बसन्तको रात
कल्पना राई ‘खुशी’
प्रकृतिमा नाङ्गिएर उभिएका कंकाल रुखहरु
डाली डालीमा मुना पलाउदै छन
आँगनीमा राखिएको निर्जीव गमला
छाती भरी पुरानै बिरुवा उमार्न अभ्यस्त छिन
पश्चिम भएर बहने पवन हिजो आज
पूर्व तिरबाट भएको प्रतित हुन्छ
फगत एउटा मेरो मन अनकन्टारमा त्यतैकतै छट्पटी रहेछ
माया फुलाउन नसकेर
बिश्वास चुलाउन नसकेर
सायद,
मधुरो प्रेमको प्रतिबिम्ब भुलाउन नसकेर
आँशुका आहालमा छट्पटी रहेछ
यो मन ………
आत्मा पनि निस्सार रित्तो रित्तो भएको छ
मन्दिरको देउता हराए जस्तो,
एकतमासले अत्यासको घण्टा बारबार बजिरहेछ
टंग………टंग………टंग………
दुरदुर सम्म मनको आवाज गुन्जयमान छन
सुस्त सुस्त उतै पो हराएर जान्छ
फर्की आउन्न फेरी
बन्द खाममा प्रियसीको शन्देश
फर्की आउन्न फेरी
हिक्क,हिक्क बाडुल्कि पनि
सायद बिर्सिएछ क्यार
सायद समयले कोल्टे फेरेछ क्यार
म पो मृत सागर जस्तो उत्तानो परेर नाङ्गो आकाश लियाली रहेछु ……
एउटा आँखै डिल बाट हराएको आकृति खोज्दै
काल्पनिक पिरामिड ठड्याएर
याद,सम्झना,अतित ताजा राख्न तल्लिन छु
यदाकदा,
आँशुका आहालमा अझै पनि छट्पटी रहेछ,
यो मन………
हतासिएको हृदयलाई
थुम्थुम्यौदै आफैले ढाडस दिन्छु
हो,
गल्ति मेरै थियो,
सतप्रतिसत गल्ती मेरै थियो
ढुंगा माथी प्रित बर्षाएर
भित्रैसम्म रुझ्यो होला सम्झनु गल्ति मेरै थियो
अस्मिता अर्पण गरेर
अश्रु धारा तर्पण गरेर
बिश्वासको पुष्प गुच्छा चढाउनु
गल्ति मेरै थियो,
बगरको होस कि शिखर टुप्पाको
चिल्लो होस कि कुँदिएको
आखिर ढुंगा केवल ढुंगा नै हुन्छ
फगत आफ्नै मनलाई अन्धाकारमा राख्नु गल्ति मेरै थियो गल्ति मेरै थियो………
दोलखा नेपाल
हाल दक्षिण कोरिया