प्रतिष्पर्धामा
गजल /
बुढेशकालमा पो बन्यौ शाकाहारी प्रतिष्पर्धामा
निर्धोका अगाडि जान्छ शिकारी प्रतिष्पर्धामा
फुटबल खेल्थ्यौँ क्रिकेट खेल्थ्यौँ खोलाको किनारामा
पौडिएर नै तरिन्थ्यो सियारी प्रतिष्पर्धामा
सामुदायिक पाठशालाका मास्टर राम्ररी पढाउँदैनन्
विद्यार्थीले आँफै गर्छन् रे तयारी प्रतिष्पर्धामा
राजनीति गर्ने या प्लटिङ्ग जग्गाको दलाल गर्ने
शिक्षकहरू नै बन्दैछन् व्यापारी प्रतिष्पर्धामा
तुइन चढ्नेलाई हेर्न तुइन चढी सक्छौ जान ?
हेलिकप्टर चढी हुन्छन् सवारी प्रतिष्पर्धामा
मुखमा रामै राम जपी छुरा राखी बगलीभित्र
पैसाकै लागि बढे अत्याचारी प्रतिष्पर्धामा
एक्सरेमा छोरी देखे गर्भपतन गराउँछन्
पेटभित्र असुरक्षित छन् नारी प्रतिष्पर्धामा
कसैको दर्शक त कसैको फुटबल झैँ लाग्छ जीवन
गोलका लागि दौडन्छन् बल उफारी प्रतिष्पर्धामा
शीर्षक फरक छ तर जस्ताको त्यस्तै छ समाचार
कपी पेष्टको चल्यो महामारी प्रतिष्पर्धामा
काम छैन काज छैन बाबुको सम्पत्ति स्वाहा पार्दै
चोकतिर गाँजा तान्छन् बेरोजगारी प्रतिष्पर्धामा
धैर्यताका साथ निकै परिश्रम गर्नेले अझै पनि
पाउन सक्छन् है जागिर सरकारी प्रतिष्पर्धामा
प्रवास छिर्ने प्रयास गर्दा यत्ति कुरा बुझ्नै पर्छ
गधाले जस्तै बोक्नु पर्छ भारी प्रतिष्पर्धामा