कोरियामा अनलाइन पत्रकारिताका एक बर्ष
पत्रकार भैटोपल्न केही चाँहिदैन । मान्छे भए पुग्छ । कुनै कार्यक्रममा सग्लो ज्यान पुगे हुन्छ । भए नोट कपि झिक्यो । नभए पहिले पुगेकासँग एक पन्ना पेपर मागेर काम चलायो । लेख्नका लागि एउटा बल पेन भए पनि भयो त्यो पनि नभए यसो कतै छड्काए भयो । यो दस बर्ष पहिलेको पत्रकारिताका कुरा भए । मैले पत्रकारिता गर्दा ताकाको । अहिले त्यस्तो केही चाहिदैन । खाली सामाजिक संजाल चल्ने मोवाइल भए भैगयो ।
समयसँगै धेरै कुरा फेरिए । म फेरिएँ । समय फेरियो । मैले पत्रकारिता गर्न छाडेकै पाँच वर्ष हुनै लागेछ । छाडेकै त के भन्नु ‘एक्टिभ जर्नालिज्म’ नगरेको भन्नु पर्यो । यस बीचमा पत्रकारिताका तौरतरिका धेरै फेरिए । पहिले कक्षामा पढेको ‘वान म्यान जर्नालिज्म’ अथवा उस्तै ‘सिभिल जर्नालिज्म’ अहिले पत्रकारिताका मुख्य धारमा देखिदैछन् । स्तरीयताका कुरा पछि गरौँला । नगरे पनि हुन्छ । बेला भएको छैन भनेर चित्त बुझाउनु पर्छ ।
दस बर्ष पहिले पत्रकार भएर हिड्न त सजिलो थियो । तर समाचार प्रकाशन, प्रशारण गर्न सजिलो थिएन । भएका मिडिया हाउस आफै ‘प्याक’ थिए । तिनका आफ्नै पत्रकार भरपुर थिए । समाचार तिनैले लेख्थे । अरुले नै लेखेका भए पनि ठूला मिडियाले आफ्नै तलबी पत्रकारले लेखेको भनेर प्रकाशन, प्रशारण गर्थे । गाह्रो थियो । पत्रकारको भाउ त्यसैले बढि थियो । अहिले फेरिएको समयमा प्रकाशन, प्रशारण सजिलो छ । भरखरको भरखर आफ्नै सामाजिक संजालमा लाइभ गरेर पुरै ‘भाइरल’ हुने धेरै छन् । टेलिभिजन हालत उस्तै छन् । अब घरमा टिभीमा टाँसिएर बस्ने दिन सकिए । त्यसैले अहिले युट्युवले बजार पिटेको छ । नेपाली टेलिभिजनको दर्शक कति छ ? भनेर स्वतन्त्र परिबेक्षण कतै भएको छैन । दिन भरि निरन्तर आउने टिभी कतिले हेर्दो हो ? युट्युवमा नेपाली भिडियो एक करोड भन्दा बढि हेरिएका छन् ।
फेरिएको दिनका पत्रकारका चुनौती अनेक छन् । धेरैलाई लाग्छ अब अनलाईन पत्रकारिता भनेको ‘कपि पेस्ट’ जाने पुग्छ । अरु पछि सिक्दै गरौला । नसिके पनि हुन्छ । त्यसैले एक बर्षको होस्टिङ चार्ज, डिजाइन चार्ज, मेन्टेनेन्स चार्ज तिर्यो । एउटा डोमोन नेम खोज्यो । अनि सुरु गर्यो ‘कपि पेस्ट’ अनलाईन जर्नालिज्म । आफैले लेख्न खोज्न त सिप चाहिन्छ । पैसा हुँदैमा डोमोन, स्पेस किन्न सकिए पनि सिप किन्न सकिन्न । त्यसैले गाह्रो हुन्छ । अनि जे पायो कपि पेस्ट गर्दा गर्दा अचम्मको कपि पेस्ट अनलाईन जर्नालिज्म सुरु हुन्छ ।
