भाइ
भाइ छ । कान्छा भाइ ।
जसो तसो एसएलसी पास गर्यो । दाइ भएको हैसियतले खुशी हुन पर्यो । भइयो । साथीभाइलाई सुनाउन पर्यो । सुनाइयो ।
के पढ्छस ?
साइन्स लिएर पढ्छु ।
सक्छस ?
सक्छु नी डिस्टिङसन आको मान्छे । नसक्ने कुरा हुन्छ ।
हुन्छ । कलेज खोजेर भर्ना गर ।
पैसा पठाई दिनु ।
…………………..
‘मैले कजेज खोजेँ ।’ एक हप्ता जति पछि भन्यो ।
ए कहाँ छ ?
गंगबुमा । कोठा देखि पन्ध्र मिनेट टाढा ।
कस्तो छ त पढाई बुझिस ?
राम्रै होला नी । त्यत्रो ठूलो बिल्डिङ छ । बिद्यार्थी नै बिद्यार्थी छन् ।
ए, कति लाग्छ त भर्ना ?
पहिला भर्ना गर्दा ३० हजार महिनाको चार हजार रे ।
डिस्काउन्ट माग्नु नी । हामी त जनजाति, भौगोलिक रुपमा पनि बिकट ठाउँको, हुदैन ?
‘कोरिया बसेर पैसा कमाउने मान्छेको भाइले पनि त्यस्तो बेइज्जती कुरा गर्न मिल्छ ?’ शब्द यस्ता थिएनन् भाब यस्तै थिए ।
…………………………
‘मैले अस्तिको कलेज भन्दा राम्रो अर्को भेटाएँ ।’ तीन चार दिन पछि म्यासेज गर्यो ।
के राम्रो छ नी ?
नजिक छ ।
कति नजिक ?
कोठा देखि पाँच मिनेटमा पुगिन्छ ।
ए ठीक छ नी त त्यसो भए ।
अँ, ठीक छ ठीक त तर अलि भर्ना फी र महिनावारी फी महंगो छ ।
कति छ नी ?
भर्ना फी ५० हजार । महिनाको ६ हजार ।
पहिलेको भन्दा धेरै महंगो भएन र ?
कोठा नजिकै भो नि त ।
जाबो १५ मिनेट पनि टाढा हो त ?
५ मिनेट मै पुगिने ठाउँ हुँदा हुदै १५ मिनेट टाढा होइन त ?
……………….
मैले एसएलसी पास गरे पछि आरआर क्याम्पसमा आइए भर्ना भएको थिएँ । बस्नको लागि तीनथाना नैकाप देखि दौडिन्थे । आउन जान तीन घन्टा भन्दा बढि लाग्थ्यो । मलाई टाढा भएको थिएन । कुनै दिन पनि कलेज लाग्ने बेलामा अल्छि नमानी गएँ । काम पनि गरिन्थ्यो । कलेज नसक्दै कामका लागि दौडिइन्थ्यो । अहिलेको भाइलाई जाबो पन्ध्र मिनेट हिड्न पनि मुस्किल । के भन्नु ? मैले सम्झाउने प्रयास गरेँ । उसले मलाई नै सम्झाउने प्रयास गर्यो । हामी दुबैलाई आफ्नो तर्क र सोचाई ठीक लाग्यो ।
ऊ नजिकैको कलेजमै पढ्ने भो । मेरो केही चलेन । अलि अलि रिस उठ्यो । पैसाको लोभले भन्दा पनि भाइको ताल देखेर । उसलाई पनि रिस उठेको हुँदो हो । जाबो मेरा लागि एक महिनाको पैसा पनि खर्च गर्न नसक्ने के दाइ भन्नु ? उसको दिमागमा यस्तो पनि बिचार आएको हुँदो हो । ऊ रिसायो । म्यासेज गर्न छाड्यो । कहिले कही फेसबुकमा कुरा गथ्र्यो । त्यो पनि गरेन ।
आमा मार्फत पैसा माग्यो । मैले पठाएँ । भर्ना गरेछ ।
दाइ भएको नाताले, दुःख गरेरै देश दुनियाँ भोगेको देखेकोले मैले भनेको मान्नु पर्ने मानेन । उसलाई कोरियामा वन कसरी कमाइन्छ ? थाहा छैन । त्यो कुरा त कोरिया कहर भोग्नेलाई न थाहा छ ! त्यस्सै भनिएको होइन रहेछ अचानोको पीडा खुकुरीलाई के थाहा भनेर ।
……………………….
