बुसानमा हुने दिपावली साँझ तयारी पुरा,कलाकारहरु आउने तयारीमा
यहि अक्टोबर ३ तारिख बुसानको मिन्जु ख्वङवनको हलमा हुन लागेको ‘दिपावली साँझ’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आउने सबै कलाकारहरुको भिसा लागिसकेको कार्यक्रम आयोजक तथा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानका महासचिब दोस्तीहाङ राईले बताए । उनका अनुसार कार्यक्रमका लागि नेपालबाट कलाकारहरु अक्टोबर १ तारिख कोरिया आउदै छन् ।
कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रम दिनको १२ बजे सुरु हुने छ ।
‘सामाजिक सद्धभाव र वृहत नेपाली एकता आजको आवश्यकता’ भन्ने नाराका साथ आपतकालिन राहत कोष स्थापनार्थ आयोजित उक्त कार्यक्रममा नेपाल आइडलका प्रतियोगी सागर आलेका साथमा चर्चित गायिका मेलिना राई, मोडल तथा नायिका एलिसा राई, गायक ताराप्रसाद लिम्बू, राजेश पूमा राई, बबिना किराती, एकदेव लिम्बूलगायतको प्रस्तुति रहने भएको छ । उक्त वृहद सांगीतिक कार्यक्रममा सहभागी हुनको लागि बुसानका विभिन्न ठाउँहरुबाट निशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।