ऊ किन फर्केन ?
कथा
सायद, बुढ्यौलीपन लागेर होला । बिहान निद्राले छिटै छाड्न थालेको छ आजभोली । सदा झैं चारबजे उठेर मर्निङ वाकको लागि निस्किएँ । अरु दिन घर नजिकैको पार्कमा एक घण्टा शारिरीक व्यायाम गरेर फर्किन्थें । तर, आज मलाई पार्क जान मन लागेन । मेरो पाइला अनायसै घरबाट एक घण्टाको पैदल दूरीमा रहेको समुद्रीतटतिर लम्कियो ।
म हरेक गर्मीमा कोरियामा रहेका समुद्रहरु चहार्ने गर्छु । त्यसो त म बसेको ठाउँ नै एउटा सानो टाँपू हो, कजेदो ‘दो’ को अर्थ टाँपू । त्यसैले वरिपरि समुद्रै समुद्र छन् । कजेदोकै केही सुन्दर ठाउँ मध्येकै राम्रो ठाउँ हो कजेको ह्वायन समुद्री किनार । यहाँ पनि कहिलेकाँही आइराख्छु तर धेरै बेर बस्न मन लाग्दैन त्यहि भएर बढी जसो अर्कै ठाउँतिर जाने गर्छु । तर आज किनकिन यहि ठाउँमा आएर घण्टौं समुद्रमा लहरिने छाल हेर्दै टोलाउन मन लाग्यो ।
एकाबिहानै भएकोले समुद्रको किनारतिर मानिसको चहलपहल त्यति थिएन । एकाध टेन्ट मात्र देखिन्थे । सायद टेन्टभित्रै घुरिरहेका थिए होलान् । समुद्रको केही दूरीमा रहेको होटल र फेन्स्यनको बाग्लो बस्ती भर्खर ब्युझने तरखरमा थियो । कागहरु भने झिझ्याटै लाग्नेगरी कराइरहेका थिए ।
समुद्रको किनार नपुग्दै सानो सुन्दर पार्कको फलैचामा बसेर समुद्रतिर दृष्टि पुर्याएँ । पूर्वबाट लाली किरण छर्दै कलिलो घाम उदायो । घामको प्रकाशले निलो समुद्र पुरै हिरा झैं चम्कन थाल्यो । त्यही बेला एक जोडी युवायुवती आएर मेरो अघिल्तिर बसे ।
उनीहरुको हाउभाउ देख्दा भर्खरका प्रेमीप्रेमिका जस्ता देखिन्थे । कतै नजिकैको होटलमा बसेर बिहानको शितल हावामा घुम्न निस्केका होलान् । साथमा मोबाइल बाहेक ब्यागहरु केही थिएन । मलाई नदेखे झैं गरी एकअर्कामा चुम्बन गर्दै सेल्फी लिइरहे । मेरो कर्के नजर उनीहरुको प्रेमालाव चिहाइरह्यो ।
‘कस्ती आइमाइ रैछे बुढी भएर पनि के हामीलाई नै हेरिरा’ होला’, सायद यस्तै सोचे होलान् । जुरुक्क उठेर अँगालो मार्दै लागे अर्कैतिर । म, वरिपरि हरियो पहाडले घेरिएको फराकिलो समुद्र हेर्दै क्षितिजतिर एकोहोरो टोलाइरहें ।
★★★
‘यो पटक हाम्रो कम्पनीले गर्मी बिदा एक हप्ता दिने भको छ । म त्यता आउँछु है घुम्न’, एकदिन उसले फोनमा भन्यो ।
‘ए हो ल ल आउनु नि यता समुद्र धेरै छन् म घुमाइदिउँला ।’
‘पक्कै ?’
‘हो त ! किन ? विश्वास लागेन र ?’
‘होइन, मलाई टाइम पो दिने हो कि होइन भनेर ।’
‘तपाइ आउनुस् मात्र न म जसरी भएपनि समय निकालिहाल्छु नि ।’
‘हो के ?’
