सुनको फाली नाघेर फलाम उचालीरहेछौं
डोलु आले मगर
‘नेपालमा बसेर के गर्नु यार ?’ प्राय अहिलेका बेरोजगार युवाहरु सबैले भन्ने गरेको वाक्य हो यो । हुन पनि हो आजको हरेक युवाहरु आफ्नो देशमा बसेर के गर्ने अन्योलमा छन् । देशमै केहि गरौँ भन्ने सोच भएकाले पनि कुनै गोरेटो देख्न र भेट्न सक्दैनन। ‘पढेर पनि के गर्नु आखिर सर्टिफिकेटले खान नदिने रहेछ |’ ११-१२ पढ्दै गर्दा धेरैको मुखमा झुण्डिएर बस्ने वाक्य यहि हो ।
कतै जागिरको लागि आवेदन खुले पनि सोर्स-फोर्स चाहिन्छ । आफ्नो त कुनै नातेदार छैन त्यसको लागि । यी सब झन्झट बेहोर्नुभन्दा बरु विदेश लागे हुन्छ । कतै जागिरको लागि अवसर छैन । भेटिए पनि ९-१० हजारको जागिरले के गर्नु? आफ्नै व्यवसाय गरौँ केहि भन्दा पनि के गर्नु ? न वातावरण छ, कहिले बन्द हड्ताल, न बजार व्यबस्थापन। कहिले के कहिले के।
हो, आजका अधिकांश युवाहरुले आफ्नो भविष्य नेपालमा देखेकै छैन, देख्दैन सत्य चपाएर हुदैन । बाहिर जतिसुकै राष्ट्रभक्ति र देशप्रेमको कुरा गरे पनि आखिर भित्रि चाहना र बाध्यता उसलाई पासपोर्ट बोकेर विदेशमा धेरै धन कमाउन बाध्यताको रहर छ। सकेसम्म अमेरिका, युरोप, अस्ट्रेलिया,क्यानाडा जापान छिर्न पाए र उतैतिरको पी.आर बोक्न पाए हामीलाई झनै ठुलो गर्व लाग्छ। अनि उतै बसेर नेपाली हुनुको गर्व गर्छौं। तर त्यहाँ पुग्न सक्ने हामी धेरै नेपालीको आर्थिक हैसियत छैन। हैसियत हुनेहरु त लाखौं खर्चेर पुग्छन। तर हामी निम्न स्तरको मान्छेहरु लाख डेढलाख ऋण काढेर खाडी , मलेसिया र कोरिया लाग्नुको विकल्प छैन । भारतको शहरहरुमा धाउनुको विकल्प छैन । तर भारतीयहरु नेपालको गल्लिगल्लीमा शैलून खोलेर सम्मानपुर्वक काम गरेको हामीले देखेका छौं |
हामी नेपाल हुँदासम्म कहिले विदेश गएर धन कमाउने भन्ने आतुर हुन्छौं । मानौ त्यहाँ पैसा फल्ने रुख छ। नहोस पनि कसरि पल्ला घरे दाइ विदेश गएर कमाए शहरमा घर घडेरी जोडे । अचेल छोरो घरमै छ भनेपछि फल्नाको छोरो बिग्रियो भन्छन्। अनि विदेश छ भने पछी कमाइ होस् या नहोस् फल्नाको छोरोले विदेश गएर कमाइ गरेको छ तँ लाठे हल्लिएर हिंड। बाबु आमाको गाली पनि सुन्न पाइन्छ । नेपालमै बसेर केहि गर्छु भन्यो भने सुको साहुले पत्याउदैन। अनि विदेश जाने भने पछी लाख गनेर दिन्छन्।
नेपालमा गाउँतिर एक भारी डाले घाँस काटेर दिउसोभरि हल्लिएर हिड्ने अनि साँझ आमालाई डालेर खानेहरु, केहि गह्रौं कामहरु खनजोत गर्ने अरुबेला ढलेको सिन्को नउठाउनेहरु र शहर बजार तिरका त झन आमा दिदीबहिनीलाई चिया पनि वेडमै ल्याउन लगाउनेहरु विदेश आएर १२-१३ घण्टा काममा जोतिए पछि बल्ल चेतछन् । अनि यति दुख गर्ने हो भने त नेपालमै सुन फल्छ। अब नेपालमै गएर दुख गर्नु पर्छ, नेपालमै बसेर केहि गर्नुपर्छ। यति समय काम गर्ने हो भने नेपालमा के छैन ? हामी सपना देख्छौं र विदेश रहुन्जेल कहिले नेपाल फर्कौं र के के नै गरौं जस्तो लाग्छ।
