म बिनाको दशवर्षे दशैं
मस्त निद्रा, मुर्दा झैं अचेत भएर लडेको मेरो शरीर । बिहानीपखको चिसो सिरेटोले मुटु छुनेगरी घोचीरहेको बेला कताकताबाट कानमै आवाज आएर ठोकिन्छ । झलस्स बिउँझन्छु, सुत्नु अघि सेट गरेको मोबाइलको आलाराम पो रहेछ आफ्नै गतिमा कराइरहेको । आँखा मिच्दै उठ्न खोज्छु । दिनभरी कामको थकाइले गलेको शरीर उठ्न मान्दैन तैपनि जबरजस्ती शरीर तन्काउदै उठ्छु अनि बजिरहेको कालो मोबाइल तान्दै आलाराम बन्द गर्छु । सदा झैं आज पनि मोबाइलको वाइफाइ अन गरेर फेसबुकमा आँखा दौडाउन सुरु गर्छु ।
फेसबुकका भित्ताहरु अन्य दिनहरुमा भन्दा आज फरक र रौनक तस्बिरहरुले सजिएका रहेछन् । रातो टिका र जमरा लगाएर फेसबुकको भित्ताभरी फालिएका साथीभाई, आफन्तहरुको तस्बिर देख्दा मनमा पिँडा अनि खुशीका लहरहरु एकैसाथ मडारिन थाल्छन् । पृथ्वी गोलाकार भएझैं समय पनि गोलै घडिको सुइमा घुम्दो रहेछ । हो, कुनै समय एक मिनेट पनि लामो लाग्ने त्यो घडीको सुई आज एकदमै छोटो लागिरहेको छ । किनकी मैंले नदेखेको दशवर्षको दशैं आज पनि आइसकेछ । एकदशक लामो प्रवास बसाइमा दशैं, तिहार केबल सम्झनामा मात्र सिमित हुन लागेको छ । थाहा छैन अझै कति दशैंहरु फेसबुकका भित्तामा राखिएका तस्बिर हेरेर मात्र चित्त बुझाउनुपर्ने हो । हुनत म मात्र होइन हजारौं युवाहरु म जस्तै प्रवासी भूमिबाट दशैंलाई मुटुभरी सम्झेर बस्न बाध्य हुनुपरेको छ ।
मेरो जन्मभूमिमा परिवारसँगै बसेर मनाएको २०६३ सालमा दशैं नै मेरो अन्तिम दशैं थियो । यो दशवर्षको अवधिमा नत मैंले दशैं मनाउन पाएँ नत महशुस नै गर्न पाएँ । अब त दशैं कस्तो हुन्छ ? दशैंको महत्व नै भूलिसकें कि जस्तो लाग्छ ।
२०६२ सालको कुरो, म भर्खर एसएलसीको तयारीमा थिएँ । दशैंको दिन बुबाले बिहानै उठाएर लुगा धुने साबुन दिएर नुहाउन लगाउनुभयो । छोरा, राम्रोसँग पढेर एसएलसी पास गर्नुपर्छ तैं त होस् घरको
अलि पढने लक्षण भएको छोरा भन्दै यसको लागि माता भगवतीसँग बिद्या माग्न मन्दिर जानुपर्छ भनेर बुबाले मन्दिर लग्नु भएको थियो ।
बुबासँगै एककिलोमिटर अग्लो डाँडामा रहेको सुन्दरादेवि दूर्गा भगवतीको मन्दिरमा गरेर पूजा गरेर फर्केेपछि निधारमा टिका लगाउदै बुबाले आर्शिवाद दिनुभएको थियो । धेरै पढेर ठुलो मान्छे बन्नु भन्दै । त्यो बेला बुबाआमाले दिनुभएको आर्शिवादको स्नेह र अमृतरुपी शब्दहरु अझैं मेरो कानमा गुन्जिरहन्छ । उहाँहरुले लगाइदिनुभएको रातो टिका र पहेंलो जमराहरु अझै पनि मेरो निधार र कानमै भए जस्तो लाग्छ । तर, अहिले ७३ सालको दशैं पनि आएर गइसक्यो । समय कति छोटो रहेछ । हिजो जस्तै लाग्छ त्यो ६३ सालको दशैं । मेरा साथीभाईहरुले घरजम गरेर छोराछोरी पनि तन्देरी हुन लागेछन् तर मलाई अझैं केटाकेटी नै छु जस्तो लाग्छ ।
