दस बर्षमा कोरियनसँग विवाह गरेर आउने पन्ध्र विदेशी महिलाको हत्या
सन् २००७ यता दक्षिण कोरियामा १५ जना कोरियनसँग विवाह गरेर आएका विदेशी महिलाले घरेलु हिंसाका कारण ज्यान गुमाउन परेको छ । साथै धेरै महिलाले बिभिन्न प्रकार घरेलु हिंसा भोगिरहेको कोरियन महिला मानव अधिकार सेन्टरले जनाएको छ ।
घरेलु हिंसाको रोकथामका लागि कोरियन सरकारले भने खासै काम गर्न नसकेको र पीडित पक्षले पाउनु पर्ने कानुनी र अन्य सहयोग समेत एकदमै कम पाएको देखिएको छ । कोरियामा विहे गरेर आउने विदेशी महिलाले डरधम्की र भाषिक समस्याका कारण आफुले भोगिरहेको समस्या भन्न नसकेको अध्ययनले देखाएको सेन्टरले जनाएको छ ।
कोरियामा अझै घरयासी झगडालाई समान्य रुपमा हेरिने गरिएको छ । खास गरि कोरियनसँग बिबाह गरेर आउने महिलाहरुले शारीरिक र मानसिक हिंसा भोगे पनि थोरै समस्या मात्रै प्रहरीकोमा पुगेको देखिन्छ । यसरी प्रहरीकोमा हिंसाका समस्या नपुग्नुका पछाडि कोरियन पतिको डर मुख्य रुपमा देखिएको छ ।
कोरियन महिला मानव अघिकार सेन्टरले दक्षिण कोरियामा रहेका जुनसुकै देशको महिलाको समस्यालाई सहयोग गरिरहेको छ । यसले १३ वटा विभिन्न देशको भाषामा २४ घन्टा हटलाइन सेवा संचालन गरेको छ । गत बर्ष एक लाख भन्दा बढि महिलाका समस्यामा काम गरेको सेन्टरले ४० हजार भन्दा बढि घरेलु हिंसाका घटना भएको जनाएको छ ।