नघुम्ने भित्ते घडी
मौसमको मार पनि यही कोरियामा पर्नु पर्ने । गर्मीमा फतक्क पाकिएला जस्तो । जाडोमा ठाउँका ठाउँ जमिएला जस्तो । जस्तो भए पनि काम छ । गर्नु पर्छ । रातमा पनि दिनमा पनि ।
अहिले गर्मी छ । यसैका कुरा गरौ । यो बेला रातमा काम गर्दा शितल हुन्छ अलि आनन्द । घुमेका पंखाका हावाले शितल गराउँछ । हावा आउँने ठाउँ भन्दा वरपर पुग्दा अलि अलि पसिना आए पनि पंखाको हावाले शितल बनाउँछ । दिउँसो हालत खराब छ । बाहिर घाम चरक्क चर्किन्छ । तापक्रम पनि हलक्क बढ्छ । चालीस एक्चालीस डिग्री सेल्सियसमा पुग्छ । अनि सबै कुरा तातो । पंखाको हावा तातो । चिसो पानी पिउँछु भनेर थापेर ल्याएको पाँच मिनेट भएको हुँदैन पानी तातो । बनेर आउने सामान तातो । जिन्दगी तातो । यस्तो लाग्छ ज्यानलाई पैसा दिएर ‘ग्यास चेम्बर’मा बन्दि बनाए जस्तो । असिनपसिन भन्छन् क्यारे । लगाएका लुगा एकै छिनमा भ्यात्तै भिज्छ । निधारको पसिना आँखामा पस्छ । आँखा पिरपिराउँछ अनि आँशु आउँछ । शायद पसिना नै हो कि ? नजाने कति लिटर पसिना निक्लदो हो एक दिनमा । कताको चिसो शैलुङमा हुर्किएको ‘शैलुङे माइला’ कता फस्यो !
रातको काममा शितल मात्रै हो बेफाइदा कति छन् कति । प्राकृतिक नियम नै दिन कामका लागि रात आरामका लागि । प्रकृतिको नियमलाई मिच्न सजिलो कहाँ ? दिउँसो तातो छ । कोठा पनि तातो हुने भैहाल्यो । पंखा भ्याया गरेर घुमेको घुमेकै छ । सबै भन्दा बढि स्पीडमा । पंखाको सिधै अगाडी बसे अलि अलि हावा आउँछ । नत्र बिजोग छ । त्यस्सै त निन्द्रा नलाग्नेलाई गर्मीमा कसरी निन्द्रा लाग्नु ?
यता कोल्टो फेर्यो । उता कोल्टे फेर्यो । पंखालाई कहिले खुट्टा तिर ल्यायो । कहिले टाउको तिर घुमायो । बल्ल बल्ल निदायो । निन्द्रा खुल्छ । मज्जाले निदाइयो जस्तो हुन्छ । मोबाइल तानेर समय हेर्यो एक घन्टा पनि सुतेको हुँदैन । ला अब फेरि कसरी निदाउनु ? गर्मी छ ।
ओछ्यान यही हो जाडोको बेला भुई चिसिन्छ, जिउ मरि तात्दैन । अहिले यसरी तात्दैछ सुत्न सकिदैन । केही नलागेर ओछ्यानमा अलि अलि पानी छरि दिन्छु । पंखाको हावाले चिसो बनाउँछ । फेरि सुत्न प्रयास गर्छु । निन्द्रा पर्दैन । झ्यालबाट उज्यालो छिर्छ । यो उज्यालोले पो निन्द्रा नलागेको हो कि ? भएका कपडाहरु झ्याल झुन्ड्याइ दिन्छु । लौ पर्दा काम गर्यो । अलि अँध्यारो भयो कोठा । यसरी नै बित्छ दिन ।
रातको काम आठ बजे सुरु हुन्छ । कोरियामा ‘हट सिक्स’ भन्ने इनर्जी ड्रिङ्क पाइन्छ । ‘एक सट’ हानेर काम सुरु गर्यो । एक छिन् फ्रेस हुन्छ । बिस्तारै इनर्जी ड्रिङ्कको इनर्जी सकिदै जान्छ । निन्द्राको इनर्जी बढ्दै आउँछ । रातको १२ बजे भात खाने ब्रेक । भात खायो । चामाल पेटमा पुगेको हुँदैन काम सुरु भैहाल्छ । भात खाने टाइम आधा घन्टा मात्र ।
भाते निन्द्रा । कामको थकान । दिउँसो नसुतेको निन्द्रा सबै एकै चोटी आइपुग्छ । आँखा बिस्तारै कम कम खुल्छन् । अगाडी काम गर्ने साथीहरु कहिले सग्ला देखिन्छन् कहिले साना साना । कहिले देखिदै देखिदैनन् । आँखा चिम्म भएको बेला । जे भए पनि हात काममै हुन्छ ।
मेरो ठ्याक्कै अघिल्तिर झ्याल छ । झ्यालको माथी भित्ते घडी छ । दिनको काममा हुँदा ब्यस्त भइन्छ । निन्द्रा कम हुन्छ । त्यो घडी कति खेर घुम्छ थाहै हुँदैन । एकै छिनमा दिन गए जस्तो लाग्छ । अहिले रातीको कुरा बेग्लै छ । मेरो आँखा जता घुमाए पनि खाली त्यही घडीमै गएर ठोकिन्छ । दुई घन्टामा दस मिनेटको कफी ब्रेक हुन्छ । कति धेरै समय गयो होला भन्ने लाग्छ । आँखा घडीमा पुग्छ । दस मिनेट भएको हुदैन । अब नहेरौ भन्यो । एकछिनमा आँखा त्यही पुग्छ । मानौ घडी घुम्नलाई अल्छि गरिरहेको छ । सुस्तरी गर्दैछ । आँखैमा अडिएको छ भित्ते घडी वा भित्ते घडीमै अडेको छ आँखा । घडीका घन्ट, मिनेट र सेकेन्ड सुई एक छिन रोक्किएर बसे जस्तो लाग्छ । मलाई हेरेर भन्दैछ जस्तो लाग्छ खुच्चिङ पैसा कमाउने भैखाको !