जब नेपालको एयरपोर्टमा हामी ओर्लन्छौं तब फेरी ति सुन फल्ने खेतबारीमा वनमारा र तितेपाती फुलेका देख्छौं । विदेशमा दुख गर्दा नेपालमा सुन फलेको देख्ने आँखाहरुले असम्भव मात्र देख्छौं। चारैतिर सम्भावनाको द्वारहरू बन्द हुन्छन् । गर्नेहरुले त गरेकै छन् नेपालमै पनि तर अधिकांश हामीलाई आफै उद्यमी बन्नु भन्दा राम्रो जागिरको चिन्ता हुन्छ। त्यसपछि भोलिका दिनदेखि फेरी उही सपना हुन्छ फेरी विदेशको यात्रा। खुरुखुरु काम गर्यो महिना मरे तलब आउंछ अरु चिन्ता छैन। ‘नेपाल हुँदा कहिले विदेश जाउँ जस्तो विदेश आयो कहिले नेपाल फर्कौं जस्तो।’
हाम्रा खेतवारीहरु बाँझा छन्। वनमाराले ढाकिएका छन्। हामि दीर्घकालीन परनिर्भरता उन्मुख बन्दै गएका छौं। त्यो दिशा तर्फ लैजाने कामको दोष मेरो पनि छ । तर विकल्प के ? हाम्रा नेताहरुले कृषि क्रान्तिका कुरा गरेका सुन्छौं, भाषण सुन्छौं तर हलो र कोदालोले कृषि क्रान्तिको सपना देख्नु साइकलमा चढेर चन्द्रमा पुग्ने सपना देख्नु जस्तै हो । हाम्रो देश कृषि प्रधान देश, जहाँको हामी विदेश आउँदा धान रोप्ने मेशिन देखियो भने अनौठो लाग्छ। धान काट्ने, मेशिन देखियो भने अजीव मानेर हेर्छौं। नेताहरुको कृषि क्रान्तिको कुरा सुनेर ताली मार्छौं। वर्षेनी १२ अर्ब भन्दा बढीको धान आयात गर्छौं। करोडौंको खुर्सानी आयात गर्छौं। अनि खेती योग्य जमिन कोहि प्लाटिङ त कोहि बाँझा । सायद यहि होला कृषि क्रान्ती।
देशको नेतृत्व गरेकाले विकास र सम्मुनातिको बाटोमा लाने स्पस्ट रोडमोडेल नबनाएसम्म युवा वा जनता कुहिरोमा हराएको काग जस्तै अलमलिनु स्वाभाविकै हो । तर पनि हामीले अब नेपालमै प्राप्त हुने सानोसानो सम्भावनालाई सदुपयोग गर्न सक्नुपर्छ । आज देशमा ९० प्रतिशत युवाहरु बेरोजगार छन्। नेपालका शिक्षणसंस्थाहरु एउटा बेरोजगार युवाहरु उत्पादन गर्ने फ्याक्ट्री जस्तो भएको छ। अनि नेपाल ती युवाहरु सप्लाई गर्ने बहुराष्ट्रिय कम्पनि जस्तो देखिएको छ । अब देशमा युवाहरु धेरै अल्मलिने र विदेशिन रोक्नुपर्छ | नेपालमा बसेर के गर्नु यार भन्नुपर्ने निराशाको कालो बादल फटाउनुपर्छ | नेपालमै सम्भावना र अवसरको ढोकाहरु प्रसस्त छन् | ती अवसर र सम्भावनाहरु हाम्रा लागि सुनका फाली हुन् तर हामी ती सुनको फाली नाघेर बिदेशमा फलाम उचाली रहेका छौं |
क्याक्मी-८ ओम्जर स्याङ्जा
हाल-दक्षिण कोरिया