किन नबनुँ कुमारी आमा म ?
कविता
प्रेम गर्छ उ मलाई,
र प्रेम गर्नुको आभाष गराइरहन्छ,
उ भन्छ “कल्पना गर्छु … कसैले धोका दियो
दुई जिउकि बनाएर तिमीलाई …
बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे,
कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको,
कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु,
कसरी सहन सकुँला तिमी अबला भएकी ? “
फिस्स हाँस्छ उ,
कालो अनुहारमा
छिद्र छिद्र परेका, बांगा टिंगा
सेता दाँतका लहर चम्किन्छन उसका,
मलाई भने,
घृणा जागेर आउँछ, उसको हँसाइप्रती,
दया लागेर आउछ, उसको प्रेमप्रति,
खिन्नता बोध हुन्छ, उसको सोचाइप्रती
पुरुषअह्ंको गन्ध ठसठसी गन्हाउँछ,
वाक्वाकी लागेर आउछ,
शंका, दया मिसिएको भाव देखाउछ उ,
र भन्छ ” चिन्ता नगर,
म छु नि तिम्रो सतित्वको रक्षा गर्ने,
समाजमा तिमीलाई बाँच्न सघाउने
अनि सही मार्गदर्शन गर्ने”
अनुहारभरी क्रान्तिको ज्वाला लिएर
भन्छु म “प्रकृतिले दिएको छ मलाई
गर्भाशय- भ्रुण हुर्काउन,
स्तनहरु- दुध चुसाउन,
यसर्थ, बच्चा जन्माउने प्राकृतिक अधिकार हो मेरो
मातृत्व-अनुभुती पनि प्राकृतिक हो मेरो
आर्थीक रुपमा आत्मनिर्भर छु म,
सक्षम छु, बच्चा भरणपोषण गर्न
अनि उचित शिक्षा दिन
कानुनी तवरले योग्य छु
मेरो नामको नागरिकता दिलाउन
मेरो सम्पतिको उत्तराधिकारी बनाउन
अनि कसरी अवैध हुन्छ मेरो बच्चा ?
फेरी किन कसैबाट धोका पाउँ म ?
नविनतम प्रविधिको उपयोग किन नगरुँ म ?
महिलागर्भको तोलमोल हुने बजारमा
पुरुष शुक्रकिट किन नकिनु म ?
फेरी तिम्रो सिन्दुरपोतेले
डग्मगाउछ मेरो आत्मसम्मान भने,
म भित्रको स्वाभिमान जिवित राखी
किन नबनुँ कुमारी आमा म ?
यस पटक, म हाँस्छु फिस्स,
ढोका ढ्याम्म उघार्छु,
अनि आफ्नो बाटो लाग्छु ।