लाख कमाउने सपनाको देश कोरिया …अनि यस भित्रको वास्तविकता
तपाइले सोचेको र वास्तविक कोरिया बीच के भिन्नता छ ?
पछिल्लो समयम रोजगारीको लागि धेरै नेपाली युवाहरुको रोजाइमा परेको गन्तब्य मुलुक मध्येको एउटा देश हो दक्षिण कोरिया । थोरै लागतमा राम्रो कमाइ हुने देश भएकोले नै कोरियाको गन्तब्य धेरै नेपाली युवाहरुको रोजाइमा परेको देखिन्छ ।
कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) लागु भएका १६ देशको लागि हरेक बर्ष कोटा निर्धारण गर्ने गर्दछ । गत बर्ष नेपाललाइ छुट्टाइएको कोटा केहि निराशाजनक भएपनि सन् दुइहजार अठारको लागि भने दक्षिण कोरियाले ईपीएसमार्फत लैजाने कामदारको कोटामा वृद्धि गरेको छ । कोटा वृद्धि भएसँगै धेरै नेपाली युवाहरु लाख कमाउने सपनाको देश कोरिया आउन आतुर छन् ।
हुन त यो कोटा भनेको भाषा परिक्षा उतिर्ण गराउको लागि मात्रै निर्धारण गरिएको हो । भाषा परिक्षा पास गर्दैमा कोरिया जाने ग्यारेण्टी भने छैन । तर, कोटा वृद्धिले नेपालीहरु कामदारको रुपमा उल्लेख्य संख्यामा कोरिया पुग्ने अनुमान भने गरिएको छ । छनोट प्रक्रियाको पारदर्शिता ,स्वदेशी तथा प्रवासी कामदार दुवैलाई समान कानुन आदि कुरालाई हेर्दा इपिएस प्रणालीलाइ सकारात्मक नै लिनु पर्दछ । कामदार छनोट तथा पठाउने कार्यमा निजी क्षेत्रको कुनै सहभागिता नरहनु नै यसको मुख्य बिसेषता हो ।
समग्र रुपमा हेर्दा इपिएस पद्दति सकारात्मक नै देखिएपनि यसमा भएका केहि खराब बुँदाका कारण प्रवासी मजदुर सधै अफ्ठ्यारोमा पर्दै आइरहेका छन् । प्रवासी कामदारलाई अफ्ठ्यारोमा पार्ने सबैभन्दा खराब नियम भनेको कामदार जतिसुकै अफ्ठ्यारोमा परेतापनि कम्पनि मालिकको इच्छा बिपरित कामदारले चाहेर यहाँ कम्पनि परिबर्तन गर्न पाइदैन।
कोरियामा हाल सम्म २० लाख भन्दा धेरै प्रवासी मजदुरहरु छन् भने नेपाली कामदारहरु करिब ४५ हजारको संख्यामा छन् । यहा प्रवासी मजदुरले काम गर्ने भनेको उत्पादनमुलक क्षेत्र ,निर्माण तथा कृषि क्षेत्रमा हो । तर नेपाली कामदारको लागि भने निर्माण क्षेत्रमा काम गर्ने अनुमति छैन । कोरिया सरकारले आफ्नो देशको सबै नागरिकलाइ रोजगार पुर्याएर बिदेशी कामदार बोलाएको भने होइन । प्रबिधि बिकाश र बिस्तारको लागि विश्वकै अग्रणी स्थान ओगट्ने दक्षिण कोरियामा अझै पनि १० प्रतिशत भन्दा धेरै युवा बेरोजगार छन् ।
यदि तपाइँ हरु कोरियन भाषा परिक्षाको तयारीमा हुनुन्छ ,वा भाषा परिक्षा उत्तीर्ण गरेर कोरिया जाने योग्य सुचिमा परि कुराइमा हुनुन्छ भने शारीरिक र मानसिक रुपमा म कोरियाको लागि योग्य छु भन्ने मानसिकता बनाउन जरुरि छ । कोरियाको रहन सहन ,वाताबरण ,कार्य शैली तपाइहरुले सोचेको भन्दा पक्कै पनि धेरै फरक छ । अब चर्चा गरौ कस्तो छ कोरिया ।
कोरियनहरु :
