गर्मी बिदा मनाउन समुद्रमा जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
गर्मी विदा नजिकिदो छ । यो बिदा कसरी मनाउने योजना बनाउनु भएको छ ? गर्मी छल्न जाने ठाँउ धेरै छन् दक्षिण कोरियामा । इभरल्याण्ड, क्यारेवियन वे, लोट्टे वल्र्ड, डियमजे जस्ता रमाइला गर्ने ठाँउ छन् ।
प्राकृतिक रुपमा रमणीय जेजु टापु, बुसानको हेउन्दे समुद्री तट, जङ्हो पोर्टमा गर्मी छुटी मनाउन सकिन्छ । गर्मीमा पानीमा पौडिनुको मज्जा छुटै हुन्छ । समुद्रको छालसंग रमाउदै गर्मी भगाउन सकिन्छ । यसरी समुद्रमा छुट्टि मनाउन कोरियन मात्र नभई विदेशीहरु पनि उत्तिक्कै जान्छन् । नेपालमा समुद्र छैन । त्यसैले पनि नेपालीहरुका लागि समुद्र नयाँ ठाउँ हो । गर्मीमा समुद्रमा पौडिनु अघि केही कुरामा ध्यान दिन जरुरी छ ।
समुद्रमा लैजाने सामान राम्रोसँग प्याकिंग गर्नुहोस् । झोला वाटर पु्रफ वा पानी नछिर्ने हुँदा तपाईका सामानहरु सुुरक्षित हुन्छन् ।
ठूलो साइजको टावल बोक्नुहोस् । पौडिएर ज्यानलाई सुख्खा बनाउन टावल चाहिन्छ ।
स्वीम सुट वा पानीले भिज्दा भारि नहुने र छिट्टै सुख्खा हुने कपडा लैजानुहोस । यस्ता कपडा बजारमा सस्तैमा पाइन्छन् । स्वीमसुट नै किन्नु भए पनि बजारमा साइज अनुसारको ५० हजार देखि १ लाख कोरियन वन सम्ममा किन्न सकिन्छ ।
समुद्रमा जाँदा घामले छाला डढ्ने हुन्छ । साथै नुनीलो पानीले समेत छालालाई असर गर्छ । त्यसैले साथमा सन्सस्क्रीम वा लोशन लान नविर्सनुहोस् । एसपिएफ ५० प्लस सन्सक्रिम लानुहोस् । मार्केटमा ८ देखि २० हजार कोरियन वनमा सन्सक्रिम पाइन्छ । क्रीम र लोशन ४५ मिनेट देखि १ घण्टाको बीचमा लगाउनुपर्छ ।
समुद्री किनाराको घाममा बस्दा टोपी र चस्मा लगाउनुहोस् । टोपीले अनुहार डढ्नबाट जोगाउछ भने चस्माले आखालाई शीतल गराउछ ।
चिकित्सकका अनुसार दिनमा ८ गिलास पानी खानु स्वास्थ्यका लागि अनिवार्य छ । किनारामा गर्मी हुन्छ । त्यसैले सकेसम्म बढी पानी पिउनुहोस् । फलफूल, जुस, स्न्याक्स पनि लानुहोस् ।
समुद्री किनाराका पसलमा म्याट किन्न पाइन्छ । पानीमा पौडिनका लागि ट्युब, छाता भाडामा पाइन्छ । त्यसका लागि नगद बोक्नुहोस् ।
मोबाइल, क्यामरा, घडी जस्ता समान छन् भने वाटर प्रुफ साना झोलाहरु १० हजार वनमा किन्न सकिन्छ ।
समुद्र किनारामा बसेर मदिराजन्य पदार्थ पिउनु हुन्छ आफ्नो नियन्त्रण हुँदासम्म मात्र पिउनुहोस् । नत्र आफैलाई असजिलो हुन सक्छ ।
साथीहरुको फोटो खिच्दा बिचार पुर्याउनुहोस । नचिनेकाहरुको फोटो खिच्दा अनिवार्य सोध्नुहोस् ।
गर्मी बिदामा जताको समुद्रमा पुग्नु भए पनि रमाइलो गर्नुहोस् । साथीभाइसँग रमाइला कुरा गर्नुहोस् । गर्मी विदाको मजा उठाउनुहोस् ।