र्इलाम सूर्योदयको राहत दोलखामा वितरण
फोनिज कोरिया संवाददाता सोल-इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाले दोलखाका भुकम्पपिडितलाई राहत वितरण गरेको छ ।दक्षिण कोरियामा बस्ने इलामे युवाहरूको सक्रियतामा ‘इलाम सूर्योदय सेवा समाज दक्षिण कोरिया’ बाट संकलित राहत दोलखाको नाम्दु र बुस्तीका ६ गाउँका दुई सय जनाभन्दा बढी पीडितलाई वितरण गरिएको हो ।
कोरियाबाट संकलित करीब डेढ लाख मूल्य बराबरको राहत सामग्री राष्ट्रिय समाचार समिति इलामका प्रतिनिधि र एसएसडिआरसीका प्रतिनिधि सविना उप्रेतीले संयुक्त रूपमा पीडितलाई हस्तान्तरण गरेका हुन् । दुई सयभन्दा बढी भूकम्प पीडितहरूलाई चामल, तेल, नुनलगायतका सामग्री हस्तान्तरण गरिएको छ । अहिलेसम्म राहत नपाएको गुनासो आएपछि नाम्दु र बुस्तीका सुवेदी टोल, दाहाल गाउँ, भीरगाउँ मुनीलगायतका गाउँका पीडितले राहत पाएका हुन् ।
कोरियामा बस्ने इलामे युवाको सक्रियतामा दक्षिण कोरियामा संकलन गरिएको राहत साँच्चै पीडामा रहेकाले पाउन् भनेर सामग्री दोलखा पठाइएको समाजका अध्यक्ष हरि खनालले बताए । नेपालीलाई परेको दुःखमा विदेशमा बस्ने सबै नेपाली दाजुभाइले गाँस काटेर जम्मा गरेको दुई÷चार पैसा संकलन गरी ताप्लेजुङ्गका अग्निपीडितलाई समेत पठाइएको उनले जानकारी दिए ।