कोरियनहरु मिहनेतलाइ ठुलो मान्दछन । मेहनत र पसिनाको भरमा देशको बिकास गर्न सकिन्छ भन्ने कोरियनको मान्यता छ । कोरियनहरु आफ्नो देश प्रति निकै गर्ब गर्दछन र निकै बफादार पनि हुन्छन । प्राय जसो कोरियनले विदेशीले म ठुलो भनेको रुचाउदैनन , उनीहरुलाई तिमीहरु ठुला हौ भन्दिए खुसि हुन्छन । कम्पनि वा कृषिमा काम गर्ने कोरियनहरु खासै पढेलेखेका हुदैनन्। उनीहरुलाई कोरिया बाहेक बाहिरी संसारको त्यति राम्रो ज्ञान पनि हुदैन तर जिज्ञासु भने असाध्यै हुन्छन । कामको शिलशिलामा आफु बसेर अरुलाई काम लगाउनु पर्छ भन्ने मान्यता कोरियनको हुदैन बरु आफ्नो साथमा अरुलाई पनि काम गराउनु पर्छ भन्ने सोच राख्दछन। हाँसो ,मजाक र ठट्टा गर्न कोरियनहरु माहिर हुन्छन , काम गर्ने क्रममा यिनिहरु संग हासो मजाक र ठट्टा गर्दै गरियो भने समय गएको पत्तै हुदैन । ठुला मान्छेहरुले आदर र सत्कारको भने निकै ख्याल गर्छन । कहिले काही छिट्टो रिसाउने यिनीहरुको बानि हुन्छ तर एकछिनमै हासेर बोल्न थाल्दछन । सबै भन्दा सानो उमेरको कामदारलाई हाँसो मजाकमा उडाउने यिनीहरुको बानि हुन्छ l तर ब्याक्तिको अनुपश्थितिमा अनाबस्यक कुरा काटेको उनीहरु मन पराउदैनन l सानो तिनो गल्तीलाई पनि ढाकछोप नगरी ठाउँ को ठाउँ औल्याउने यिनीहरुको मुख्य बिशेषता हो l प्राय बिदाको बेलामा बाहिर खाना खानु ,घुमफिर गर्नु ,रमाइलो गर्नु कोरियनहरुको वानी हुन्छ।
कोरियाको काम:
कोरियाले बिसेष गरि उत्पादन मुलक र कृषि गरि दुइ क्षेत्रमा नेपालि कामदार लिदै आएको छ । उत्पादन मुलक क्षेत्र भन्नाले नितान्त साना तथा मझौला कम्पनिहरुमा गरिने काम हो l कोरियाका धेरै जसो कम्पनि हरुमा दिन र रात दुवै सिफ्टमा काम हुन्छ । त्यसैले प्रायः कम्पनीमा आलोपालो मिलाई सात दिन दिउँसो तथा सात दिन राति काम गर्नुपर्ने हुन्छ । अधिकांश कम्पनीमा चार-पाँच घण्टा ओभरटाइम अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । काममा लापरवाही वा ढिलाइ गरेमा रोजगारीमा समस्या पर्ने भएकोले कोरियामा कामदारको रुपमा जानेले म श्रम गर्न जाने हो र जुनसुकै समयमा श्रम गर्न तयार हुनुपर्छ भनेर बुझ्नु जरुरी छ । प्राय जसो कम्पनि हरुमा आवासको ब्याबस्था भने गरिएको हुन्छ l कुनै कुनै कम्पनि त यस्ता सम्म पनि हुन्छन कि, कम्पनि मालिक र एकजना बिदेशी कामदार मात्र काम गर्ने हुन्छन l कडा परिश्रम गर्नु पर्ने भएपनि मिहनेत अनुसारको कमाइ भने कोरियामा छ l उत्पादनमुलक क्षेत्रमा काम गर्ने कामदारले सरदर मासिक एक देखि डेड लाख रुपैया सम्म कमाउन सक्दछन l उत्पादनमूलक क्षेत्रमा अधिकांश काम भनेको फलाम घोट्ने, पगाल्ने, पिट्ने, रिसाइक्लिङ गर्ने , कपडा बनाउने ,प्लास्टि वाट आकार निकाल्ने , क्यामिकल बाट सामानको प्रसोधन गर्ने रङ भर्ने , प्रेस बाट तयारि समान निकाल्ने तथा बिभिन्न किसिमका प्याकिंग का साथै खानाका आइटम तयार पार्ने आदि पर्दछन ।
