कोरियातिर (नियात्रा)
मंगोलियन सल्लो र आर्यन सल्लो !
सल्लो पनि मंगोलियन र आर्यन ? वाहियात भन्न लाग्छ । खासमा, सामान्य दृश्य घटनाले यो प्रसंग जन्मिएको हो । पंक्तिकार संलग्न नेपाली टोली दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ सँगैको ‘नेसनल फोक म्युजियम अफ कोरिया’ को अवलोकन गर्दै थियो । जंगलमय पुराना दरबार संग्रहालय चहार्दै थियौं । नेपालका जंगलमा झैं सल्लाको रूखहरू प्रशस्त देखिए । तर यताका सल्ला त सुलुत्त परेका हुन्छन्, सुरिलो । तर त्यहाँका सल्ला त होचा रहेछन् । फेरि नेपालमा भएका सल्लाले वरिपरिको जमिनै सुक्खा तुल्याउँछ । त्यहाँचाहिं त्यस्तो देखिएन, सबैतिर हरियाली । मैले जिज्ञासा राख्दै थिएँ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले फ्याट्टै भनिहाले, ‘यहाँका सल्ला मंगोलियनजस्ता पुड्का रहेछन् । नेपालका चाहिं आर्यन रहेछ । अग्ला–अग्ला ।’
दक्षिण कोरियाका डाँडाकाँडामा जता हेर्यो उतै हरियाली । वन नीति ज्यादै खँदिलो रहेछ । सडकको दायाँ–बायाँ रूख रोपिएका छन् । हावाहुरी र समुद्री आँधी ताइफुनले ढाल्न नसकोस् भनेर रूखलाई टेको लगाएर राखेका छन् । एकनास हरियाली छाउनुको विशेष अर्थ रहेछ । त्यहाँको वन विभागले जंगल रोप्ने रहेछ । जहाँ बढ्न नसकेर अचकल्टिए पुराना रूखबिरुवा छन्, त्यहाँ कपाल खौरेजस्तै पूरै फाँड्दा रहेछन् । त्यसपछि रोप्दारहेछन्, हलक्क बढ्ने जातका थरी–थरी बिरुवाहरू ।
प्राध्यापकको ‘बिरामी अंग्रेजी’
धन्न दक्षिण कोरियामा भएकाले उति लज्जित हुनुपरेन । लाग्थ्यो, प्राध्यापक भनेका प्राध्यापकै हुन् । पीएचडी उपाधि पाएका, पढाएरै प्राध्यापक भएका मान्छे अंग्रेजीमा खुँखारै होलान्जस्तो लागेको थियो ।
हामी कोरियाका केही विश्वविद्यालय चहार्दै थियौं । हाम्रो साथमा फरर नेपाली बोल्ने कोरियन दोभाषे थिइन् । प्राध्यापकले कुनै एक महिलाको प्रसंगमा सोधिहाले, ‘होयर इज हिज हस्बेन्ड ?’ (उसको श्रीमान् कहाँ छ ?) यो सुनेपछि त्रिविका उपकुलपति तीर्थ खनिया पनि मजैले मुस्कुराए । ती दोभाषेले चाहिं परिस्थिति बुझिन् क्यारे, चुप्पो लागिन् ।
विश्वविद्यालयमा छिरेपछि अर्का प्राध्यापकले प्रशंसाको ओइरो खनाउन थाले, उही अंग्रेजीमा, बेपर्वाह बरबराएझैं । भीसी खनिया अगाडि नै थिए । ती प्राध्यापक खनियाका पूर्ववर्ती भीसीको प्रसंग कोट्याउँदै थिए । ‘लेट भीसी डिड् दिस एमओयू’ पो भन्न पुगे । भन्न खोजको ‘पूर्ववर्ती भीसीसित भएको सम्झौता’ थियो । तर उनले ‘एक्स भीसी’ वा ‘फर्मर भीसी’ भन्नुपर्नेमा ‘लेट भीसी’ (स्वर्गीय भीसी) भनिदिए । प्राध्यापक महोदयको जिब्रोबाटै यस्तो फुत्किएपछि के लाग्छ र ? उपकुलपति खनियालाई ती विश्वविद्यालयका समकक्षीसामु अकमकिनुको विकल्प रहेन ।
यो सुनेर मलाई भने विश्वविद्यालयका प्राध्यापकले अंग्रेजी भाषा कक्षा लिन जरुरी महसुस भयो । फेरि हाम्रो देश न हो, यस्ता ‘बिरामी अंग्रेजी’ धारी प्राध्यापक नै कुनै दलको कोटामा राजदूत नै पो बन्लान् कि ?
