एनसीसी सह-कोषाध्यक्षको औद्योगिक दुर्घटनामा मृत्यु
दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति एनसीसीका सह-कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ । जिन्जुमा रहेको कुखराको फार्ममा काम गर्ने क्रममा शनिबार दुर्घटनामा परेका थिए । दुर्घटना पछि उपचारका लागि अस्पताल भर्ना गरे पनि आइतबार बिहान उनको ज्यान गएको एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन ।
घिमिरे गत हप्ता मात्रै एनसीसीमा सह-कोषाध्यक्ष निर्बाचित भएका थिए । ३० बर्षिय अबिबाहित उनी सत्ताइस महिना पहिले कोरियामा आएका थिए । आठ महिना पहिले घिमिरे कम्पनी परिबर्तन गरि सो कुखरा फार्ममा काम गर्न भएको सँगै काम गर्दै आएका श्री प्रसाद श्रेष्ठले बताए । ‘कम्पनीमा पाँच जना नेपालीले काम गर्दै आएका छौ । खासै खतरायुक्त काम त होइन । हामीलाई पनि विस्वास नै लागेको छैन । कुखराको सुली बस्ने ठाउँमा डोरी हुन्छ । शनिबार मोटर नचले पछि हातले डोरी घुमाउने क्रममा दुर्घटना भएको हो । पहिले हामीले फलामले लागेको हो कि भन्ने लागेको थियो तर डोरी नै रहेछ ।’ श्रेष्ठले भने ।
‘सोमबार बिहान राजदुताबास र हामी घटनास्थल तिर जान्छौ । के भएको रहेछ बिस्तृत रुपमा बुझ्छौ ।’ एनसीसी अध्यक्ष केसीले भनिन् ।
नेपालमा मृतकको परिवारलाई दुर्घटनाको जानकारी दिइसकिएको राजदुताबासले जनाएको छ ।