म यसरि डाक्टर बनें -राजेशचन्द्र जोशी
म रामचन्द्र र शुभद्रा जोशीको छोराको रुपमा काठमान्डौमा जन्मेको हुँ | मैले आर्दश बिद्यामन्दिरबाट प्रारम्भिक शिक्षा शुरु गरें | यसै बिद्यालयबाट प्रवेशिका उतीर्ण गरें | म सानैदेखि बिज्ञान र प्रबिधिप्रति चासो राख्थें | मलाई अलिकति सोच्न पर्ने बिषयमा चाख लाग्थ्यो | घरको रेडियो घडी खोलेर आफैं जोडजाड पार्थें | बिद्यालय पहिलो दोश्रो हुने भन्दा पनि कुनै बिषयबस्तुको गहिराइसम्म पुग्ने मेरो बानी थियो | घोकन्ते पढाइभन्दा लजिक टाइपको पढाइ मन पराउन्थे | एकहोरो पढाइमा मात्र होइन सबैखालको ज्ञान हुनुपर्छ भन्ने मलाई लाग्थ्यो |
टिभी हेरेपछि हिरो, गायक र संगीतकार हुने मेरो इच्छा पलायो | माध्यमिक तहमा पढ्दा म्युजिकल ब्याण्ड बनाएका थियौं | म गीत गाउने, गीतार र ड्रमसेट बजाउने गर्थे | साथीहरुसंग मिलेर सास्कृतिक कार्यक्रमहरु आयोजना गर्थ्यौं | म अभिनय पनि गर्थें | सस्पेन्डेड र क्राइम खालका फिल्महरु हेर्न मलाई मनपर्थ्यो | अपराधी वा अभियुक्त को हुन्छ भनेर म पहिलै अनुमान गर्थें | फिल्म समाप्त हुँदा मेरो अनुमानले मेल खाएको हुन्थ्यो |
मेरो बुबा अर्थ मन्त्रालयमा अफिसर हुनुभएकाले उहाँको सरुवा बिभिन्न जिल्लामा हुनेगर्थ्यो | उहाँसंगै म सानैमा पोखरा,पाल्पा,सर्लाही पुगें | सर्लाहीमा १ बर्षसम्म पढें | मेरो लिडरसीप पनि राम्रै भएकाले माध्यमिक तहमा म दुई पकट विद्यालयको क्याप्टेन भएर काम गरे |
प्रवेशिका उतीर्ण गरेपछि अमृत साइन्स कलेजमा आइएस्सी पढ्न भर्ना भएँ | त्यहाँ पनि साथीहरुसंग मैले रमाइलो क्षणहरु बिताएँ भने पढाईमा त्यतिकै लगानिशील थिएँ | आइएस्सी गरेपछि डाक्टर बन्ने झोंकमा सन् १९९३ मा कोरिया आएँ | शुरुका दिनहरुमा कोरियन भाषाको कठिनाइले धेरै मिहेनत गर्नुपर्यो । कोरियन भाषा गार्हो भएकाले एक चोटी छोडी दिने विचार पनि गरेको थिएँ तर आफन्तको प्रेरणाले चार घण्टामात्र सुतेर पढें मलाई ‘परिश्रम गर्नेहरु कहिल्यौ हार्दैनन् भन्ने थाहा थियो |
मैले कक्षा ४,५ मा पढ्दै ‘डाक्टर हुनुपर्छ’ भन्ने सपना बुनेको थिएँ | त्यो समयमा मैले नेपाल र भारतको बिभिन्न क्षेत्रहरुको यात्रा गरिसकेको थिएँ | ती यात्राहरुमा धेरै दुखी र रोगी मान्छेहरु देखें | उनीहरुलाई देखेपछि ‘मान्छे भएर रोगी मान्छेको उपचार गर्न सक्ने पो हुनुपर्छ ‘ भन्ने लाग्यो | ठुलो हुँदै गएपछि नेपालमा असल डाक्टरको आवश्यकता र महत्व पनि बुझें | अर्कातिर मेडिकल क्याम्प लिएर आएका कोरियन डाक्टरहरुले पनि प्रभाव पारे | उनीहरुको क्याम्पमा म स्वस्यसेवकको रुपमा काम गर्थें |यस्तै यस्तै कारणले म डाक्टर बन्न सफल भएँ |
