युनिभर्सल सपना
कम्पनीमा नेपालमा घर कोठा बनाउनलाई प्रयोग हुने ‘प्लाई’ झै यता कोरियामा प्रयोग हुने ‘फर्म’को सामान बन्छ । आयातकार दुई तीन मिटर लामो । मोटाइ धेरै हुदैन । एक सय पचासवटाको एउटै ‘पालेट’मा चाङ लाउँदा झन्डै छ फिट अग्लो हुन्छ । यस्ता सामान तयार भएर अर्डर आएको ठाउँमा नलगेसम्मका लागि कम्पनीमा स्टोर गर्ने ठाउँ छन् । बनेको ठाउँबाट स्टोर गर्ने ठाउँमासम्म लैजान फोर्कलिफ्ट अर्थात कोरियन भाषामा चिकेछा भन्ने दुई सिंग भएको डोजर छ । दुईटा सिंगमा पालेटको सामान बोकेर जान्छ । लाईन पारेर राख्छ । एउटा साइजको एउटा लाइन । यसरी धेरै लाइनहरु स्टोर हुँदै जान्छन् । चौडाईको साइज झन्डै मिलेपनि उचाईको साइज मिल्दैन । चिकेछा माथि चढेर उचाईबाट स्टोर भएकोे सामान हेर्दा कतै बिकिसित देशको विकसित सहर जस्तो देखिन्छ । प्लानिङ गरेर बनाएको सहर जस्तो । लाइनका लाइन । बीचमा सहर घुम्न बनाएको बाटो जस्तो । सहरकै घर जस्तो अग्लो होचो ।
यसरी बनेका समानको बीचमा आफु उभिदा यस्तो लाग्छ । मेरो सपना यतै कतै छ । सपनाको सहरको घर पनि यतै कतै छ । म त्यही सपनाका लागि बनेका सामानको बीचमा उभिएको छु । हिडेको छु । तयारी सामानको चाङ झै मेरो दुःखको चाङ पनि यसरी पत्र पत्र भएर बसेको छ कि ?
सबैका सपना आफ्नै आफ्नै होलान् । गाउँमा हुँदाको सपना सहर पसे पछि मिल्दैनन् । सहर पसे पछिका सपना फेरि फेरिन्छन् । सानो उमेरका सपना ठूलो उमेरको भए पछि फरक हुन सक्छन् । मेरो सपना के के हो ? कहिले के कहिले के ? जेहोस कोरियाको कम्पनीमा बनेको तयारी सामानको बीचमा म आफ्नो सपना खोजि रहेको छु ।
काठमाडौ हुँदा पशुपति तिर ‘धर्म’ गर्न जाँदा बागमतीको फोहोर पानीमा केही मान्छेहरु चुम्बक लाएर पैसा खोजि रहन्थे । आफन्त बितेपछि बागमतीमा चढाएका पैसाहरु थिए ती । खोज्नेले कहीले धेरै भेटाउँथे होलान् कहिले केही भेटाउँदैनथे होलान् । भेटेको भोलिपल्ट झन धेरै भेटाउने सपना बोक्दा हुन् । नभेटेको भोलिपल्ट भेटाउने सपना देख्दा हुन् । शायद धेरै मानिस मरोस भनेर इच्छा पनि राख्थे कि ? तिनका सपना हरेक दिन नयाँ नयाँ हुँदो हुन् । ती पैसा खोज्ने सधै देखिन्थे । खोज्थे । जिन्दगीको च्यालेन्ज भनेको पनि त्यही होला । धाई रहनु पर्ने गरि रहनु पर्ने ।
सामानको थुप्रोमा जिन्दगीको सपना खोज्ने म एक्लै छैन । काठमाडौको सहरमै फोहोरको थुप्रोमा जिन्दगीको सपना खोज्नेहरु पनि छन् । खाडीका गर्मीमा खजुरको रुख मुनी रोड खनेर आफ्नो सपनाको सहर जाने बाटो बनाउने छन् । गर्मीले भतभती पोलेर पसिनाले पुरै भिजे पनि ‘भिजा’ थपेर बसेका बस्यै छन् । अरबको मरुभुमीमा भेडाच्याङ्ग्रा चराएर सपनाको गाउँमा परिश्रमको पसिना फुलाउने पनि छन् । म्याकडोनाल्डको आलु तेलमा तार्दै आफ्नो सपना फुराउँदै गरेका पनि धेरै छन् । फ्यामली मार्ट तिर भुई पुच्दै आफ्नो सपना चम्काउने पनि छन् ।
देश अनुसार फरक भाषा र संस्कृति भए पनि नेपाली नपुगेका ठाउँ कम छन् । सपनाका पखेटा फैलाउँदै । कतै अंग्रजीमा सपना देख्लान कतै जर्मनीमा । पोर्चुगल कतै अनकन्टार अंगुर फार्ममा अंगुर टिप्दै युरो जोनको नागरिक भएको सपना देख्ने पनि धरै छन् । हरियो पार्सपोर्टलाई रातो बनाउने सपना देख्ने धेरै छन् । संसार भर फरक फरक रुपमा सपना पालेर हिड्दै गरेका हामी धेरै छौ ।
कोरिया तिरै पनि सपना फुलाउन हिडेका नेपाली झन्डै चालिस हजार छन् । कति कोरियनमा ‘सेक्या’ कुकुरको छाउरा भन्ने गाली खाँदै सपनाका पछि हिडिरहेका छन् । झन् कति त्यो भन्दा पनि बढिका आमाचकारी गाली खाएर हाँस्ने पनि होलान् । कतै टनेलमा सागको पात टिप्दै आफ्नो सपना हरियाली बनाउन लाग्नेहरु पनि छन् । बाहिर हिउँले ढाकेको बेला टनेल भित्र रातो टमाटो टिपेर रंगिन सपना बनाउने पनि छौ ।
सबै म जस्तै हुन् । जता जसरी बसे पनि । जसरी जुन भाषामा कुरा गरे पनि । मलाई यस्तै लाग्छ । म महान । म पुगेको ठाउँ तेरो भन्दा महान । यी सबै भन्ने कुरा हुन् । कमाइ कतै धेरै कतै थोर हुन्छ होला । कतै हजार कमाइन्छ होला । कतै लाख । सबैको सपना भने साझा छ । युनिभर्सल सपना ।
सपनाका अनेक रुप होलान् । कहिले पुरा देखिएला । कहिले अलि कम । कहिले प्रष्ट बुझिदो हो कहिले थोरै बुझिदो हो । सपनाका पछि भाग्ने, दौडिने, हिड्ने को नहोला र ?