सुतैकै अवस्थामा किन हुन्छ मृत्यु ?
गत मार्च २७ मा इटहरीका टपिन कटवालको कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । त्यसको दुई हप्तापछि अर्थात् अप्रिल १० मा सुनसरीका चुडाराज आलेको पनि सुतेकै अवस्थामा मृत्यु भयो । फेरी गत बिहीबार नाइट ड्युटी सकेर साँझ सुतेका खोटाङका कल्याण राई पनि सुतेका सुतै भए । कोरियामा करिब दुई महिनाको अवधिमा तीनजना नेपालीले कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा ज्यान गुमाएका छन् ।
प्रवासमा रहेका नेपालीहरु राती सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु पहिलेदेखि नै सुन्दै आएका छौं । यतिखेर कोरियामा रहेका केही नेपालीहरुमा पनि यो क्रम बढ्न थालेको छ । यसरी अचानक सुतेकै ठाउँमा मृत्यु हुनु एउटा जटिल समस्याको रुपमा देखिएकोले सबैमा चिन्ता बढ्नु स्वभाविकै हो ।
यसरी सुतेकै अवस्थामा निधन हुने नेपाली कामदारको संख्या बढ्न थालेपछि त्यसको सत्यतथ्य पत्ता लगाउने गरी अध्ययन अनुसन्धान गर्नुपर्ने आवाज कोरियामा रहेका नेपालीहरुले उठाउदै आएका छन् भने कोरियास्थित नेपाली राजदूतावासले विशेषज्ञको टोली बनाइ यस्ता घटनाको कारण पत्ता लगाउन आवश्यक कदम चाल्ने बताएको छ ।
यसरी बिदेशी भूमिमा अकालमा नेपाली युवाहरुले ज्यान गुमाउनु आफैंमा दुखदायी घटना हो । यसप्रति युवाहरु आफैं बेलैमा सचेत हुनु आवश्यक छ । योङ एजमा हार्टएट्याग हुने सम्भावना कमै हुन्छ तर अक्सिजन नपुगेको ठाउँ या केमिकलयुक्त वातावरणले पनि यस्तो घटना हुने कोरियाका नेपाली डाक्टर राजेशचन्द्र जोशी बताउँछन् । शरीरको वजन कस्तो छ त्यस्मा पनि भर पर्छ । यदि मोटो या बढी तौल भएको ब्यक्तिमा राती सुत्दा घुर्ने समस्या छ भने बेलैमा सचेत हुनुपर्ने डा. जोशी सुझाव दिन्छन् । उनी भन्छन्, ‘घुर्नुका धेरै कारणमध्ये ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम’ पनि एउटा हो । यो रोगका कारण मानिसमा घुर्ने समस्या हुन्छ । घुर्दा अक्सिजनको कमि स्वाट्टै घटेर गयो भने ब्रेन ड्यामेज हुन्छ । यदि लामो समयसम्म अक्सिजन जाने प्रक्रियामा ब्लक भइरह्यो भने मान्छेको तत्काल मृत्यु हुन्छ ।’
उनका अनुसार घुर्नु पनि रिस्कि नै हो । यस्तो मान्छेले चाँडै नजिकैकै स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सल्लाह लिइहाल्नु पर्छ । त्यसैगरी सुत्दा जहिले पनि उत्तानो परेर सुत्नु भन्दा दाहिने वा देब्रे साइडमा कोल्टे परेर घाँटीलाई तन्काएर सुत्नु पर्छ । त्यसैगरी जतिसक्दो आफ्नो शारीरिक फिटनेशमा ध्यान पुर्याउनुपर्छ । मर्निङवाक, योगा या एरोबिक जस्ता शारीरिक व्यायाम गर्नुका साथै खानपानमा पनि विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । खाना खानसाथ सुत्नु पनि मोटोपनको कारण हो । जति जिउ लाग्यो त्यति घाँटीमा पनि मासु बढ्ने भएकोले श्वासप्रश्वासमा समस्या पर्छ पर्ने डा. जोशी बताउँछन् ।
त्यसैगरी राती सुतेको बेला गुम्सेको ठाउमा पंखा मात्र चलाएर सुत्दा पनि असर पर्छ । हावा छिर्ने भ्यान्टीलेसन भए पनि खोलेर सुत्नु पर्छ । कुनै कुनै अन्डरग्राउण्डमा त झ्याल पनि हुदैन ढोका मात्र हुन्छ । तर अक्सिजनको कमी भएमा निसासिने वा स्वाँस्वाँ हुने हुन्छ । त्यस्तै कम्पनीको ग्यासबाट निस्केको केमीकल मिसिएको हावाले पनि असर गर्छ ।
कहिलेकाँही लामो समय कडा काम गरेर सुत्न पाएको छैन भने त्यस्तो दुर्घटना हुने सम्भावना हुन्छ तर जति कडा काम गरेपनि समयमा खाना खाने र राम्ररी निदाउन पाएको छ भने त्यस्तो समस्या नहुने डा जोशीको भनाइ छ । उनका अनुसार जाँड रक्सी खाएर सुत्दा पनि घुर्दा एक्कासी बिउझन्छ । घुर्ने मान्छे एकछिनसम्म सास फेर्दैन । एकैचोटी बिउझन्छ तर ब्रेनलाई असर पर्छ । राती मजाले सुते पनि बिहानीपख टाउको दुख्ने, दिनभरी झ्यापझ्यापी निद्रा लाग्ने, झर्को लाग्ने जस्ता लक्षण देखियो भने त्यो ब्यक्तिलाई स्लिप एप्निया भएको हो । त्यस्तो ब्यक्तिलाई तुरुन्त चेकअप गराइहाल्नुपर्छ । त्यसैले आफुसँगै काम गर्ने वा कोठामा सँगै बस्ने साथीले पनि ब्यक्तिको शारीरिक फिटनेश कस्तो छ ? राती सुत्दा घुर्ने बानी छ भने बेलैमा सचेत गराउनु पर्छ ।