मानव बस्तीहरूमा
अचम्म अचम्म हुन थालेछन्।
कलियुगको कमाल होला सायद
यहाँ ठगहरु नै ठगिन थालेछन्।
चोरहरूको नै चोरी हुन थालेछन्।
लुटेराहरू नै लुटीने बस्तीहरू पो
बन्न थालेछन् अचेल।
विभिन्न मिडियाको ढोल बजाउँदै,
सामाजिक सञ्जालहरुको टोल गुन्जाउँदै,
ठगले नै अर्को ठग देखाउँदै,
चोरले नै अर्को चोर बताउँदै,
फलानोले मलाई ठग्यो
भन्दैछन् ठूला ठगहरू।
मेरो चोरी भयो
भन्दैछन् चतुर चोरहरू।
हो, जो चोर उसैले ठूलो स्वर
गर्दैछन् बस्तीहरूमा अचेल।
भ्रष्टाचार शब्द नै मन्त्र जपी जपी
आफ्नो भ्रष्टाचार लुकाउनलाई
तल्लीन देखिन्छन् अचेल।
हो, यी भ्रष्ट कुकुरहरूलाई आफ्नो भागमा
भ्रष्ट रूपी हड्डी कम भएको भ्रम व्याप्त छ।
त्यसैले यिनै भ्रष्ट कुकुरहरू
परस्परमा लुछाचुडी गर्दै,
भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्दै
मानब बस्तीहरूमा भुक्दैछन् अचेल।
खोक्रो राष्ट्रवादको नारा खोक्दैछन् अचेल।
नक्कली डाक्टरहरू र नक्कली कर्मचारीहरु पनि
हक र अधिकार भन्दै चल्दै छन् अचेल।
खोई कहाँ होलान् असली नेताहरु?
खोई कहाँ होलान् सक्कली डाक्टरहरू?
जसले देशलाई दुखेको बेला
देशकै लागि ज्यान दिएरै सेवा गर्न सकून्!
जसले जनता रोगले छट्पटी भएको
देख्न नसकी मानवीय सेवाभावले
मलमपट्टीको काम गर्न सकून्!
विद्यमान विकृतीहरू हटाउन माग राख्दै
भोको पेट पटक पटक आमरण अनसन
तथा हड्ताल गर्न बाध्य छन् अचेल।
केही नक्कली डाक्टरहरू जुका बनी
जनताको रगत चुस्दैछन्।
हो, सानो घाउलाई पनि विकराल बनाई
असफल अप्रेशनको अभ्यास गर्न
तल्लीन छन् अचेल।
असल मानवहरूको अभाव छ।
जो जन्मन बाँकी छन् कि
या जन्मिएर पनि मूसो बनी
दुलो भित्र लुकेर बसेका हुन्।
कि स्वाभिमानको खोक्रो नारा रटान गरी गरी
थाकेर विदेश पलायन भएका हुन् अचेल!