रेस्टुरेन्ट गफ
कथा/
सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् ‘धेरै काम नगर । तीन, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।’ हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ ।
यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु जुनै देशका भएपनि ल्याङ ल्याङ गर्ने बानी चाहिँ तिनीहरुको जीनमै भरिएर आउदो रहेछ । धन्न यिनी मेरो गर्लफ्रेन्ड होइनन् । गर्लफ्रेन्ड भएको भए झन् कति कचकच गर्दिहोलीन् ।
धेरै समय पश्चात यूजिनलाई नेपाली रेस्टुरेण्ट लाने मौका जुर्यो । अघिल्लो दिनै उनलाई सुवनको नेपाली रेष्टुरेन्टको लोकेशन काकाओ गर्दिएको थिए । साँझ चार बजे तिर आउ हैू भनेर बिहानै फोन पनि गरे । कोरियनहरु समयको पक्का हुन्छन् । त्यहि सोचेर चार बजेतिर म सुवन स्थित नेपाली रेष्टुरेन्ट पुगेँ ।
तर एकछिन् पछि यूजिनले मेसेज गरिन् ‘केही ढिला हुन्छ, नरिसाउ है, म बाटोमा छु ।’
रेष्टुरेन्ट भित्र पसिसकेकाले, पस्ने बितिक्कै निस्कन अप्ठ्यारो लाग्यो । आइतवार विदाको दिन भएर होला, नेपाली अनुहारहरुले रेष्टुरेन्ट खचाखच थियो । सानो भोल्युममा ‘के साच्चै तिमी रिसाकै हौ त, के साच्चै मन दुखाकै है त’ बोलको गीत बज्दै थियो । कुनाको एक छेउमा एउटा टेवल खाली थियो । त्यहि गएर टेवल रिजर्व गरे ।
रेष्टुरेन्टको दिदीलाई एक कप हट लेमन मगाएर एक नजर रेष्टुरेन्ट भरि दौडाए । रेष्टुरेन्टका भित्ताहरु नेपाल झल्किने आकृतिहरुले बेहुलि झैँ सिँगारिएको थियो । मेरो ठिक अगाडी सगरमाथाको चुचुरो । अर्को पटि ध्यान मग्न बुद्ध, त्यसैको छेउमा स्वयम्भु र अलिक तलतिर दरबार स्क्वायर । ओहो ! रेष्टुरेन्टको सजावट देख्दा लाग्थ्यो रेष्टुरेण्ट भित्रै नेपाल अटाएको छ ।
त्यो रेष्टुरेण्ट भित्र नेपाल झल्काउने अर्को गहना थियो, नेपाली दाजुभाइहरु । विभिन्न भिसामा कोरियामा रहनु भएका नेपालीहरु विदाको दिन नेपाली रेष्टुरेन्टमा जम्नुको मज्जा नै बेग्लै हुने । अझ रोजगारी भिसामा आउनु भएका नेपालीहरुका लागि लाग्थ्यो नेपाली रेष्टुरेन्टहरु भेटघाटको जकंशन नै हो ।
यूजिन अझै आइपुगेकी थिईनन् । कपमा हट लेमन पनि रितिसकेकाले टेवल फोकटमा ओगटेर त्यसै बसिरहन मन लागेन । त्यहिभएर एक प्लेट भुटन अर्डर गरे।
अनि रेष्टुरेन्टमा रमाईरहनु भएका दाजुभाइहरुको गफतिर कान ठाडो बनाए ।
गफ नं १
‘ओई हिजोआज हुन्डीको रेट कति छ । तीन महिना भो एक सुका पैसा पठा’को छुईन । सुड्डोले घर ढलान गर्ने रे । पाँच लाख पठाई दिनु पर्ने । यो महिनाको तलब मलाई दे है ।’
अन्दाजी २४, २५ वर्षका देखिने चार युवाहरुको एक झुण्ड रहेको टेवलमा हुन्डी, तलव र नेपाल पैसा पठाउने बारे गफ हुदै थियो ।
सोजुको ग्लास रित्याउँदै अर्का एकजना युवकले गुनासो पोख्दै थिए, दिपकेले प्रत्येक महिना दुई लाख घर पठाउँछ । त्यसको बाउले पैसा पाउने बित्तिकै ‘दिपकेले यसपाली यति पैसा पठायो’ भनेर मेरो घरमा सुनाउछन् । अनि घरकाले मलाई ‘फलानोको छोरोले यति पठायो उति पठायो’ भनेर व्यङ्ग्य गर्छन् ।
दिपकले जतिसुकै पठाए पनि त्यसका बाउले मेरो घरमा चाँहि के खान सुनाउनु ? त्यसले पैसा पठाउँदा प्रत्येक पल्ट प्रेसर चाँहि मलाई पर्छ । आफ्नो झुर कम्पनी परेर न ओटी छ न त बोनस । घरकालाई के थाहा कोरियाको हरिबिजोग । सबैको भाग्यमा राम्रो कम्पनी कहाँ हुन्छ र ?
