समय,काम र पैसा चिनेनौं त्यसैले गरीब भयौं
डोलु आले मगर
अहिले नेपाली बस्तिहरुमा अक्सर कुनै आँगन, कुनै पीढ़ी, कुनै घर धुरी सग्लो छैन । यो मेरो पीडा, तिम्रो या उसको मात्रै पनि रहेन। हामी नेपालीको साझा पीडा रह्यो | यो पीडा सिर्जना हुनुमा कमजोरी म मा छ या राज्यमा ? आफ्नै देशमा अवसर खोज्न जानिएन वा त्यो अवसर न्यून वा शुन्य छ ? आफ्नै देशमा अवसर र रोजगारीको अभाव पछिको दैनिक परदेश लाग्ने युवाहरुको लाइनमा लम्बेतान हुने क्रम बढ्दो छ। सुदुरपश्चिमदेखि पुर्वसम्म, उत्तर हिमालदेखि दक्षिण मधेशसम्म अछुत छैन कोइ नेपालीको घरधुरी।
नगन्यको रहरहोला, तर अधिकाँशहरुको बाध्यता हो परदेश । परदेशमा आ-आफ्नै किसिमको भोगाई, अनुभव, दुख र समस्याहरु छन् । एउटा परदेशीले के कस्तो समस्या ,दुख कष्टहरु भोग्नु पर्छ सायद तपाइँ हाम्रै दाजुभाई , छोरा नाती सबैले भोगेकै होलान् र छन् पनि।
एउटा परदेशीको पीडा घर परिवारसंग टाढिने मात्रै रहेन। परदेश गएर १२-१३ घण्टा कठिन काम गर्नु ,समयमा उसले तलव पाउँछ या पाउंदैन, काम सजिलो वा गाह्रो के कस्तो छ भन्ने संग मात्रै पनि रहेन। खाना बस्नको व्यवस्था के कस्तो छ ? साहुसंग चर्को ब्याजदरमा ऋण निकालेर गएका परदेशी उक्त ऋण चुक्ता गर्न सक्छ वा सक्दैन ? यी भए बाहिरबाट हेर्दा देखिने र भोगिने समस्याहरु । त्यो भन्दा ठुलो पीडा भनेको उसको मानसिक के कस्तो छ ? भन्ने कुरा न आफ्नो घर परिवाले बुझ्छ, न बुझ्ने कोसिस नै गर्छ। के कस्तो मानसिक पिडा र तनावहरु सहेर परदेशको भूमिमा काम गर्दै छ र उसलाई मनासिव तनाव हुन नदिन घर परिवाको के भूमिका रहन्छ भन्ने तिर हाम्रो सामान्य ध्यान पनि गएको देखिदैन। यी र यस्तै सामान्य कुराहरुको वेवास्ताले गर्दा नेपाली युवाहरुले परदेशमा आत्महत्या गर्ने क्रम पनि उकालो लाग्दो नै छ।
हो हामीले जति सुकै आदर्श माने पनि पैसा आजको मुख्य साधन हो जसले हाम्रो दैनिक जीवनमा सरलता र सहजताको निम्ती अनेकान द्वारहरु खुल्ला गरिदिन्छ र त्यो पैसा फल्ने रुख नेपालमा छैन अर्थात् नेपालमा त्यो पैसा फल्ने रुखको विजारोपण पनि गर्न सकिएको छैन। त्यसका विविध कारणहरु होलान्। मुख्यतः राज्यको अदुरदर्शी नीति, वैज्ञानिक शिक्षा प्रणाली को अभाव, अन्त्यहीन राजनीतिक झगडा र खिचातानी र हाम्रो उधमशिलाताको अभाव नै हुन् । यसका पछाडी आउने अनेक सहायक कारणहरु त छदै छन्।
राज्यको आँखा केवल रेमिट्यान्सको बोरा ठुलो बनाउनेमा मात्रै गडेको छ। कहिले काहीं परदेशमा आफ्नो नागरिक आपत बिपतमा पर्दा समस्या समाधान गर्न, उद्दार गर्न सरकार असमर्थ छ। मलेसियामा मलेहरुको कुटाई खाने युवाहरु हुन् या साउदीमा नेपाली चेलीको अस्मिता लुटिदा हुन्, कतारमा अनिश खालिंग राई आफ्नै सहकर्मी बाट बलाकृत हुँदा हुन् वा भारतको शहरहरुमा नेपाली चेलीहरु बलात्कृत हुदाँ हुन् या कोरियामा बिनाकारण साहुको कुटाइबाट घाइतेहुने नेपालीहरु हुन्, सरकारको उपस्थिति शून्य छ।
परदेशमा पैसाको बोट छ। जहाँ सजिलै टिप्न सकिन्छ। अचेल फोनमा सन्चो बिसन्चो भन्दा पनि पैसा को कुरा अगाडी सोधिन्छ। बाबा भन्नु हुन्छ छोरा पैसा चाहियो घर अलिक मर्मत गर्नु पर्यो। आमाले भन्नु हुन्छ छोरा पैसा चाहियो अलिकति कानको कुण्डल मा थप्नु पर्यो। श्रीमती गहना र लुगाको लम्बे लिस्ट तयार पार्छे। छोरा छोरीलाई टच स्क्रिन मोबाइल। आहा परदेशमा पैसा टिपेर बोरको बोरा जम्मा गरेजस्तै। सायद हामीले मानसिक तनाव उत्पन्न हुने गराउने काम् आफ्ना परदेशी छोराछोरी, श्रीमानश्रीमती, बाबु आमालाई यहिँ कतै गरिरहेका त छैनौ ?