मध्यमवर्गीय परिवारमा जन्मेको म परिवारको आम्दानीको स्रोत नै कृषि थियो । हामी छोराछोरी पढाउनका लागि बुबाले विभिन्न बैंक तथा ब्यक्तिबाट ऋण लिनुभएको रहेछ । पछि समयमा ऋण चुक्ता गर्न नसक्दा सबै घरजग्गा लिलाम हुने अवस्थामा पुगेको थियो । त्यो बेला मात्र थाहा भयो । हाम्रो पढाइको लागि बुबाले घरजग्गा बन्दकीमा राखेर लिएको ऋण । हाम्रो बालमस्तिष्कमा पढ्न भन्दा पनि पैसा कमाएर साहूको ऋण तिर्नुपर्छ भन्ने भयो । त्यसैले १२ पढ्दै गरेको मेरो दाइपनि पैसा कमाउन कतारतिर लागे । म भर्खर एसएलसी पास गरेको । धेरै पढ्ने इच्छा हुँदाहुँदै पनि धरौतीमा बसेको मेरो घर र जग्गा कसरी फिर्ता गर्ने र साहुको ऋण कसरी तिर्ने भन्ने मात्र सोचाइ हुन्थ्यो ।
बाबुआमाको न्यानो माया अनि साथीभाईको रमाइलो वातावरणलाई चटक्कै छाडेर पैसा कमाउने अनि धेरै पढ्ने चाहना बोकेर २०६३ साल तीजको दिन १५ सय रुपैयाँ बोकेर दाङबाट नाइट बसमा काठमाडौंको हानिएँ ।
काठमाडौं सोचे जस्तो थिएन । विभिन्न ठक्कर, हण्डर खाँदै अभावको जिन्दगी जिउदै संघर्ष गर्दै गएँ । हामी गरिबले सोचे जस्तो कहाँ छर काठमान्डू गिदृहरूको हूलमा सिनोको लस्कर जस्तो काठमान्डौ ! ठुलो सपना र मन भरी आशा बोकेर आएको म मनमा आँट र शाहस बोकेरजिन्दकीसित लडिरहे । आर्थिक अभाव र भविष्यसँग लडेको मान्छे म, कहिले कुनै साहूको घर सफा गर्ने गार्डेन सफा गर्ने त कहीले सहकारीमा पैसा ऊठाऊने काम गरे त कहीले गारमेन्ट कम्पनीमा पाले काम गरे कहिले धनले मात्तिएका तर बूदृीमा बिर्को लागेकै आफ्नै कलासका साथीहरूलाई ट्युसन पढाएर त कहीले धनी मान्छेहरूको छोराछोरीलाई होमट्युसन पढाएर जेनतेन गर्दै बिबिएस सम्मको अध्ययन गरे ।
दिन पछी रात अनी रात पछी दिनहरू कती आए कती गए कती बसन्तऋतुहरूहरूमा कती नया पालुवाहरू पलाए कती शिशिर ऋतुको जाडो कठ्यांरिएर झरे कति पर्वहरूआए कती दशै आए कती तिहार आए तर गरिब आर्थिक अभावमा छटपट्टिएको मेरो मनमा कहीलै दशै आएन् ! अहीले कोरिया आएको पनी ५ बर्ष हुन लाग्यो ! १५ वर्षको उमेरमा घर छाडेर काठमाडौं छिरेको म पाँचवर्षपछि रोजगारीको सिलसिलामा सातसमुद्रपारीको मुलुक दक्षिण कोरिया आएँ । दश वर्ष भयो दशैं देख्न नपाएको, नजिकबाट छुन नपाएको । तर धन्यहूनछ मेरा बूवाआमा तपाईहरूले दिनु भएको आशिरबाद र मायाले गर्दा म धेरै लामो समय मेरो प्यारो गाँऊ घर अनी साथीहरू छोडेर विरानो मुलुकमा आर्थिक अभाव र भविष्यको खोजीमा आफ्नो घरपरिवार र भविष्यको लागि घरदेखी टाढा हूने र अहिले कोरीयामा आफ्नो कर्मसँग रम्दै र जुध्दै छू ! रातको अँध्यारो छाया पन्छाऊन बिहानी ऊज्यालो सुर्यको किरण ऊदाय झै मैंले नदेखेको मेरो अँध्यारो दशै ऊज्यालो बनी अर्को दशै पक्कै आऊनेछ !