समुद्र


हजुरबुबा बर्माको लाहुरे । हजुरआमा जहिले पनि बर्माको कुरा गरिराख्नुहुन्थ्यो । तर मैंले हजुरबुबालाई देख्न पाइन । आर्मी हुँदाको सानो पासपोर्ट साइजको फोटोलाई पछि बुबाले ठुलो बनाउनुभएको थियो । हजुरआमाले ठुलठुला समुद्रको कुरा गर्नुहुन्थ्यो । आँखाले हेरेर भ्याउन नसक्ने बिशाल समुद्र । खाना, बस्न, सुत्न र मनोरञ्जन गर्न सकिने अजंगको पानी जहाज । केटाकेटीपन न हो दन्ते कथा झैं लाग्थ्यो सुन्दा । पहाडमा सानातिना खोला नाला, तलाउ र पोखरी मात्र देखेको मलाई समुद्रको कुराले मनमा कौतुहलता जगाउथ्यो । कस्तो होला समुद्र अनि पानीमाथि मान्छे बोकेर हिड्न सक्ने जहाज कस्तो होला ? मेरो बालसुलभ ह्दयमा यहि प्रश्न जन्मिन्थ्यो घरीघरी ।

पहिलोपटक पोखरामा फेवाताल देख्दा हजुरआमाले कुरा गरेको समुद्रको याद आयो । सायद समुद्र यस्तै फराकिलो हुदो हो, एकमनले भन्यो तर यो त सानो छ त्यत्रो मान्छे बोक्ने जहाज हिडने समुद्र आकाश जस्तै फराकिलो होला ।  मनमा यस्तै तर्कनाहरु चल्न थाले । फेरी सम्झें, हजुरआमाले सातदिन सात रात पानी जहाजमा यात्रा गरेको । तर त्यो यात्रा कहाँदेखि कहाँसम्मको हो भन्ने चाही मेरो कलिलो दिमागले टिपेन वा हजुरआमाले भन्नुभएन याद छैन । जहाजभित्रै जेठी फुपु जन्मेकी थिइन् रे अनि तीनदिनको दिन त्यहि मरिन् पनि रे । लास जहाजकै मान्छेले लगेर समुद्रमा फालिदियो रे । हजुरआमाले त्यो घटना आफुले भोगेको नभई अरुबाट सुने झैं गरी हामीलाई सुनाउनुहुन्थ्यो ।

पछि टाइटानिक नामको पानी जहाज डुबेको कथावस्तुमा बनेको अंग्रेजी फिल्म हलमै गएर हेरें । पर्दामै भएपनि समुद्र र जहाज हेरेर बाल्यकालको कौतुहलता थोरै भएपनि मेटियो । तर समुद्रलाई नजिकबाट छुने र जहाजमा पाइला हाल्ने रहर भने झन बढ्न थाल्यो । एकपटक स्वीटजरल्याण्ड जाने मौका मिल्यो तीन हप्ताको लागि । भूगोलमा कम रुचि राख्ने मलाई विदेशमा त समुद्रैसमुद्र होलान् सोच्थें । तर जेनेभा लेक(ताल) हेरे बाहेक समुद्र नै देखिन । स्कटल्याण्डको साथीसँग समुद्र हेर्न नपाएको गुनासो पोख्दै इमेल पठाएँ । उसले प्रतिउत्तरमा लेख्यो, युरोपमा समुद्र नै छैन कसरी देख्छौ त ? मेरो फुर्ति छिनभरमै सेलायो । मन खिन्न पार्दै लाजले शिर निहुराएँ ।

सन् १९५२ मा लैनसिंह बाङदेलले युरोप अध्ययन गर्न भारतको कलकत्ताबाट पानीजहाजमा ४० दिनको सामुन्द्रिक यात्रा गरेर लन्डन पुगेको प्रसंगलाई परिमार्जित संस्करण ‘मुलुक बाहिर म’ कृतिमा समेटिएको छ । त्यो बेला अहिले जस्तो सिधा हवाइमार्गको सुविधा थिएन । म कृति पढ्दा झन रोमान्चित भएकी थिएँ । बाङदेलसँगै पानीजहाजको एउटा कुनामा बसेर समुद्रको सयर गरिरहेको थिएँ । त्यस्तै फिल्ममा देखिने ठुलठुला पानीजहाजको दृश्यले पनि मनमा समुद्र हेर्ने अनि पानी जहाजको यात्रा गर्ने रहर बढिरहेको थियो ।

संयोजले मध्ये गर्मी सकिन लागेकै बेला कोरिया आएँ । त्यसैले कोरियाको पहिलो घुमफिर नै समुद्रतिर भयो । कोरियामा यति धेरै समुद्र देख्न पाइन्छ भन्ने थाहा थिएन । कोरियाको बुसान, मासान र कजेदोको समुद्रहरु घुमियो । ससाना टापूसम्म हेरियो । म पहिलो पटक समुद्रको नजिक पुग्दा खुशीले रमाएकी थिएँ । निलो समुद्रमा उठेको सेतो छालहरुसँग लहरिदा आफैंलाई भुलेकी थिएँ । लैनसिंह बाङदेल र हजुरआमाले जस्तो जहाजमा बसेर लामो यात्रा गर्न नपाए पनि जेजुदोमा छोटो दुरीको पानीजहाज यात्रा गरेर मनमा उर्लिएको रहरलाई थोरै भएपनि मेट्न पाएँ ।

तीनतिर समुद्रले घेरिएको दक्षिण कोरियामा गर्मी मौसममा समुद्र घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको घुँइचो लाग्छ । समुद्र किनारामा टेन्ट टाँगेर बस्नेहरु पनि त्यत्तिकै मात्रामा भेटिन्छन् । त्यस्तै मिनबाक, होटल,  मोटेल  र फेन्सन व्यवसायीहरुको व्यापार पनि ह्वात्तै बढने गर्छ । ‘यहि तीन महिना त हो पैसा कमाउने अरु महिना त मान्छे नै आउदैनन् । अरु नै काम गर्नुपर्छ,’ केही समय अघि कजेदोको समुद्र नजिकै मिनबाक सञ्चालन गरेर बसेका एक व्यवसायी भन्दैथिए ।

गर्मी बढेसँगै सुन्दर समुद्रको यात्रामा निस्केर समुद्रको चिसो पानीमा पौडिदाको आनन्द अरु के होला र ? अझ साँझपख र्सिरर बहने चिसो हावाको झोकासँगै टाढासम्म देखिने समुद्रको मनमोहक दृश्यले कसको मन नरमाउला र ? त्यस्तै बिहानीको सुर्योदय र बेलुकी सुर्योस्तको समयमा समुद्रमाथि टल्किने घामको किरणसँग रम्दै अनि बेगबेगले उर्लिरहेको छालहरुलाई हेर्दै राजेश पायल राईसँगै गुन्गुनाउन मन लाग्छ,,

‘छालहरु ओ छालहरु
आएर मलाई भिजाएर जाऊ
म किनारमा उभिएको छु…।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...