‘हरे ! विश्वास नलागे नआउनुस्,’ मैंले अलि झर्किदै भनें ।
‘नरिसाउ न डल्ली, मैंले त जिस्काको पो त । म आउँछु भनेपछि आउँछु के । अनि मिठामिठा मायाप्रेमका कुरा गर्दै घुम्ने नि ल’, उसले फकाउने पारामा भन्यो ।
‘साँच्ची आउनु नि है । म पर्खीबस्छु । आउनुभएन भने चाही रिसाउछु नि फेरी’, मैंले केही लाडिए झैं गरेर भनें ।
‘आउँछु । तर के के गर्ने ?’ उसले जिस्कदै सोध्यो ।
‘तपाइलाई जे जे मन लाग्छ त्यहि गरौंला नि हेहे…’ मैंले हाँस्दै जवाफ फर्काएँ । हामी फोनमै धेरैबेर जिस्किरह्यौं । ऊ आउने कुराले म निकै खुशी भएँ । मनमा अनेक योजनाहरु बुन्न थालें । सपनाहरु सजाउन थालें । ऊ आउने दिन गन्दै उत्साहित भइरहें ।
नेपालको सरकारी जागिर छाडेर तीन वर्ष अघि इपिएसबाट कोरिया आएको थियो । झण्डै एक वर्ष अघि प्रवासी नेपालीहरुले कोरियामा गरेको एउटा कार्यक्रममा हाम्रो पहिलो भेट भएको थियो । त्यसपछि फेसबुक च्याट र फोनमा कुराकानी हुने क्रममा हामी छोटो समयमै धेरै नजिक भइसकेका थियौं । तर उसको काम गर्ने ठाउँ सउल नजिक भएकोले हामीले फेरी भेट्ने मौका पाएका थिएनौं ।
ऊ आउने दिन बेलैमा घरको काम सकेर बसपार्क गएँ उसलाई लिन । केही बेरमै लामो दुरीको यात्राले थकित ऊ सानो झोला भिरेर बाहिरियो । हामी लामो समयसम्म एकअर्कामा अंकमाल गरिरह्यौं । मेरा आँखाबाट हर्षका आँसु बहिरहे ।
बाहिर टन्टलापुर घाम लागिरहेको थियो । त्यहिमाथि मध्यान्हको समय । हामी रेष्टुरेन्ट छिर्यौं । खाना खाएर सिधैं मोटेल गयौं ।
‘लामो यात्रा थकाइ लागेको होला फ्रेस भएर केहीबेर आराम गर्नुस्’, मैंले ढोका खोल्दै भने ।
‘के थकाइ लाग्नु ? मजाले बसमा सुतेर आइयो ।’
‘ए, त्यसो भए कुरा गर्नुस्’, नजिकैको कुर्सीमा बस्दै भनें ।
‘कुरा मात्र गर्ने हो र ?’ ऊ मेरो नजिकै आएर कानमा फुस्फुसायो ।
म लाजले रातोपिरो भएँ । उसलाई पनि थोरै असजिलो महशुस भइरहेको उसको अनुहारको भावले बताइरहेको थियो । ऊ सर्ट खोलेर ह्यांगरमा झुण्डाउदै बाथरुम छिर्यो । मैंले एसी अन गरें । अनि झ्यालबाट बाहिरको दृश्य हेर्न थालें ।
‘कस्तो गर्मी ।’ बाथरुमबाट निस्केर रुमालले टाउको पुछ्दै पलङमा बस्यो । हामी च्याटमा, फोनमा धेरै कुरा गथ्र्यौं । तर भेट्दा के कुरा गर्ने दुबै अलमलियौं । खाली एकअर्कालाई हेरेर मुस्कुराइरह्यौं ।
केही बेरको मौनतालाई चिर्दै उसले भन्यो, ‘ए अघि किनेको बियर छ त खाउन न ।’
‘खानुस् म त खान्न ।’
‘किन ? सँगै खाने नि । एक्लैले खानु मजा आउदैन क्या ।’
‘मलाई बियर मन पर्दैन ।’
‘के मन पर्छ त ?’