गफ नं २
उत्तरपटिको टेवलमा अलिक संवेदनशिल गफ हुदैरहेछ । साङगितिक भोल्युम केही बढेकाले उनिहरुको गफ राम्ररी त बुझ्न पाइन । तर बुझेका मध्ये केही अंश यहाँ प्रस्तुत गरेको छु ।
‘त्यसमा त कम्पनीकै गल्ति छ । पुरानो मेशिन नफेरेर त हो, उ त्यसमा च्यापिएर दुर्घटनामा पर्यो । र अस्ती सत्र दिनपछि अस्पतालमै उसको मृत्यु भयो । विचरा भुवन ! भर्खरै बिहे गरेर आएको थियो ।
‘कोही आत्माहत्या गर्छन् । कोही कम्पनीको लापारवाहिले मर्छन् । कोही दुर्घटनामा परेर मृत्यु अगाँल्छन् । कामदार भिसाको नीति परिवर्तन नहुन्जेल अझै कति नेपाली र अन्य विदेशीहरुको ज्यान जोखिममा पर्ने हो?
‘नेपालमा हामीलाई सबैले कोरियन लाहुरे देख्छन् । लाखौ कमा’को देखेर कसैले आइफोन, कसैले ल्यापटप त कसैले डिएसएलआर क्यामेराको डिमान्ड गर्छन् ।’
गफ नं ३
प्लेटको भुट्न पनि भ्याईसकेको थिए । यूजिन अझै आइपुगेकी थिईनन् । टेवल ओगटिराख्न अब के अर्डर गर्ने भनेर सोच्दै थिए । मेनु हेर्दै त्यहाँ गुन्जिरहेको गफहरु पनि आफ्नो कानमा रेकर्ड गर्दै थिए । यतिकैमा एक समुह नेपालीहरु मेरो पछाडी रहेको टेवलमा आएर जम्न थाले । मैले एउटा म्याग्जु खाने निधो गरे अनि साधेको भट्मास पनि मगाए ।
पछाडीको टेवलको गफ सुन्दा तिनीहरु बिहेको ट्रिट खान आएका रहेछन् भन्ने सहजै अनुमान लाउन मलाई गाह्रो भएन ।
त्यस समुहका एकजना साथी नेपालबाट भर्खरै बिहे गरेर फर्केका रहेछन् । उसैको ट्रिटमा सबैजना चिकेन तन्दुरी र वियर घुट्क्याउदै नवदुलाहलाई उडाई रहेका थिए ।
‘सुहागरातमा के गरिस । सुना न ।’
‘विहे गरेको आठ दिनमै आउनु पर्दा पीडा भएन ?’
‘कसरी मन थामेर बस्छस, बुढी नेपाल छाडेर ?’
