पहिचानकै आधारमा प्रदेशको नाम राख्न माग
अशोक सुजन श्रेष्ठ
हेटौडा -खोला, हिमाल, पहाडले पहिचान नमागेको भन्दै जातीय पहिचानकै आधारमा संघीय प्रदेशको नाम राख्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । मगर सचेतना तथा संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तरगत आज (जेठ २५ गते) हेटौडामा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आदिवासीहरुको धैर्य र संयममतालाई कमजोर ठानी सशक्त रुपमा उठ्न बाध्य नपार्न चेतावनी समेत दिए ।
बिगतमा राज्य र शासकले दोश्रो दर्जाको नागरिक मानेकाले बिश्वमा चलेको चलन अनुसार उत्पीडित आदिवासी जनजातीकै पहिचानका आधारमा प्रदेशको नाम नराखे ठुलो मुल्य चुकाउनुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल मगर संघको संगठनात्मक पद्दती र नेतृत्व बिकास, आदिवासी जनजातिले खोजेको संघीय संरचना र मगरात स्वायत्त प्रदेश, बैशाख १२ गतेको महाभूकम्प, यसले पारेको असर र हाम्रो भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघका महासचिव नवीन रोक्का मगर, सचिव एवम् संगठन संयोजक ज्ञानेन्द्र पुनमगर र पूर्वाञ्चल उपाध्यक्ष गंगा थापा मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य एवम् नारायणी अञ्चल संयोजक बिश्व आले मगरले सहजिकरण गर्नुभएको थियो ।
नेपाल मगर संघका मकवानपुर, बारा, पर्सा, रौतहट र चितवनका प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य एवम् नारायणी अञ्चल सहसंयोजक देवी श्रीस मगर, मध्यमाञ्चल उपाध्यक्ष चित्रबहादुर लुङ्गेली मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर लगाएतको आतिथ्य रहेको थियो ।