‘तपाई,’ मैंले थोरै इत्रिदै भनें ।
‘लु खाउ न त’ भन्दै ऊ मेरो नजिकै टाँसिन आयो ।
उसले अचानक आफ्नो ओठ मेरो ओठमा ल्यायो । मैंले आँखा चिम्लें । शरीरमा पुरै करेन्टको झट्का लागिरहेको थियो । मुटुको धड्कन बढ्न थाल्यो । छिटो छिटो सास फेर्दे उसको अंगालोमा कसिन थालें । मलाई कहिल्यै नमिलेको आनन्दको महशुस भइरहेको थियो ।
बेलुकीपख समुद्र घुम्न निस्कियौं । समुद्रको किनारा टेन्टले भरिएको थियो । केटाकेटीदेखि युवायुवती अधवैंशेसम्मकाहरु समुद्रको पानीमा रमाइरहेका थिए । हामी पनि भत्भती पोल्ने बालुवामा टेक्दै चिसो पानीमा डुबुल्की मार्यौं । समुद्रको नुनिलो पानी आँखामा परेर म आँखा मिच्न थालें । उसले मलाई समाएर पानीभित्रै डुबायो । म आत्तिएर चिच्याउन थालें । ऊ भने जोडजोडले हाँसीरहेको थियो । परिपरि पौडिरहेकाहरुको नजर मै माथि पर्यो । हामी राती त्यहि मोटेलमा फर्कियौं ।
★★★
एकदशक भइसक्यो ऊ नेपाल फर्केको तर उसलाई नसम्झेको कुनै पल छैन । उसले त सायद बिर्सिसक्यो होला । तर मेरो मनमा ऊ सँधै याद बनेर बसेको छ । उसले नेपाल फर्कने बेलामा भनेको थियो, ‘किन चिन्ता लिन्छौ ? म फेरी सिभिटि एक्जाम दिएर आइहाल्छु नि । तिमीसँग टाढा भएर बस्न मन नै कहाँ छ र मलाई पनि । यो पटक फर्किन भने कोरिया आउने बाटै बन्द हुन्छ । बरु हामीले पछि कोरियामा केही बिजिनेश सुरु गर्नुपर्छ ।’ उसको बिजिनेस गर्ने कुराले मलाई थोरै आशा जगाएको थियो ।
ऊ नेपाल फर्केपछि केही समय हाम्रो फोनमा, च्याट्मा कुरा भइरहन्थ्यो । तर समय सँधै एकनासको नहुदो रहेछ । ऊ बिस्तारै बदलिदै गयो । मबाट टाढिन थाल्यो । फोन गर्दा पनि नउठाउने, म्यासेज पठाउदा पनि जवाफ नदिने । कहिलेकाँही भन्थ्यो, ‘नेटवर्कले कामै गरेको छैन । म कोरिया आउने प्रोसेसमै छु । उतै आएरै कुरा गरौंला है ।’
ऊ फर्किने प्रतिक्षामा दिनहरु बिताउन थालें तर ऊ कहिल्यै फर्केन । समय बित्दै गयो । ऊ एकपटक पनि मेरो सम्पर्कमा आएन । नत कुनै सामाजिक सञ्जालमै अपडेट भयो । हरेक रात आँसुले सिरानी भिज्थे ।
एकदिन मैले अफिसमा एक महिनाको बिदा लिएर नेपाल जाने टिकट इन्टरनेटमा बुक गरें । त्यहि दिन अचानक फेसबुकमा उसको नयाँ फोटो देखें । मेरो आँखाले विश्वास गर्नै सकेन । फेरी फोटोलाई जुम गरेर हेरें उही रहेछ, काखमा भर्खर जन्मेको शिशु अनि श्रीमतीसहितको तस्बिर । तल कमेन्ट हेरें सबैले छोरा जन्मेकोमा बधाइ दिएका रहेछन् । मलाई छिनभरमै चक्कर लाग्यो । बिउँझदा अस्पतालको बेडमा थिएँ । सामुन्ने उभिएकी नर्सले मिठो बोलीमा सोधिन्, ‘कस्तो छ अहिले तपाइलाई ?’ मलाई सब सपना झैं लागिरहेको थियो ।
आखिरी समय जसरी भएपनि बिताउनै पर्दो रहेछ । उसलाई भुल्न आफुलाई ब्यस्त राख्न थालें । एउटा तस्बिर बाहेक उसको यादसँग जोडिने हरेक कुरा हटाएँ । मेरो जन्म दिनमा पठाइदिएको सुन्दर उपहार पनि फालिदिएँ । फेसबुकबाट ब्लक गरें, फोन नम्बर चेन्ज गरें । तर मेरो मनबाट उसको याद कहिल्यै मेटाउन सकिन ।
समुद्रको सङ्लो पानीमा हिडिरहेको पानीजहाजको आवाजले पो झसंग भएछु । कतिबेलादेखि घामले रुखको छहारीबाट मलाई नै चियाइरहेको रहेछ । गोजीबाट रुमाल झिकेर निधारमा चिटचिटाएको पसिना पुछ्न थालें । घडी हेरें बिहानको साँढेसात भइसकेछ । समुद्रको किनारातिर मान्छेहरुको उपस्थिति बाग्लिदै थियो । मोबाइलको फोटो लाइब्रेरी खोलें, सधैं झैं आज पनि ऊ मुस्कुराइरहेको थियो ।