छुसकमा नेपाली साहित्य समाजको बृहत कार्यक्रम हुने
छुसकको अवसरमा नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाले बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । अक्टोबर ३ तारिखमा सउलको जोङ्गाकको ज्योती रेस्टुरेन्टमा कार्यक्रम हुनेछ ।
“युग र जगतको प्रतिबिम्बससाहित्य” भन्ने नारा रहेको कार्यक्रमको नाम “नेसास सम्मान तथा साहित्य महोत्सव २०१७” राखिएको छ । विदेशी भूमीमा नेपाली साहित्यको उथ्थान र विकासको निम्ती केही योगदान गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष यल्जी विवशले जानकारी दिए ।
“प्रवासी भुमिबाट साहित्यमा योगदान दिँदै निरन्तर कलम चलाईरहेका सर्जकहरुलाई उर्जा र उत्साह दिनका निम्ति सम्मानित र प्रशंसित गर्न यो कार्यक्रम आयोजना गरिएको हो । ” संस्थाका उपाध्यक्ष एवम कार्यक्रम संयोजक बिष्णु वाग्लेले बताए । “नेपाली साहित्यको लागी कोरियाको पुरानो संस्थाबाट यो पटक अलि भिन्नै र मौलिक कार्यक्रमको तय गरिएको छ ।” उनले थपे ।
कार्यक्रममा साहित्यिक पुस्तकहरुको लोकार्पण, पुस्तक प्रदर्शनी, रचनावाचन, सांगितिक प्रस्तुति मात्र नभएर कविता, गजल र मुक्तकको छुट्टाछुट्टै अन्तरक्रिया समेत गरिने भएकोले साहित्यप्रेमीहरु कार्यक्रममा आइदिन हुन संस्थाका सचिव सन्जय घिमिरेले अनुरोध गरे ।