त्यस्तै कृषिमा खासगरी सिलामको पात टिप्ने , च्याउ खेती, विभिन्न तरकारी तथा फलफूल उत्पादन तथा प्रसोधन पर्छन् l त्यस्तै, पशुपालनतर्फ गाई फार्म, सुंगुर फार्म, घोडा फार्म लगायत कुखुरा पालनतर्फ समेत काम गर्नुपर्ने हुन्छ l कृषिमा प्रायजसो फिनिल हाउस (प्लाष्टिकको घर )भित्र काम गर्नु पर्ने हुन्छ l जाडो गर्मि ,फोहोर जे जस्तो भएपनि म काम गर्न सक्षम छु भन्ने मानसिकता बोकेर मात्र आउदा काममा सफल हुन सकिन्छ l त्यस्तै यो क्षेत्रमा काम गर्दा तलब स्केल, ओभर टाइम तथा बिदाको समय को लागि कुनै पनि नियम कानुन भन्दा पनि कामदार र मालिक बिचको र आपसी समझदारी बाट निर्धारण गर्ने चलन छ l नेपालमा पठाइएको सम्झौता पत्र भन्दा यहा प्रवेश गरिसकेपछिको केहि कुरामा फरक भने अबस्य पर्न सक्छ ।
हावापानी तथा वाताबरण
कोरियाको हावापानी प्राय सबैठाउँको एकनासकै हुन्छ । लगभग ६ महिना जति जाडो हुन्छ lजनवरी र फेब्रुरीमा प्रायजसो बाक्लो हिउँ पर्ने हुनाले तापक्रम तल झरेर माइनस १० देखि १५ डिग्री सम्म पुग्छ भने यो समयमा साइबेरिया वाट आउने चिसो हावाले जनजीवन अत्यन्तै कष्टकर बनाउछ l नोभेम्बर वाट सुरु भएको जाडो अप्रिलमा आइपुग्दा अलि कम हुन् थाल्छ l अप्रित र मे महिनामा कोरियालाई प्रकृतिले निकै सिंगारेको हुन्छ l रंगीबिरंगी फुलहरुले ढाक्न थालेपछि यहाको रौनक नै अर्कै देखिन्छ l जुलाई र अगष्ट महिना कोरियामा गर्मि सिजन मानिन्छ ,यो समयमा तापक्रम बढेर कहिले काही ३८ / ३९ डिग्री सम्म पुग्छ भने सेक्टेम्बर तथा अक्टोबर महिना न जाडो न गर्मि ठिक्कको मौसम पर्दछ l बर्षमा छ महिना सम्म जाडो हुने र कहिले काहीं काम पनि बाहिर गर्नु पर्ने हुदा जाडोको तयारि गरेर कोरिया प्रवेश गर्दा उपयुक्त हुन्छ ।
खानपिन तथा रहन सहन
कोरियामा प्रायजसो दिनमा तीन पटक खाना खाने चलन छ । यहा भातको साथमा बिभिन्न किसिमका भेराइटी हरु खाने चलन छ । बन्दा ,मुला तथा एक किसिमको साग लाइ खादेर आमिलो बनाइएको अचार कोरियन भाषामा किम्छी भनिन्छ ,कोरियामा किम्छी अत्यन्तै लोकप्रिय र हाइजिनिक पनि मानिन्छ l साग ,ब्रोकाउली आदिलाई नपकाइ सलाद्को रुपमा खाने चलन छ l बुंगुर ,कुखुरा ,गाइ समेतलाइ मासुको रुपमा प्रयोग गरिन्छ l कम्पनि तर्फ धेरै जसो कम्पनिहरुले दिउसोको खाना कम्पनि वाटै खाने ब्याबस्था मिलाएका हुन्छन l केहि दिनको लागि स्वाद मिठो नलागेपनि समग्रमा कोरियन खाना नेपालीले खान नसक्ने हुदैन l आफुले खान नचाहेमा गाइ तथा बुंगुरको मासु खानै पर्ने बाध्यता भने हुदैन l सामुद्रिक खानाको प्रयोग पनि उत्तिकै गरिन्छ ।
