कोरियाको ‘गधा मान्छे’को कथा
रातको ड्युटी दिनमा सुत्नै पर्यो । गाह्रो गरि गरि निदाइयो ।
‘तँ गधा भइस ।’ कतैबाट आवाज आयो । मान्छे देखिन ।
‘होइन मान्छे नै हुँ ।’ मैले अड्डी कसेँ ।
‘मान्छे भएको भए अलि अलि त आफ्नो मनको गर्न सक्थिस नी । तँ गधा भइस अनि पो साहुको लागि इमान्दारता देखाउँछस् । आफ्नो जिन्दगी खोई ?’ उसले सोध्यो ।
‘म मेरै लागि गर्दैछु । भोलीको मेरो लागि ।’ मैले पनि कडै जवाफ फर्र्काएँ ।
‘नापिस दुनियाँमा आज मात्रै हुन्छ भोली त कसैलाई थाहा हुदैन ।’ ऊ के कम थियो र ?
‘के गर्नु त कम्पनी ‘फाप्प’ छ ?’ आफ्नो गुनासो सुनाएँ ।
‘कहिले फाप्प छैन तेरो कम्पनी ? जहिल्यै बाह्र घन्टा भन्दा बढि काम गरेकै छस् ।’ उसलाई मेरो सबै थाहा रहेछ । बर्ष भरि नै काम गरेको गरेकै छु । आफुले चाहेको भनेको केही गरेकै छैन । जे गर्छ, जे भन्छ सबै कम्पनीको भर भरोसामा हुन्छ । गर्छ ।
‘हो त के गरुँ पैसा दिन्छ नि काम गरेको ।’ अलि लाचार भए जसरी भनेँ ।
‘त्यही त गधा भइस । गधालाई पनि घाँस खुवाछन् नी त ।’ उसैले प्वाक्कै बचनले हान्यो । गधा पशु भो । घाँस दिए भैहाल्यो । म मान्छे घाँसको सट्टा पैसा ।
‘हो हजुर म गधा जस्तै मान्छे ।’ अब उसको अघि स्किार्नु बाहेक बिकल्प भएन ।
‘त्यो ठीक छ । गधा जस्तै मान्छे ।’ ऊ पनि अलि नरम भयो । मेरो आधा कुरा स्विकार्यो ।
निन्द्रा टुट्यो । छ्या कस्तो सपना हो कि बिपना ?
……………………….
आज दशैको टिकाको दिन । देशमा हुँदा के के पो गरिन्थ्यो । गरिन्थ्यो । गाउँ डुलिन्थ्यो । साथीभाइ भेटिन्थ्यो । साथीभाइका साथिभाइ पनि भेटिन्थ्यो । मिठो मसिनो जता गए पनि कर गरेर खुवाउँथे । पेटमा नअटे पनि मन भोकै हुन्थ्यो । खाइन्थ्यो । हिड्न, डुल्न कसैको कतै रोकतोक थिएन । जिन्दगी जिन्दगी थियो ।
टिकाका दिन एक छिन भने पनि धर्ती छाड्नु पर्छ रे । बुढापाकाले भनेका कुरा थिए । भनेको मर्नु भनेका होइनन् । पिङ खेल्नु भनेका हुन् । हामी पनि हुरिएर पिङ खेल्न गइन्थ्यो । पिङ खेल्न आएका चिनेकासँग पनि गफिइन्थ्यो । नचिनेकासँग पनि गफिने प्रयास हुन्थ्यो । नयाँ नयाँ मान्छे देखिन्थे । मनमा नयाँ उर्जा आउँथ्यो । भलै कही नभए पनि । जिन्दगी तमासे थियो । जिन्दगीको लगाम आफ्नै हातमा थियो । जिन्दगीका गुनासा थिएनन् । जे थियो सन्तुष्ट थियो ।
ती रमाइला दिनका सम्झना हुन् । मनका कुनामा बसेका बिझाउने सम्झना । नसम्झउँ भन्दा पनि बेला बेला सम्झि रहने सम्झना । अलि कति दुखाए पनि रमाइलो दिने सम्झना । आफ्नो जिन्दगीको लगाम आफैसँग भएको बेलाको सम्झना । आजभोली जिन्दगी उस्तो छैन । आफ्नो जिन्दगीको लगाम आफैसँग छैन । ती घाँस(पैसा)सँग साटिएका छन् ।
शनिबारै परेछ टिका बिदा लिनु पर्यो । दुई महिना अघि देखि मनमा लागेको थियो । बिदा पाइनेमा पनि ढुक्क जस्तै भइयो । अरु केही नभए पनि साथीभाइ गेटटुगेदर गर्नु पर्छ । एउटा प्लान पनि बनि हाल्यो । हाकिमको मुड हेरेर एक महिना अघि नै बिदा बस्ने कुरा भनेँ । हुन त बिदा नै हुन्छ होला । काम भए पनि गर्दिन । हाकिमले एकै बचनमा हुन्छ भन्यो ।
बिदा भएका साथीभाइ भेट्ने प्लान बन्यो । प्लान अनुसार कामको बाँडफाँड भो । सबै तयारी पुरा भो । लौ यसपाली दशै भब्य नभए पनि बिदेशको अनुसार ठीकै हुने भो मनमा लाग्यो । मनमा खुशी नै छायो । एक हप्ता अघि हाकिमले सबैलाई राखेर उपदेश दिदै गयो । ‘हाम्रो कम्पनी एकदम ‘फाप्प’ छ यो महिना । कसैको कतै बिदा हुँदैन । आइतबार पनि काम गर्ने । राम्रोसँग गर्नु । यो महिना पछि कतै केही परे भन्नु ?’ उसले आफ्नो मनतब्य सकायो । मेरो कन्सेरी तातेर आयो । तैपनि समालिनु पर्यो ।
‘हजुर मेरो बिदा के भो ?’ सबै कम्पनीका साथी निस्किए पछि मैले सानो स्वरले भनेँ ।
‘के बिदा ?’ उसले उल्टो प्रश्न गर्यो ।
‘यो शनिबारको ?’ मैले पहिलेको कुरा सम्झाउने प्रयास गरेँ ।
‘अनि अघि यत्रो भनेको के हो त ? बिदा छैन कसैलाई पनि ।’ उसले झर्किएर भन्यो ।
‘मैले त एक महिना अघि नै भनेको त हजुरलाई ? ‘
‘भनेको त हो नि यो सामानको अर्डर हिजो मात्रै आको । अनि कसरी मैले एक महिना अघिको कुरा थाहा पाउँछु । ल ल जा । खुरुक्क काम गर्ने ।’ उसले मेरो कुरा सुन्न चाहेन ।
म निस्किएँ । सालेलाई मुख भरि गाली गर्नु मन थियो । मिल्ने भए एक दुई थप्पर पनि लाउँथे । आफु परियो मान्छे गधा । घाँस खुवाए पछि भारि बोकाउँदा के रिसाउनु ? आफैलाई सम्झाएँ ।
……………….
धत जति सम्झियो मनमा छटपटि हुन्छ । एक्लै छु कोठामा । राति काम छ । सोजु खाउँ कि के हो ?