काठ (कविता)
यूग फटाएको एउटा रुख
बेबारिसे भै दोबाटोमा ढलिरहेछ,
मुस्कुराई रहने…
हरियो मुस्कान चिथोरिसके-
जब धमिराजस्तै किराहरुले !
सातौ दिनको अन्तरालमा
आएको एउटा पाहुना एक दिन पाल्न-रु.पन्ध्र सय,
दुईचार दिन पाल्ने त ठेक्कै छ!
सँधैको महिना झै
नर्सरी पढ्ने छोरीको
स्कुल बिलले हिर्काउँछ-रु.पाँच हजार,
शहरको घरबेटी
नुन-सब्जी खाने आफ्नो
कोठाको तलव माग्छ-रु.दस हजार,
सास अड्याउन
ईन्धनबाहेक
तीनजनाको महिनाभरीको गाँस-रु.दस हजार,
श्रीमतीको कपासले
पालो पाएर फुर्सद नपाएको भयोहोला-तीन बर्ष,
मैले रक्सी संझेको मात्रै पनी भयोहोला-दस महिना,
मेरो पनि
लुगाले बिद्रोह गर्न थालेको छ-
ऊ नांगै जुलुश देखाएर
नयाँ सत्ता माग्दैछ-हिजोआज !
दिनभरी मेरो छालाहरुले
जोतेर कमाउँछ-रु.चार सय,
बेलुका मेरो शरीर
भोलिपल्ट बिहाँनमात्र बौरिनेगरी बेहोस् हुन्छ-
दोबाटोमा ढलेको रुख र म कतै बेग्लै हुँन्न !
यसरी हरेक महिना
ब्रह्माण्डको भारीले थिच्दै-थिच्दै गएको छ-
स्वास रहेसम्म थिचिरहन्छ पनि,
बाठाहरु
दोबाटोमा ढलेको आमाजस्तै रुखलाई
रातारात गिँडेर काठ बनाउँछन्
र बनाउँछन-कलात्मक कुर्सी,
भलै-त्यो कुर्सीले कलात्मक चमत्कार नदेखाओस् !
द.कोरिया