यहाको रहन सहन तथा भेष -भुषा पाश्चात्य संस्कृति संग मिल्दो जुल्दो छ l यहाँ महिला हरुले छोटो कपडा पहिरनु लाइ त्यस्तो कुनै ठुलो कुरा मानिदैन l कतिपयले महिला हरुको छोटो कपडा देखेर पछाडी वाट लुकेर फोटो खिचेको कारण अफ्ठ्यारोमा परेका उदाहरणहरु पनि प्रसस्तै हुनाले कसैले देखेको छैन भनेर झुक्याएर फोटो खिच्नु हुदैन l यस्तो गर्नुलाइ कोरियामा गैह्र कानुनि मानिन्छ । धेरै जसो ठाउमा सिसिटिभी राखिएको हुनाले होसियार हुनु जरुरि छ।
अब चर्चा गरौ कोरियामा आइ पर्ने केहि समस्या हरु ।
भाषाको समस्या
कोरियामा नेपालीहरुले भोग्नुपर्ने प्रमुख समस्या भाषा हो । देश जति सुकै बिकसित भएतापनि सामान्य बोलीचालीमा अंग्रेजी भाषालाई खासै महत्व दिइदैन l यतिसम्म कि कतिपय अस्पतालमा डाक्टरले समेत अंग्रेजी भाषा बुझ्दैनन् l भाषामा दक्ष हुन सकेमा कोरियामा काम गर्न सहज हुन जान्छ । भाषाको समस्याका कारण बिरामी परेको बेला राम्रो उपचार नपाउने ,कम्पनीमा काम गर्दा धेरै कुरामा गल्ति भएर दोष पाइने गरेका उदाहरणहरु पनि प्रसस्तै छन् l त्यसकारण कोरिया जानु अगाडि कोरियाको सामाजिक, सांस्कृतिक तथा औद्यौगिक क्षेत्रको वारेमा यथेष्ट रुपमा अध्ययन गरेमा राम्रो हुन्छ । यसका साथै आफूले त्यहाँ पुगेर कस्तो काम गर्नुपर्ने हो र त्यो काम गर्न आफू सक्षम छु कि छैन भन्ने विचार गर्नु आवश्यक छ ।
मानसिक तनाब
कोरियामा पछिल्लो समयमा मानसिक तनाबमा परि आत्महत्या गर्नेको संख्या बढ्दो छ l नेपालमा उच्च शिक्षा हासिल गरि कोरिया आएका युवा युवती हरुलाइ यहाँ आफ्नो योग्यता अनुसारको काम नहुनु नै प्रमुख मानसिक तनाबको कारण हो l आफुले जति सुकै योग्यता हासिल गरेको भएपनि कोरियामा म, नितान्त लेबर गर्न जाने हो भन्ने मनासिकता बोकेर जान जरुरि छ l कोरीयाली रोजगारदाताहरु कामलाई माया गर्छन् । अर्थात् मिहिनेती मान्छेको इज्जत गर्छन् । तपाईं जति राम्रो काम गर्नुहुन्छ, त्यति नै माया पाउनुहुन्छ । यसको विपरीत, काम नगर्नेहरु सधैं समस्यामा पर्छन् । त्यसैले कोरियामा मेरो सबैभन्दा ठूलो पुँजी नै श्रम हो भन्ने बुझनु आबश्यक छ l
नेपाल पैसा पठाउन असहज
कोरियामा पैसा कमाउन जति गार्हो छ त्यो भन्दा गार्हो नेपाल पैसा पठाउन छ भन्दा फरक नपर्ला l पसिना बगाई दुख गरेर कमाएको पैसा नेपाल पठाउन बैंकिंग प्रणाली त्यति सहज छैन l हुन त नेपालका केहि बैंक हरुले इजी वन एकाउन्ट मार्फत सिधै नेपाल पैसा पठाउने ब्याबस्था मिलाएका छन् l तर एकातर्फ कोरियाको काम सधै व्यस्त रहने अर्को तर्फ बैंक हरु सुगम केन्द्रित हुने गर्दा अलि बिकट ठाउँमा काम गर्नेहरुको लागि अझै पनि बैंकिंग प्रक्रिया सहज हुन सकेको छैन l सहज रेमिट्यान्सको अभाबले गर्दा अधिकांस नेपाली हरु अबैध हुण्डी मार्फत जोखिम मोलेर पैसा पठाउन बाध्य छन् l समय समयमा हुण्डी वालाले नेपाली हरुको करोडौ रुपिया उठाएर फरार भएका उदाहरण हरु पनि प्रसस्तै छन् ।
दुर्घटना
