भोलीदेखि छुसक सुरु
दक्षिण कोरिया
हरेक देश, ठाउँ र समुदायमा आआफ्नै मौलिक चाडपर्वहरु हुन्छन् । कोरियाली संस्कृतिमा पनि अन्य सानातिना चाडपर्व रहेपनि विशेषगरी सललार, छुसक, दान्हो र हान्सिक गरी चारवटा मुख्य पर्व मान्ने गरिन्छ । तर पछिल्लो समय छुसक र सल्लार दुइ पर्बलाई मात्र बिसेस रुपमा मनौने गरिन्छ । (अम्यक) लुनार पात्रो अनुसार पर्ने पहिलो महिनाको पहिलो दिन नयाँ वर्षको रुपमा मनाइने पर्व सललार र आठौं महिनाको पन्धौं दिनमा पर्ने छुसक पर्व भने तीनदिनसम्म विशेष रुपमा मनाइन्छ ।
परम्परादेखि मनाइदै आएको दोस्रो ठुलो पर्व हो छुसक । लुनार पात्रो अनुसार आठौं महिनाको १५ गते पर्ने छुसक यो वर्ष सेक्टेम्ब १४ तारिखदेखि सुरु हुँदैछ । नयाँ अन्नबाली, फलफुल भित्र्याउने बेलामा मनाइने कोरियाको मुख्य चाड छुसक तीनदिनसम्म धुमधामका साथ मनाइन्छ । छुसकमा मुख्य बाली भित्र्याएपछि आफ्ना पुर्खालाई सम्झदै उनीहरुलाई धन्यवाद ज्ञापन गर्न समाधिस्थलमा गएर खाना, फलफुल र जाँड रक्सी चढाएर प्रार्थना गरिन्छ । जसलाई अन्तर्राष्ट्रिय स्तरमा थ्याङस गिभिङ डे पनि भनिन्छ । छुसक पर्वमा खाने मुख्य खाना सोङफ्यन हो । नयाँ चामलको पिठोबाट बनाइएको अर्धचन्द्रकार आकारमा बनाइने सोङफ्यनसँगै अन्य मिठामिठा परिकारहरुका साथमा नयाँ फलफुलहरु पनि चढाउनुपर्छ ।
सरकारले तीन दिनको सार्वजनिक विदा दिने यस पर्वमा कोरियनहरु आफ्नो पुख्र्यौली गाउँ जाने तथा घरमा जाने, पारिवारिक जमघट तथा टाढाटाढा रहेका आफन्तजनहरुसमेत आउने भेटघाट गर्ने र मिठामिठा परिकार खादै रमाउने गर्छन् । यस पर्वमा केटाकेटीहरु चंगा उडाउने, महिला पुरुषहरु युतनोरी (खेल) खेल्ने तथा महिलाहरु काङकाङसुले गीत गाएर नाच्ने गर्छन् ।
त्यसैगरी कोरियाको पहिलो ठुलो पर्व हो सललार अर्थात् नयाँ वर्ष । अम्यक पहिलो महिनाको पहिलो दिन कोरियाली समुदायमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वमा पनि तीनदिनसम्म सार्वजनिक विदा हुने गर्दछ । कामविशेषले टाढा बसोबास गर्दै आएकाहरु पनि यो पर्वमा आफ्नो घर फर्किने तथा घरपरिवार र आफन्तहरुसँग भेटघाट गर्दै मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने गरिन्छ । यो पर्वमा परम्परागत पोशाक लगाएर आफ्ना मान्यजनहरुलाई ढोग्ने गरिन्छ । जसलाई सेवे भनिन्छ । सललारमा खाने मुख्य खाना तककुक हो । चामलको पिठोबाट बनाइएको तक स्वास्थ्य र दिर्घायुको प्रतिकको रुपमा पनि लिइन्छ ।
यसरी कोरियाली संस्कृतिमा परापूर्वकालदेखि मनाइदै आएको मुख्य चाड सललार र छुसक मध्ये छुसक भोलीदेखि सुरु हुदैछ । छुसकको अवसरमा विभिन्न मुलुकबाट आएका कामदारहरुको पनि लामो बिदा पर्ने भएकोले एकअर्कामा भेटघाट तथा विभिन्न सांगीतिक कार्यक्रमसहति अन्य कार्यक्रमहरुको आयोजना गरेर विदालाई भरपुर सदुपयोग गर्ने अवसर पाउँछन् । यहि अवसरमा कोरियामा रहेका नेपाली तथा विभिन्न संघसंस्थाहरुले कोरियामा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरेका छन् । सबैमा ह्यापी छुसक ।