नेपालमा अबैधानिक बिदेशी कामदारको संख्या ५० हजार
फोनिज कोरिया संवाददाता
काठमाडौं-बैधानिक रुपमा बिदेशी कामदार भित्र्याउने चलन न्यून भएको नेपाल अबैधानिक बिदेशी कामदारको संख्या भने ५० हजारको हाराहारीमा रहेको छ |
सरकारले डेढ वर्षदेखि अनुगमन नगर्दा अवैध रुपमा नेपाल बसेर काम गर्ने विदेशीको संख्या बढ्दै गएको हो । अहिले अवैध रुपमा काम गर्ने विदेशीको संख्या ५० हजार हाराहारी रहेको अनुमान गरिएको छ ।
भूकम्पपछि राहत र उद्धारको नाममा पर्यटक भिसामा आएर अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने प्रवृत्तिले यो संख्या अझै बढाउने देखिएको छ । सरकारले पटकपटक नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशीलाई वैधहुन आग्रह गरे पनि उनीहरुले नटेर्ने गरेको खबर नागरिक दैनिकमा छापिएको छ । सरकारले प्रभावकारी अनुगमन नगर्दा दुईपटक बैध हुन आग्रह गरिए पनि नगन्य विदेशीले मात्र श्रम स्वीकृति लिएको श्रम विभागको अभिलेखले देखाउँछ ।
हजारौ विदेशीले श्रम स्वीकृति नदिई काम गर्दा सरकारलाई वाषिर्क चार अर्ब रुपैयाँभन्दा बढी कर घाटा भइरहेको सम्बद्ध निकायको अनुमान छ ।