प्रबिधि बिकासको चरमचुलीमा रहेको देश दक्षिण कोरियामा कम्पनीमा अत्याधुनिक तथा स्वचालित मेसिनहरु द्वारा काम गर्नु पर्ने हुन्छ l मेसिन सम्बन्धि राम्रो ज्ञान नभई काम गर्दा दुर्घटनामा परि अंगभंग हुने तथा ज्यान जाने समेतका घटनाहरु धरै घटेका पनि छन् l त्यसकारण कम्पनीमा प्रवेश गरिसकेपछि आफुले काम गर्ने मेसिनको वारेमा राम्रो संग अध्ययन गर्न जरुरि छ l आफुले नजानेको कुरा संगै काम गर्ने कोरियन संग सोधी राम्रो संग बुझेर होसियारि पुर्बक काम गरियो भने दुर्घटना वाट बच्न सकिन्छ l कम्पनिमा काम गर्दा सुरक्षा साधनहरु, आबश्यकता हेरिकन जस्तै मास्क ,पन्जा ,बेल्ट ,हेलमेट आदि अनिवार्य प्रयोग गर्नु पर्दछ ।
अर्को कुरा कोरियामा सवारी दुर्घटनामा पनि धेरै नेपालीले ज्यान गुमाएका छन् l यहाँ सवारी साधन चलाउने तरिका नेपालको भन्दा उल्टो छ l सवारी साधनको अत्यधिक चाँप रहने हुनाले ट्राफिक नियम राम्रो नबुझी सवारी हाक्नाले दुर्घटना पर्ने सम्भावना रहन्छ l सकेसम्म आफु निपूर्ण नभई सवारी साधन नचलाउनु नै राम्रो हुन्छ l यसको अलावा कोरियामा आइपर्ने अन्य समस्या हरुमा बिरामी पर्दा राम्रो उपचार नपाउनु ,कहिले काही बिदेशी संग एकै कोठा सेयर गरेर बस्नु पर्ने आदि हुन सक्छन l
यी त भए कोरियामा आइपर्ने सम्बाभित समस्या हरु ति समस्याको समाधानको लागि के गर्ने त ?
कोरियामा जातीय ,क्षेत्रिय, तथा राजनीति गरि सत्तरी भन्दा धेरै नेपाली संघसंस्था छन् , यहाँ आबश्यक परेको बेलामा सहयोग गर्ने समाजसेवीको पनि कुनै कमि छैन lप्रबासी सहयोग केन्द्र हरु (माइग्रेन्ट सेन्टर ) एनआरएन तथा एनसिसि जस्ता ठुला संस्था हरुले पनि बिभिन्न तरिकाले दुखमा परेका नेपाली हरुलाई सहयोग गर्दै आइरहेका छन् l त्यस्तै कोरिया सरकारले मान्यता दिएको एकमात्र बिदेशी संस्था हो प्रवासी नमजदुर युनियन (एमटियु) l सदा प्रवासी मजदुरको हक अधिकारको लागि लडीरहेको उक्त संस्थाले पनि प्रवासी मजदुरलाइ अफ्ठ्यारो पर्दा सहयोग गर्दै आइरहेको छ l त्यसकारण कोरिया प्रवेश गरिसकेपछि एमटियुको सदस्य बन्नु जरुरि छ ।
त्यस्तै नेपाली संघ संस्थाले कोरियाको लामो बिदाको अवसर पारेर बिभिन्न मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्दछन उक्त कार्यक्रम हरुमा आफुलाई सरिक गराई मनोरंजन लिन सकियो भने केहि भएपनि मानसिक तनाब कम हुन जान्छ l अर्को कुरा कोरियामा धेरै बर्ष बिताई सकेका उच्च ब्याक्तित्व हरुसंग चिनापर्ची र भेटघाट हुने अवसर पनि मिल्छ उक्त कार्यक्रम हरुबाट l बिदाको समयमा कोठामै बस्दा झन् मानसिक तनाब बढ्ने हुनाले यसो साथीभाई संग घुमफिर तथा रमाइलो गर्न सकियो भने पक्कै पनि कोरियाको बसाइलाई सुखद र सहज बनाउन सकिन्छ l समग्रमा भन्नु पर्दा शारीरिक र मानसिक रुपमा आफुलाई तयार गरि कोरिया प्रवेश गरियो भने यहाको बसाइलाई सुखद बनाउन सकिन्छ ।
(दक्षिण कोरियाको बसाइ र अनुभबको आधारमा पत्रकार किशन गौतमद्वारा लेखिएको लेख)