मैले येङनाम विश्व बिद्यालयबाट २००२ मा मेडिकलमा ग्रजुएट गरें । त्यसपछि प्रो जङसङ दकको सहयोगमा २००३ मा थेगुको खेम्यङ विश्वबिद्यालयमा आएर २००५ एमए गरेरचर्म बिशेषज्ञको उपाधी लिएँ । हाल यसै विश्वबिद्यालयबाट बिद्यावारिधिको लागि शोधपत्र तयार गर्दैछु । प्रो ली क्यूसकको सहयोगमा २००३ देखि नै थेगुको दोङसन अस्पतालमा सेवा गर्ने मौका पाएको थिएँ | गत बर्षदेखि चाही ग्यङजु नगरपालिकाको हस्पिटलमा फेमिली मेदिसीं प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्दै आएकोछु |
तीन बर्षअघि मैले कोरियाको फेमिली मेडिसीन एसोसीएसनले गरेको एक सम्मेलनमा ‘बच्चा उदास हुनुको कारणहरु’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेको थिएँ जुन उत्कृष्ठ बन्यो । सोलको ग्रान्ड हिल्टन होटलमा भएको सो सम्मेलनमा कोरियाका सयौं प्रख्यात डाक्टरहरुलाई पछि पार्दै मैले अवार्ड पाएँ त्यो क्षण म निक्कै खुशी भएँ । कोरियामा चाइल्ड डिप्रेसन ठूलो समस्याको रुपमा आइरहेको छ | त्यसैले मेरो कार्यपत्रलाई मूल्याङकनकर्ता उत्कृष्ठ ठानेका हुनसक्छ ।
त्यस्तै २०११ मा सरकारी स्वामित्वको टेलिभिजन केबीएसले कोरियाली समाजमा ‘सफलता र एकताको नमूना’ बनेका प्रवासीहरु मध्ये मलाई ‘होप फर कोरिया’ अवार्ड पनि पाएको थिएँ | मैले पाएका सबै मान , सम्मान र अवार्ड म राष्ट्रलाई अर्पण गर्दछु । सकेसम्म कोरियामा नेपालको छबी राम्रो होस् भन्ने चाहन्छु | त्यहि अनुसार मिहेनत पनि गरिरहेको छु |
ब्यस्त समयका कारण पनि केहि कोरियन र नेपाली सस्थाहरुमा आबद्ध छु | समाजसेवा गर्ने मन भएर पनि समय अभावले सोचे जस्तो गर्न सकेको छैन | मेरै सकृयतामा सन् २००४ मा स्थापना भएको ‘लभ नेपाल’ संस्था बिकसित भएर अहिले ‘कोरिया नेपाल एसोसिएसन’ भएको छ । यसको मुख्य लक्ष थेगु क्षेत्रमा नेपाली प्रकृति,संस्कृति चिनाउनु रहेको छ । यसले प्रत्येक बर्ष ‘नेपाली साँझ’ नामक सास्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।
मातृभूमिको लागि केहि गरौँ भन्ने लागि रहन्छ | त्यसैले कोरियन अस्पताल र चिकित्सकहरुको सहयोगमा हरेक बर्ष नेपालको दुर्गम क्षेत्रहरुमा मेडिकल क्याम्प संचालन गर्दै आएको छु | कोरियामा रहेका नेपाली समुदायको हितका लागि पनि समय समयमा निशुल्क श्वास्थ्य परिक्षण गराउंदै आएको छु | डाक्टर बनेर नेपाल फर्किने सोच हुँदाहुँदै परिवारको सल्लाहले कोरियामै मानव सेवा गरिरहेको छु |
प्रस्तुति:- देवेन्द्र सम्बाहाम्फे