सहरको कथा
जताको सहर भए पनि कथा उस्तै हो । र म पनि उस्तै छु ।
नारितामा ओर्लने बितिकै मान्छेका भिडमा म पनि छु । सानो ह्यान्डक्यारी तानेर हिड्ने मान्छे । म जस्तै लाखौ छन् । जसलाई अरुको बाल मतलब । यो सहर हुनुको विशेषता हो ।
‘कहाँ जाने ?’ जापानीज जस्तै सुनिने अंग्रेजीमा उसले सोध्यो । ऊ अर्थात इमिग्रेसन अफिसर । साना साना सिसाका बाकस भित्र ऊ छ । बाकसको लामो लाइन छ ।
‘टोकियो ।’ मैले अभिभादनको शैलीमा झुक्दै नरम भएर भने । झुक्नु मेरो बाध्यता भनि मान्नुस् ।
‘टोकियो कहाँ ?’ ऊ मलाई सजिलै जान दिन खोज्दैन । यसो भनौ उसलाई सिधा जवाफले चित्त बुझ्दैन ।
कुन ठाउँ हो ? कुन ठाउँ हो । कस्तो अप्ठ्यारो नाम भएका ठाउँहरु छन् । आफै मनमा सोच्छु । हैट सम्झे पो । प्लेनमा एयरहोस्टेजले दिएकी एउटा स्लिप सम्झन्छु । त्यसैमा लेखिएको थियो ठेगना । त्यही देखाइदिन्छु ।
मेरो पासपोर्ट हेर्छ । मलाई हेर्छ । भरखर दिएको कागजको स्लिप हेर्छ । पटक पटक त्यसै गरिरहन्छ । उसले मलाई पत्याउँदैन । तँजस्तो मान्छे मेरो देशमा मोज गर्छु भन्ने । छिर्न दिन्न । यस्तै भाबमा छ अनुहारमा ।
‘तँसँग अर्को पनि कागज हुनु पर्छ ।’ झन्डै नबुझिने अग्रेजीमा सोध्छ ।
‘हजुर के भन्नु भो ?’ म उसले भनेको कुरा कन्फर्म गर्न सोध्छु । उसले त्यही कुरा दोहोर्याउँछ ।
अघि झै पासपोर्टमा टाँसिएको मेरो फोटो हेर्छ । फेरी मलाई हेर्छ । धत कस्तो विस्वास नगरेको मै हुँ । भन्ने मन हुन्छ । तर भन्दिन ।
पासपोर्टको फोटो सम्झन्छु । हतारमा चरिकोटमा खिचेको । राम्रो नै निकालेनछ । हतार पनि थियो । पहिले खिचेको फोटो ग्लसीपेपरमा प्रिन्ट हानेको रैछ । साइज त मिल्ने तर फोटो धेरै टल्किने । त्यसैले त्यो फोटो मिलेन । अनि अर्जेन्ट खिचाको । फोटो पसलेले पैसा कस्सेर लियो । फोटो पहिलो चोटी हेर्दा आफै तर्सने खिच्देछ । जे त होला । त्यही फोटो चप्काएँ । झन् पछि पासपार्टमा मेसिन रिडेएबल भएर आउँदा झन बिजोग भएर आएछ । नत्र त म त्यती साह्रै नराम्रो त कहाँ हुने ?अरुले तंपाई भनोस कि नभनोस आफै म पाईँ । मन बुझाउन यसो आफै कुरा सोच्छु । भनिन्छ नै सामाजिक संजालमा जस्तो राम्रो फोटो र पासपोर्टको जस्तो नराम्रो फोटो कसैको हुँदैन ।
‘एक छिन है ।’ नक्कली हाँसो हास्दै ऊ उठ्छ । मेरो पासपोर्ट र कागज बोक्छ । अलि पल्लो बेन्चमा बसेको मान्छेलाई देखाउँछ । त्यो मुख्य हाकिम होला । अनुमान गर्दिन्छु ।
अब मैले झन कुर्नुको बिकल्प छैन । मन मनै रिस उठ्छ । मेरो देशमा यी गए ढोकासम्मै स्वागतको खादा बोकेर जान्छन् । कता यस्तो अप्ठ्यारो छ र ? तर आफूसँग कुर्नुको बिकल्प छैन ।
हाकिम भनाउँदाले पनि अफिसर भनाउँदाले झै गर्छ । मलाई हेर्छ । पासपोर्ट हेर्छ । दुबै केही कुरा गर्छन् । अफिसर हाँसे जस्तो गर्दै मेरो छेउमा आउँछ । अनि बोल्छ । ‘कुर्न परेकोमा मलाई खेद छ । दुबै हातको यता ल्याउनुस र यसमा थिच्निुस् त ।’ ऊ बिनम्र भएर बोलेजस्तो गर्छ । सानो ल्याप्चे लाउने ठाउँ देखाउँछ ।
‘टाउको यसमा राख्नुस् त ।’ उसले काँचको चिउडो अड्याउने ठाउँ देखाउँदै भन्यो ।
मैले हुदैन भन्ने कुनै कारण थिएन । ऊ जो शक्तिशाली देश जापानको इमिग्रेसन अफिसर हो । म गरिब देशको गरिब मान्छे । म मेरो देशकै राजधानीमा पनि पाखे ठहरिने मान्छे । झन मेरो देशको राजधानीको सहरका मान्छेलाई पनि पाखे देख्ने यो टोकियो ।
उसले नरम भएझै अलि अलि अनुहारमा हाँसो ल्याउन खोज्दै भन्यो ‘जानुस् ।’ म धन्यबाद भनेर अघि बढ्छु । ऊ म तिर फर्केर हल्का झुक्छ । म ऊ भन्दा बढि नै झुक्छु ।
बनावटी झुक्नु पनि अरुबाट काम लिने एउटा कला हो । सहरले मनमा घृणा नै भए पनि अनुहारमा हाँसो ल्याउनु पर्र्ने सिकाउँछ । सम्बन्धको जालो बढाउन धन चाहिने सिकाउँछ । मान्छे नै मान्छे बसेर एक्लो हुन सिकाउँछ । चिनारी भएका पनि सहरले चिन्न छाडेको ।
गाउँ त्यस्तो हुँदैन । सबै दाजुभाइ दिदीबहिनीका कुरा हुन्छन् । मान्छेले मान्छे चिन्छन् । सरसहयोग भने परेको बेला हुन्छ । फलनाको सन्तान भनेरै धेरैले धेरैलाई चिन्छन् । सोझो हुन्छ गाउँ र गाउँका मान्छे । सहर जसरी पनि बाँच्न सिकाउँछ ।
धेरै सहर उस्तै हुन् । कथा नै कथा बोकेको । म एयरपार्टबाट सिधै निस्केर नगरको ट्रेन चढ्छु । अझ धेरै कथा बुझ्नलाई ।