बिदेशमा पुगेर अनलाइन चलाउने धेरै छन् । कोरिया अछुतो हुने कुरै भएन । पैसा कमाएकै छ । नाम कमाउने धोको छ कान्छाको । अनलाइन न्युज पोर्टल चलाऔ । पत्रकार भए पछि कसो नाम नचल्ला ? सजिलो तरिका सबैलाई लाग्छ । कतिको नामै नसुनेका अनलाइन छन् । ती आफैलाई पत्रकारिताका पी खरेल भन्दा बढि भन्ठान्छन् । देश तिनकै अधिनमा छ जस्तो । कोरिया त कोरिया भैहाल्यो । तिनले साँच्चै सिपज्ञान भएकालाई मुख देखाउन हुने छाड्दैनन् । पत्रकार भन्न धक लाग्ने बनाउँछन् ।
अरु त अरु भैहाल्यो । महिनाको दुई लाख नेपाली थाप्ने कोरियाका अनलाईन पत्रकारले दुई तीन मान लिएर लेख्ने पनि रहेछन् । ‘पेड न्युज’ हेर्यो हाँस्यो । जाबो कति कति कमाउँदा त पुगेन । महिनाको एउटा न्युज लेखेर दुई मान लिएर जिन्दगीमा के हुँदो हो ? कति पुग्दो हो ? लेख्ने सिप बढ्यो भनौ भने आधारभुत समाचारका गुण पनि छैनन् समाचारमा । अझ खोज मूलक अरे । धन्न जिन्दगी । ‘बाँच्नु पर्छ अनेक देखिन्छ’ त्यसै भनिएको होइन रहेछ ।
कोरियामा आए पछि फोनिज कारियामा लेख्न थालेको ठ्याक्कै एक बर्ष भएछ । कामले थलाए पनि लेखियो । निन्द्राले झुलाए पनि लेखियो । एक बर्षमा बाउन्न हप्ता हुन्छ । तीन हप्ता लेखिएनछ । दुई हप्ता कम्प्युटरले काम गरेन । एक हप्ता फोनिजको डिजाइन चेन्ज भयो । राम्ररी अनलाइन चलेन । मैले पनि लेखिन । यसरी निरन्तर लेख्दा के कस्ता लेखिए ? कति स्तरीय थिए वा शब्दका थुप्रो मात्रै ? यी प्रसंग आफ्नै ठाउँमा छन् ।
एक बर्षमा सालाखाला ३२ हजार शब्द लेखिए छन् । आधा पुस्तक जत्रो । पत्रकार तथा लेखक मोहोन मैनालीले लेखेको पुस्तक ‘मान्ठा डराएको जुग’ लेख्न ७० हजार शब्द खर्चिका छन् । त्यसैको आधारमा आधा पुस्तक जत्रो भनेको हुँ । यसमा भएका बिषय आफ्ना हुन् । मेरा जस्तै धेरैका आफ्ना । कोरियाको कहर खेप्नेका आफ्ना । कतिले पढे म यसै भन्न सक्दिन । कतिले सम्झिए त्यसको पनि हिसाब छैन ।
यी सबै शब्दहरु लेखेर म राम्रो अरु नराम्रा भनेको होइन । पत्रकारलाई त्यस्तो भन्ने हिम्मत मसँग हुने पनि भएन । खाली अलि अलि त समाचारको ढाँचा होस् । पत्रकारिताका तत्व होस भनेको मात्रै हुँ । केही ज्ञान भएकाले काम गरे पत्रकारकै शान बढ्दो हो । नत्र ‘कपि पेस्ट जर्नालिज्म’ले धेरै साँच्चैको राम्रो पत्रकारलाई लाज लाग्ने बनाउनु बाहेक केही गर्ने वाला छैन ।