सोल, तमु जातिको महान् साँस्कृतिक पर्व तमु ल्होछार कोरियामा रहेका तमु तथा गैर- तमुहरुले धुमधामले मनाएका छन । नेपालमा पन्ध्र पुसमा मनाईने गरे पनि विदेशमा तिथि नमिल्नाले यहाँका तमुहरुले गत आइतबार सोलमा भब्य कार्यक्रमको आयोजना गरी च्यह तमु ल्होछार मनाएको थियो ।
तमु धीँ कोरियाले हरेक वर्ष ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आईरहेको छ । नेपाली दूतावास कोरियाका काउन्सेलर लेवर देवराज ढकालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप गुरुङले गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तान विशेष अतिथि रहेको उक्त कार्यक्रममा अतिथिहरुमा याक्सा गुम्बाका देह सुनिम, जन योन्ह्वा हेजाङ्निम, एनसीसि, एनआरएन, विभिन्न जातीय तथा राजनैतिक संस्था र नेपाल पत्रकार महासंघ कोरियाका प्रतिनिधिहरु रहेका थिए ।
प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग) को स्वागत गर्दै मनाएको च्यह ल्होछारमा तमु जातिको मौलिक भेषभुषा, विविध सांस्कृतिक कार्यक्रम र झाँकीहरुको पनि प्रस्तुति रहेको कार्यक्रममा विशेष आकर्षणको रुपमा मारुनी छ्याली नृत्य र छ्याटु नाच रहेको थियो । उपस्थितिहरुको विशेष प्राथमिकतामा परेको मारुनी छ्याली नृत्य कोरियामा पहिलोपटक प्रस्तुत गरिएको सांस्कृतिक संयोजक सतिश गुरुङले जानकारी दिए । मारुनी नृत्य तमु जातीको लोपोन्मुख मौलिक संस्कृति भित्र पर्दछ ।
सोही अवसरमा धीँले विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत विभिन्न ब्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । केही समय अगाडी सोल महानगरपालिकाको सिफारिसमा मानार्थ कोरियन नागरिकता प्राप्त गर्न सफल र धीँको घर (सेल्टर) ब्यवस्थापनमा विशेष सहयोग गर्नुभएका धीँका सल्लाहकार भिम गुरुङलाई तमु जातिको संस्कृतिअनुसार फेटा लगाएर विशेष सम्मान गरेको थियो भने कोरियामा सफल नृत्यकारको रुपमा स्थापित धींका साँस्कृतिक संयोजक सतिश गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई मायाको चिनो सहित सम्मान पनि गरेको थियो । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई तमू ल्होछार मूल आयोजक समितीका संयोजक जित तमुले धन्यवाद दिनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष प्रितम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिकतर्फ महासचिव श्रीराम गुरुङले र साँस्कृतिकतर्फ धन, लेसन, विशाल र हिमान्शु गुरुङले सञ्चालन गरेका थिए ।