पोमुको काव्यत्मक जग–लेप्मुहाङको डुङ्गा
विश्वप्रख्यात कवि विलियम वर्डस्वर्थले त्यसै भनेका रहेनछन्, ‘अनुभूतिका स्वःस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ त्यसैले, कविताबारे हठात् बोल्नु ठट्टा जस्तै लाग्छ । त्यस्तो ठट्टा सृजना र सर्जक दुवैलाई अप्रिय हुनजान्छ । यदि कवितामाथि बोल्ने रहर भए प्रथमतः यसको सामीप्यता र गहिराईमा पुग्ने कोशिस गर्नु पर्छ । अनुभूतिको अवगत भएपछि मात्रै बोल्नु न्यायोचित हुन सक्छ । तर, कविता लेख्ने र बुझ्ने दुवै क्षमता नभएको प्राणी स्वयं म आफै हुँ । लेप्मुहाङको डुङ्गाबारे केही बोल्न मन हुटहुटिएको निकै अघिदेखि नै हो । यतिखेर बोल्ने संयोग इतर साहित्य मेलाको पुस्तक समीक्षा सन्दर्भले जुराएको छ ।
मेरो हातमा बाडुली र सुदूर सम्झना–स्वप्निल स्मृति, हाँगामा झुण्डिएको आत्मकथा–नदीश, अल्पविराम–समाश्री, युद्धले भुलेको बाँकी युद्ध–सुजन सेलिङ, पालमको राजकुमारी–दिलदुःखी जन्तरेलगायत केही लोभलाग्दा पुस्तकहरु छन । यसभित्र र बाहिरबाट छानेर एक पुस्तकको बारेमा आफुलाई लागेको अनुभूति राख्ने काम दिएको छ–नेपाल पोएट्री ग्रुप, इतर आवाज साहित्य समाजले । दक्षिण कोरियाबाट उठान भएको इतर आवाज फरक आवाजको अभियान हो । माथि भनिएझै कवि र कविता नबुझी बोल्नु बेकार हुन्छ । सर्जकमाथि अन्याय हुन्छ । तसर्थ, कोरियामा रहेर कविताकृति र कविको अन्तरङ्ग हृदयसँग केही नजिकिन पाएकोले बोल्नलाई लेप्मुहाङको डुङ्गा छानेँ ।
साकेलाको मेलामा एकबर्ष अघि लेप्मुहाङको डुङ्गा भेटेको हुँ । एउटा लेखमा यसलाई पढ्ने मौका पाएकोमा खुशी व्यक्त गरेको थिएँ । किरात लिम्बु समुदायको महात्मा लेप्मुहाङको मिथकीय रोचक कथा छ । पृथ्वीमा चालीस दिन चालीस रात जलप्रलय भएको बखत अन्ततः लेप्मुहाङको डुङ्गामा रहेका केही असल धर्मात्माहरु मात्रै जिवित रहन्छन । जसलाई लिम्बु मिथले मानव जीवनको अवतरण हो, भनेको छ । यही सन्देशमूलक मिथकीय नाम लेप्मुहाङको डुङ्गाबाट कवि पराजित पोमुले कविता सङ्ग्रह ल्याएका छन । कविताको भाषाशैली, शीर्षक र दृष्टिविन्दुमा पोमु विशेष चनाखो देखिन्छन । लिम्बु साँस्कृतिक सौन्दर्यचेत र समुदायको सभ्यतालाई प्राङ्गारिक पस्कन सफल उनले कवितामा विश्ववन्धुत्वको विगुल फुकेकाछन ।
कविता लेख्नलाई केही न केहीको प्रभाव चाहिन्छ । कवि पोमुलाई आफ्नै भाषा संस्कृति, मिथकीय लोकोक्ति र केही समसामयिक कालीन सृजनाको प्रभाव देखिन्छ । तसर्थ, सिर्जना सुन्दर र सर्वप्रिय हुँदाहुँदै पनि केही रसायनबाट छुटकारा पाउन सकेको छैन । यति हुँदाहँुदै पनि उनको कवितामा आफ्नैपनको घाम मुसुक्क हाँसेको छ । यसर्थ, उनले फरक परिचय पाउनेछन ।
