फोनिज कोरिया सम्वाददाता
सौल, अनेसास कोरियाले नयाँ वर्षको उपलक्ष्यमा बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । ‘काव्य-सुधा’ मा अनेसास कोरियाले उत्कृष्ट कविहरुको कविता वाचन गरिने कार्यक्रमको तयारी गरेको छ । पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ ।
सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, प्रमोद सारंग, जीवन खत्री र सरोज सर्वहाराले आफ्ना उत्कृष्ट कविताहरु वाचन गर्नुहुनेछ । कविताबाट शुरु हुने यो कार्यक्रम अनेसास कोरियाको “काव्य-सुधा” अन्तर्गत पहिलो श्रङ्खला हुनेछ । र, आउने समयमा गजल, मुक्तक, हाईकु आदि पनि समेट्दै जाने कुरा अनेसासले जनाएको छ ।
नेपाली साहित्यिक संस्थाहरुमा विश्वव्यापी लोकप्रियता हाँसिल गरेको अनेसासको कोरिया च्याप्टरले पछिल्लो समयमा धेरै सकृय हुँदै गएको छ र नवीन सोचका कामहरु गर्दै आइरहेको छ । अनेसास कोरियाले विगतका दिनहरुमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा-कलाकार सम्मान र हरेक नयाँ वर्षमा बृहत कवि गोष्ठी आदि कार्यक्रमहरु गर्दै आएको छ ।
यसपालिदेखि शृङ्खलाबद्ध रचना वाचनको नयाँ थालनी गर्न लागेको अनेसास कोरियाले जनाएको छ ।