सगरमाथाबारे भ्रम
दक्षिण कोरियाको देगु युनिभर्सिटीका प्रेसिडेन्ट ड्युक रियुल होङसित औपचारिक भेटपछि हामीलाई घुमाइयो, ‘दी ब्रेल प्रिन्टिङ म्युनियम अफ देगु युनिभर्सिटी’ । ब्रेललिपिको प्रतिपादन, इतिहासदेखि वर्तमानमा भइरहेको व्यावहारिक प्रयोग हेरियो । प्रवेशद्वारमै बडेमानको ग्लोब रहेछ । त्यहाँ नेपाल पनि छ भनेर प्रेसिडेन्टका असिस्टेन्टले गर्वसाथ ग्लाबको नक्सा देखाउँदै व्याख्या गरे । नक्सामा नेपालचाहिं सानो तर सर्वोच्च शिखर सगरमाथाचाहिं माथि चीनतर्फ भुक्क उठेको देखाइएको रहेछ । त्यो देखेर प्रा.कृष्णप्रसाद गौतमको पारो तात्तिएछ । फ्याट्टै सम्झाए, ‘तिम्रो यो ग्लोब ठीक छैन । सगरमाथा त नेपालसँगै हुन्छ ।’ ती कोरियालीले अकमकिँदै भने, ‘सायद हुन सक्छ ।’
पुस्तकालयमै बास
गाउँघरमा उहिले भन्ने गरिन्थ्यो— पढन्ते पनि मरन्ते, नपढन्ते पनि मरन्ते । अर्थात् पढेका पनि मर्छ, नपढ्ने पनि । शिक्षाप्रतिको दृष्टिकोण हो, यो वाक्य । दक्षिण कोरियाको छाङवन नेसनल युनिभर्सिटी पुगियो, जहाँ छ जना नेपाली पीएचडी गर्दै छन् । विषय एउटै छ— विशेष शिक्षा । विशेष शिक्षा भन्नाले अपांगता भएका बालबालिकाको शिक्षण पद्धति हो । उनीहरू त्रिवि र उक्त युनिभर्सिटीको सम्झौताअनुसार छात्रवृत्तिमा पढ्ने अवसर पाएका हुन् । पीएचडी गर्दै गर्नेहरू हुन्, त्रिविका उपप्राध्यापकत्रय रवीन्द्र शिवाकोटी, ध्रुवप्रसाद निउरे र शरणहरि श्रेष्ठ । त्रिविकै आंशिक शिक्षकद्वय नवराज न्यौपाने र यज्ञराज पाण्डेय अनि स्मृति राई । उनीहरू अपांगको प्रकृतिअनुसार फरक–फरक पक्षलाई सूक्ष्म ढंगले विषय केलाइरहेका छन् । यिनै साथीहरूले डुलाए युनिभर्सिटीका कक्षा कोठाहरूदेखि पुस्तकालयसम्म । राति साढे आठ हुँदै थियो । ‘हाम्रो कक्षा चल्दै छ । तपाईंहरू बस्दै गर्नुहोला ।’ युनिभर्सिटीकै गेस्ट हाउसमा बसेका हामीलाई यो वाक्यले झस्कायो । खासमा मास्टर्स र पीएडीको कक्षा साँझ ६:२० देखि सुरु हुनेरहेछ । एउटा कक्षा अढाई घण्टाका । दुई पिरियड पढ्दा रातिको ११:२० बज्दोरहेछ ।
पुगियो, डिजिटल कक्षा हेर्न । फोटो सेसन चल्दै थियो, प्राध्यापक ढोकाबाट छिरे । नयाँ मान्छे देखेर आश्चर्यमा परे । ‘पत्रकार साथी, नेपालबाट हामीलाई भेट्न आएका ।’ भनेपछि गुरु पनि विद्यार्थीसँगै बसे । त्यो साँझ नवराज न्यौपानको कक्षा थिएनछ । घुमाए, विश्वविद्यालयको उकाली–ओराली कक्षा कोठादेखि पुस्तकालय ढोकासम्म । कार्ड नभएकाले भित्र छिर्न सकिएन । आईडी कार्डका आधारमा पुस्तकालयबाट एकचोटिमा २० वटा एक महिनाका लागि लिन पाइने रहेछ । साँझ पाँच बजेसम्म पुस्तक इस्यु हुने रहेछ । अरू जुनसुकै बेला पुस्तक बुझाउन पाइने तर लिन पाइँदैन । एउटा सेक्सनमा रातैभरि पढ्न सकिन्छ । पुस्तकालयको दुई सेक्सन छन् । किताब हुने सेक्सनमा साना–साना कोठाहरू छन् । टेलब कुर्सी छन्, छलफल गर्न सकिन्छ । पहिल्यै बुकिङ गर्नुपर्छ । अर्को पढ्ने ठाउँ छ । पढ्न पाइने, बोल्न नपाइने । ‘कोरियन विद्यार्थीहरू दिनभरि सुत्छन्, रातभरि पढ्छन्, बर्की ओढेर,’ न्यौपानको कथन छ ।
चाहिएको पुस्तक अन्य विश्वविद्यालयको पुस्तकालयबाट मगाइदिने व्यवस्था पनि रहेछ । र, सुत्नैका लागि चाहिं होइन ।
बाँचे भेटिन्छ
‘दाइ बाँचे भेट हुँदोरहेछ !’ बालाचन्द्र राईले खुसी व्यक्त गरिन् । सँगै रहेकी मञ्जु गुरुङ मुस्कुराइन् । छेउमै रहेका मञ्जुका श्रीमान् कोरियन कवि किम ह्योङ ह्यो (सगरमाथा गुरुङ) ले फ्याट्टै मुख खोले, ‘नबाँचेको भए, यस्तो कुरा कसले गर्ला ?’ युनिभर्सिटीको गेस्टहाउसमै यी तीन प्राणी आइपुगेका थिए । हामीलाई भेट्न । दशकभन्दा बढी काठमाडौंमा पत्रकारिता गरेका दुई चेली कोरियाली नागरिकसित बिहे गरेपछि उतै रहे । दशकपछिको भेट थियो । दुवै जना फोनिज (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) कोरिया गठन गरेर यही नाममा नेपाली अनलाइन पत्रिका चलाइरहेछन् । कोरियामा अभर परेका नेपालीहरूको सेवामा पनि जुट्दा रहेछन् । मञ्जुले ‘चौतारी’ नामक सेल्टर नै सञ्चालन गरेकी रहेछन् । नेपाल–कोरिया सामाजिक दूतहरूको कार्यलाई नमन । -कान्तिपुर