कवि पोमुको कविता पढिरहदा प्रेम वियोगमा पर्छु । नाक चिन्तन आउँछ । विधवा भएँ । मेरो पहिचान खोसियो । राज्यद्धारा अनागरिक घोषित भएँ । अधिकारको लागि आवाज उठाएँ । देशद्रोही भएँ । लिम्बुवानको एउटा आदिम इतिहासको एतिहासिक राज्यबाट साम्प्रदायिक बनाईएँ । लेप्मुहाङको डुङ्गामा एउटा नियात्रा विशाल जनसागर अनेकानेक सवार, सङ्क्रमणकाल, सन्धिकाल, अन्यौलग्रस्त लक्ष्य, डुङ्गाभित्रै अराजकता, पुरातन, यथास्थिति र परिवर्तनका खिचडी, जलप्रलय, ज्वारभाटा र छालसँगै द्धन्द्ध, अन्तरद्धन्द्ध उठ्छन, बग्छन् । त्यो सँगै बगिरहेँ । बगिरहेँ ।
सिङ्पो बुक्सले बजारमा ल्याएको कृतिभित्र पचास कविता रहेकाछन । तर, सैयौं सन्दर्भ, क्षेत्रका मानव जीवनमा घटित घटनाहरुको सफल चित्रण गरिएको छ । समकालीन लेखनधारलाई पछ्याउदा पछ्याउदै नयाँ प्रयोगको कसरत गर्ने जमर्को गरेर अघि बढ्न खोजेकाछन । यो सामान्य देखिए पनि समसामयिक लेखनमा नयाँ हस्तक्षेपको प्रयास हो । यसलाई साधनामा निरन्तर जोड्नसके नितान्त प्रभावकारी भएर जानसक्छ । किन कि, यसले नौलो अनुभूति दिएको छ । यसलाई विकास, विस्तार गर्न कविको निरन्तर साधनाको आवश्यकता पहिलो शतृ हुन आउँछ । प्रत्येक कवितामा अक्षर थोरै छन । तर, कविता धेरै छन । शब्द–शब्दमा काव्यीय रस–स्वादन दिन उत्कट प्रयास भएको पाइन्छ । यसर्थ, यस सङ्ग्रहलाई कवि पराजित पोमुको काव्यत्मक जग मान्न सकिन्छ ।
यथार्थता, कल्पना, अतिकल्पना र संवेगद्धारा गरिने जीवनको व्यख्यालाई कविता मान्ने आधार चाहिन्छ भने यो कविता सङ्ग्रह प्रमाणको रुपमा पेश गर्न सकिन्छ । कविले आफ्नो आँखालाई गौण राखेर समाजका प्रत्येक पात्र र प्रवृतिको आँखा प्रधान बनाएर कवितामार्फत हेर्ने कोशिस गरेको पाइन्छ । यही नै कविको मूख्य सवल पाटो हो । सृजनामा भावनाले जुन तहमा पु¥याउछ, त्योभन्दा अर्को तह पुग्न कला, प्रतिभा र विशेषगरी मिहीन साधना चाहिन्छ । यो कुरा कविले मनन गरिसकेको हुनसक्छ । पहिलो कविताकृतिबाटै सशक्त उपस्थिति जनाउन सफल कवि पराजित पोमुले समाजका विद्यमान असमानता, विभेद र वेइमानीप्रति तीखो व्यङ्ग्य र दुःख प्रकट गर्दै पृथ्वीको साझा घरभित्र कोरिएका कित्ताकाट असमान रेखाहरु मेट्न नवयुगीन समयलाई कविता मार्फत आव्हान गरेकाछन ।
कित्ताहरु,
मनको अमिनले नाप्न खोज्छ
ममाथि कान्लाहरु उभिन्छन्
कदले भूगोलको क्षितिज जोख्छ
म जहाँको त्यहीं हुनेछु । (हे.पृ.८५,भ्रान्ति)
( इतर साहित्य मेला कोरियामा किरातीले गरेको लेप्मुहाङको डुङ्गा पुस्तक समीक्षाको संक्षिप्त अङ्श)