पोष्ट गरेका तस्बिरहरु हेर्दा मेरो मनमा डाहा र आफूभित्रको असन्तुष्टि उर्लिएर आउँथ्यो। मैले पनि विदेश जाने कोसिस नगरेको होइन। तर सबै प्रयास बालुवामा पानी हालेजस्तै हुन्थ्यो।
प्रतिक्षाको फल मीठो भएरै होला सायद अन्तमा धेरै प्रयासपश्चात् विद्यावारिधि गर्ने अवसर जुट्यो दक्षिण कोरियाको ख्योङ्गी विश्वविधालयमा। र ठोस सपना र सुनिश्चित भविष्यको कल्पना गर्दै करिब डेढ वर्ष आगाडि दक्षिण कोरियाको इन्छन विमानस्थलमा अवतरण भएँ।
इन्छन विमानस्थलभित्र रहेको स्वचालित रेल, प्लेनबाट उत्रिनेवित्तिकै देखिएका विल्कुलै गोरो अनौठो मानिसहरु, लामा-लामा इस्केलेटर, स्वचालित पानीका धाराहरु, चिल्ला र चौडा सडकहरु, सफा सुग्घर वातावरण, भिन्न भाषा र भित्तामा नाचिरहेका कोरियन अक्षरहरुले मलाई हलिउड फिलिमहरुमा देखाउने एलियनको संसारको झझल्को आयो। यही एलियनको संसारमा मेरो विध्यार्थी जीवन पुनः सुभारम्भ भयो। थेप्चो नाक, सेतो छाला, चिटिक्क मिलेको लुगा लगाएका मैले नबुझ्ने भाषा बोल्ने कोरियनसँग साँठगाँठ गर्दै अध्ययन अनुसन्धानमा जुटिरहँदा लाग्थ्यो – म एलियनको माझमा एक्लो पृथ्वीबासी आएर बसिराखेको छु।
कोरियामा अध्ययन गर्दा अनेक समस्याहरु छन्। पहिलो समस्या भाषाले दिन्छ। प्राध्यापकका लेक्चरहरु कोरियन-अङ्ग्रेजी मिश्रित भएका कारण खासै भाषागत समस्या नआए पनि बाँकी सबै क्षेत्रमा कोरियन भाषा अपरिहार्य छ। कोरियन भाषा पनि सँगसँगै सिकिरहेका साथीहरुका लागि त अलि सजिलो नै होला तर म जस्तो कोरियनको आन्योङ्गहासेयो भन्न समेत नआउने विद्यार्थीलाई भने यहाँको अध्ययनको पीडा र छटपटी जीउमा काउसो दले बराबर नै हुन्छ।
त्यसपछि अर्को पीडा घण्टौँ प्रयोगशालाभित्र अनुसन्धानमा जुटिरहनु पर्दा महसुस हुन्छ। कोरियाका विश्वविध्यालयहरूमा नेपाली विद्यार्थी प्रायः जसो विज्ञान सकांयमा आएका हुन्छन्। प्राध्यापकको करोडौँको प्रोजेक्ट हामी विद्यार्थीहरुले तलबको नाममा अति न्यूनतम् छात्रवृत्ति पाएर फत्ते गर्छौँ। यसर्थ, नेपालबाट ईपीएसमfर्फत लेवर भिषामा आएका साथीहरुझैँ यहाँ रहेका सम्पूर्ण विदेशी विद्यार्थी हरु ‘स्टुडेन्ट लेवर’को रुपमा चिनिएका छन्।