परदेशमा पैसा कसरि फल्छ ? परदेश गएर जुठो भाँडो माझेर , हात डाम्ने गरि नान रोटी हानेर । पसिना चुहिने गरि अरुको मुखमा स्वाद र पेट भर्ने चारा बनाएर । जुठो भाँडो मस्काएर , चम्काएर, ढस्काएर।
ढोकामा १२-१३ घण्टा उभिएर, ग्राहक ढुकेर ,अरुले भोज-पार्टि गरेर खाएको फालेको फोहर उठाउने, चउर सफा गर्ने काम गरेर । अरुको घर कोठा सजावट गर्ने, चिटिक्क रुममा वेड डेकोरेशन र डेलिभरी गरेर । टट्टी घर सफा गरेर, पार्क वगानमा पानी हाल्ने काटछाँटकाँट गरेर। अग्लाअग्ला विल्डिङहरुमा झुण्डिएर सिसा टल्काउने सफा गर्ने काम गरेर । ति भवनहरु निर्माण गर्न सिमेन्ट बालुवा बोकेर। दैनिक १२-१३ घण्टा २५-३० किलोको बोरा उचाल्ने पछार्ने, फलामका पोलहरुलाई उल्ट्यांग पल्ट्यांग गरेर। एकनाश उभिएर १२-१३ घण्टा मेशिन संगै चल्रेर । यहाँ त मान्छेले मेशिन होइन मेशिनले मान्छे चलाउने गरेर। हजुर यस्तै हुन्छ पैसाको बोट परदेशमा ।
हामी नेपालि नेपालमै काम गर्न सर्माउछौँ । कामलाई सानो र ठुलो भन्ने दृष्टिकोणले हेर्ने गर्दछौं । तर परदेशमा त्यो सब गर्नु नै पर्छ। किनभने पैसाको बोट नै त्यहि हो । र हामीले कामलाई हेर्ने दृष्टिकोणले गर्दा पनि हाम्रो देश विकास नहुनुको एउटा कारण हो।
आजभन्दा ६० बर्ष आगाडी नेपालभन्दा गरिब रहेको कोरिया आज संसारको औधोगिक राष्ट्रमा दर्ज भएको छ। संसारको धनि देशहरुमा गनिन पुगेको छ। किनभने यहाँको मान्छेहरुले समय, काम र पैसालाई चिनेका छन्। हामीले न काम चिन्यौं, न समय चिन्यौं,न पैसा चिन्यौं । त्यसैले हामी गरीब भयौं र त दुख पाएंका छौं। न त सरकारको पोलिसी नै छ। हामीलाई पासपोर्ट बोकेर कहिले परदेश गएर पैसो टिप्ने भन्ने सोच्नै पर्ने बाध्यता छ। अरु विकल्पहरु हामी खोज्दैनौँ।
परदेशमा श्रीमान आफ्नो सुन्दर घरपरिवाको भविस्य निर्माणको कल्पना गर्दै जस्तो तसो पसिना बेचिरहेको हुन्छ। युवाहरु परदेश लाग्ने क्रम बढेसंगै नेपालमा घरपरिवार बिग्रने क्रम पनि बढिनै रहेको छ। परदेशमा श्रीमानले दुख गरेर कमाएको धन सम्पति कुम्ल्याएर दुई-तिन जना बालबच्चाको आमाहरु अर्कै नाठेसंग कुलेलाम ठोकेको घटनाहरु हाम्रै छिमेकमा देख्न र सुन्नमा पाइन्छ। परदेशीको लागि यो भन्दा ठुलो अर्को पिडा के हुन सक्छ ? दिनदिनानु दिन संचारमाध्यममा हेडलाइन बनेको हुन्छ यस्तै बारेमा।
तसर्थ एउटा घरपरिवारबाट आमाबाबुको र श्रीमतीको भूमिका आफ्ना सन्तान्/श्रीमान परदेशमा हुँदा के कस्तो रहन्छ र रहनु पर्छ भन्ने सबैले बेलैमा राम्रोसंग बुझ्न जरुरि भै सकेको छ। परदेशमा आफ्ना सन्तानहरुको हुनसक्ने दुर्घटना, र आत्महत्याको सामान्य कारणहरु आफ्नै परिवारको भूमिकामा पनि निर्भर रहन्छ तसर्थ यस्ता घटनाहरुको न्युनिकरणको निम्ती हामी सबै सचेत रहनुपर्छ।
क्याक्मी-८ ओम्जर, स्यांग्जा
हाल दक्षिण कोरिया।