अनि त्यस मध्ये समिर भन्नेको मुखबाट सुन्दै थिए, ‘तैले त बिहे गरिस यार । आफ्नो कैले जुर्ने हो, पत्तो छैन । एउटी थिई । त्यसलाई कोरियन ओभरकोट देखी सामसुङ आईप्याड सम्म चढाएँ । दुई तिन चोटी त पैसा पनि हुन्डी गर्देको थिए । हिजोआज चाहिँ इग्नोर गर्छे भन्या । अर्कै मुर्गा भेटिछे क्यारे ।’
अर्को व्यक्तिको कुण्ठा यस्तो थियो, ‘साला ३२ नाघे यार । कोरियामै गाला चाउरिने भो । फिनिस सम्म कुर्दा त ३५ टेक्छु । ३५ नाघे पछि बिहे गर्ने केटी पाउनै गाह्रो । बिहे गर्ने खाले गर्लफ्रेन्ड पनि भएन । फेसबुकमा त ललिपप देखाउने र टाईमपास गर्ने थुप्रै छन् । रियालिटीमा त्यस्ती सगँ लाईफ चल्दैन । अल्लारेहरु भन्छन् नी ‘गर्लफ्रेन्ड होस तनले सुन्दर, लाईफफ्रेन्ड होस मनले सुन्दर ।’
गफ नं ४
‘साग टिप्दाँ टिप्दाँ हात खुट्टा नै झन्डै कोरियन भोटेलाई बलि चढाइसकेको । काममा अल्छि गर्न थालेपछि बल्ल साहुले रिलिज लेटर दियो । नत्र नेपाल भाग्ने तम्तायारमा थिए । अब त एक महिना पनि हुन लाग्यो काम छाडेको । काम हुदाँ पनि तनाव, नहुदाँ पनि तनाव । तिमीहरुको बरु मोज छ । हामी एग्रिकल्चरमा आएकाहरुलाई बडो दुख छ ।’
एकजना त्यहाँ स्थित साथिको कुरा सुन्दा उ इलिग्गल बसिरहेको भेउ पाए । आफ्नै पीडा थियो उसको ‘डराई, डराई बसिराखेको छु म त । कुन दिन समातेर नेपाल फर्काईदिने हो थाहा छैन’ भन्दै थियो ।
‘भाग्यमा छ भने यसपाली पनि भिषा लाग्ला । नत्र फर्किने बाहेक अर्को उपाय छैन । तीनजना लाई भिषै दिएन रे अस्ति । अब रिफ्युजीको बहाना गरेर बस्न पनि नपाइएला जस्तो छ । अर्को महिना सकिदै छ भिषा । एप्पलाई त गर्ने हो फेरी । हेरम, के हुन्छ ।’
‘हाई ! सरी फर लेट ।’ भन्दै यूजिन आइपुगिन् । मलाई कोरियन आउँदैन भन्ने थाहा भएर ऊ टुटेफुटेकै भए नी अङ्ग्रेजीमै म सगं बोल्थिन् ।
यूजिन आएपछि अरुको गफतिर त्यति ध्यान गएन । जाओस पनि कसरी । यूजिनको बाफिलो गफको रफ्तारले मेरो कान डम्म भईसकेको थियो । ऊ मेन्यु हेर्दै थिईन् । मेले रेस्टुरेन्टको दिदीलाई बोलाए । ऊनलाई के खाने भनेर सोधे । ‘तिमीले आफ्नो देशको स्वाद चखाउने हो । मलाई के थाहा नेपाली परिकार कुन स्वादिलो हुन्छ । तिमी आफैँ अर्डर गर’ भन्दै ऊ आफु पन्छिन् ।
साँझ भैसकेकाले डिनर नै खाने हेतुले मैले थाली सेट मगाए । अनि अरुको कुरो सुन्न छोडेर हामी आफैँ गफिन थाल्यौँ ।
ऊ नेपाल र नेपाली बारे चाख दिदै सोध्दै थिईन् । तर मेरो ध्यान उनको कुनै पनि कौतुहलतामा केन्द्रित थिएन । बरु ऊनैलाई कुर्ने क्रममा कानमा रेकर्डेड भएका नेपाली दाजुभाइहरुको गफ पुनः ईकोहो भैरेहेको थियो ।
उनिहरुको गफमा गम खादाँ कुनैमा मिठासपन थियो त कुनैमा निराशपन । सबै गफहरु सङ्ग्रहित गर्दा कोरियामा नेपालीहरुले केही पैसा कमाएता पनि सबैजसो सगँ कुनै न कुनै दुखद चित्र खुम्चिएर बसेको थियो ।