‘भाइ घरमा आएको छ । सजिलो भएको छ यता दाउरा चिर्न ।’ एक दिन आमासँग कुरा गर्दा फ्याट्ट भनिन् ।
कलेज छ होइन ?
छ क्यारे । खै अस्ति आएको दाउरा चिरेर जान्छ होला ।
ए मैले बुझेँ । के बुझेर हो मैले भनेँ ।
फेरी एक हप्ता पछि जति कुरा गरेँ । आमाले ऊ काठमाडौ गएको कुरा सुनाइन । पढ्न थाल्यो होला । मलाई यस्तै लाग्यो । फेरि एक महिना पछि आमासँग कुरा हुँदा फेरी गाउँमै पुगेछ ऊ । पक्का भयो पढ्दैन । साइन्सको भारिले थिच्यो ।
किन पढ्दैन रे ?
‘पढे पनि नपढे पनि आआफ्नै लागि हो । हामीलाई दिने होइन । आफ्नै बुद्धिले जे अराउँछ त्यही गर्ने त हो नि ?’ आमाले अल्छि गरेर भनिन् । खास कुरा के भएर उसले पढ्न छाड्यो उसैलाई मात्र थाहा छ ।
……………………
पाँच छ महिना उसले एउटा शब्द पनि कतै लेखेन । मैले त लेख्ने कुरा पनि आएन । एक दिन म्यासेज आयो ।
दाइ सन्चै ?
‘सन्चै हो । तेरो के छ ?’ पहिलाको कुरा बिर्सिएर मैले लेखे ।
ठीक छ दाइ ।
के गर्दैछस् ?
घर तिरै काम गर्दैछु ।
त्यस पछि तीन चार दिन बिराएर म्यासेज आउन थाल्यो । सन्चै बिसन्चै । के गर्दै ? यस्तै यस्तै ।
‘दाइ मेरो फोनमा फोटो राम्रो आउँदैन । एउटा पठाइ दिनु त ।’ अनुरोध हाजिर भो ।
‘कस्तो फोन ?’ अलि अलि रिस उठे पनि टाइप गरेँ ।
‘जस्तो भए पनि हुन्छ । पठाइ दिनु न ।’ उसले टाइप गर्यो ।
…………………….
‘फोन कहिले पठाउने ?’ उसले सधै सोध्ने पहिलो प्रश्न ।
‘मान्छे छैन पठाउँला नि ।’ मेरो रेडिमेड उत्तर । मान्छे नै नभएको त होइन । कोरियाबाट जाने मान्छे छन् । एउटा ठीकैको मोबाइल पठाउँला भन्ने लागे पनि हो ।
एक दिन उसले फोनको मोडेल भन्यो ।
‘कि आइफोन कि ओप्पो ।’ यो आइफोनले दुनियाँ खायो । फोनमा केही छैन । अति महंगो छ । गाउँघर तिर एक हल गोरुले जोति नसक्ने खेत आउने पैसा लाग्छ । हुँदा हुँदा काम कुरा केही नगर्ने भाइलाई आइफोन ! धत् दुनियाँ । ओप्पो चाहि नेपालमा टिभी रेडियो तिर बिज्ञापन आको आकै गर्छ त्यसैले भनेको हुँदो हो ।
किन ?
अरुबाट खिचेको फोटो राम्रै आउँदैन ।
‘होइन होला ।’ मलाई आफैले टाइप गरेको शब्द आफैमा हाँसो उठ्दो लाग्यो ।
‘अरु जातको मोबाइल पठाउँदा हुँदैन ?’ प्रश्न थपेँ ।
‘हुदैन ।’ उसले प्रष्टै भन्यो । ‘यता बोकेर हिड्दा पनि राम्रो देखिनु पर्यो नि । कोरियाबाट दाइले पठाको मोबाइल भनेर ।’