कडा मिजासका प्रोफेसर र कोरियन सहकर्मीहरुमाझ अध्ययन अनुसन्धान गर्दा अनेक चुनौती आइपरिरहन्छन्। टाइमटेवल अनुसार उनीहरुको काम गर्ने चलन, समयको महत्वलाई बुझेर अहोरात्र खटिरहने बानी र सबै कोरियनहरु सिस्टम अनुसार चलेका कारण उनीहरुसँग पाइला पाइलामा मिलाएर हिँड्न साह्रै गाह्रो हुँदोरहेछ। र कहिलेकाहिँ लाग्छ – कोरियनहरु मानव हैन, एलियन हुन् या त मानवयन्त्र हुन्। विहान ९ बजेदेखि राति ११ बजेसम्म अनि शनिबार र आइतबार पनि केही नसोची निरन्तर प्रयोगशालामा खटिरहँदा मनमा डिप्रेसनको ज्वारभाटा उम्मलिरहेको हुन्छ। तर केही वर्षपछि हुने सुनिश्चित भविष्यको कोरा कल्पना गरेर ती ज्वारभाटाहरु त्यतिकै सेलाएर जान्छ।
खानपिन र रहनसहन कोरिया बसाइको अर्को चुनौती हो। चपस्टिक चलाउनेदेखि लिएर ट्वाइलेटको टिस्यु पेपर प्रयोग गर्नसमेत सिक्नुपर्ने हुन्छ कोरिया बस्दा। मसलाले भरिपूर्ण तरकारी खाने बानी र दुई थाल भात झ्वाम्म अट्ने पेटमा उमालिएको, गनाउने रातो झोलसँग एक कचौरामात्र भात खाँदा सुरुसुरुमा सधैँ भोकै रहेको अनुभूति हुन्थ्यो। पछि-पछि किम्चीको अमिलोसँगै साङगेपसालको स्वाद जिब्रोमा पर्दै जाँदा कोरियन खाना मीठो लाग्दै गयो। महंगो कोठा भाडा, कोठा रेन्टमा लिँदा बुझाउनु पर्ने ठूलो रकमको धरौटी, कोरियन फेसन र अति कम्पलिकेटेड लाइफ स्टाइलमा बाँच्नुपर्दा कोरियाको जीवनशैली हामीजस्ता सामन्य मान्छेलाई खाली खुट्टा हिमनदीमा हिँड्नुजस्तै हुन्छ।
अन्य देशहरुमाझैँ कोरियामा पनि यहाँ बस्दै आएका नेपालीहरुको पीडामा मह्लम लाउन थुप्रै संघ-संस्थाहरु छन्। जसमध्ये कोरियामा रहेका विद्यार्थीहरुको संगठन सोनसिकले केही हदसम्म नेपाली विद्यार्थीहरुको समस्यालाई हलुको पार्दै आइरहेको छ। सोनसिककै कर्यक्रमहरुमा जाँदा मेरा अग्रजहरुको मुखबाट अर्को व्यथा सुन्दै आइरहेको छु- अध्ययनपश्चात् नेपाल फर्केर के गर्ने?
विविध समस्या रहे तापनि विज्ञान र प्रविधि क्षेत्रमा कोरियाको अध्ययन एक महत्वपूर्ण अवसर हो। नेचर जर्नलमा प्रकाशित लेख अनुसार कोरिया विज्ञान र प्रविधिको अनुसन्धानमा सबैभन्दा बढी लगानी गर्ने देशमा पर्दछ। यसकारण अध्ययनको पीडा सहेर अध्ययन पूर्ण गर्ने दक्ष विद्यार्थीहरुका लागि कोरिया अवसरको भण्डार हो।
सुरक्षित बसाइ, कोरियनहरुको विभेदरहित व्यवहार र आफ्ना अनुसन्धानहरु उच्चस्तरीय जर्नलहरुमा प्रकशित हुँदा प्राप्त हुने खुसीले गर्दा जीउमा काउसो लागे पनि ‘स्टुडेन्ट लेवर’ कहलिए पनि, डिप्रेशन आए तापनि, खाली खुट्टा हिमनदीमा हिँड्नु परे पनि र अध्ययनपश्चात् नेपालमा गएर के गर्ने भन्ने अन्योल रहे तापनि यहाँको प्रयोगशालाहरुमा घण्टौँ अनुसन्धान गरिराख्न मन लाग्दो रहेछ। – सेतोपाटी
(लेखक ख्योङ्गी विश्वविधालयमा माइक्रोबायोलोजी विषयमा विध्यावारिधि गर्दैछन्)