वाम एकताको आन्तरिक र बाह्य चुनौती
विश्वको ध्यान यतिखेर नेपाल केन्द्रीत हुदैछ । वामपन्थी गठजोडले नयाँ पोलिटिकल डिस्कोर्ष शुरु भएको छ । अनेक कोणबाट चर्चा
, परिचर्चा र अड्कलबाजी भईरहेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले आसन्न चुनावी तालमेल, वृहत ध्रुबीकरण हुदै अन्ततः एकताको गन्तव्य तया गर्नुले राजनितिक बजार तातेको छ । यो एकता आफैमा स्वागतयोग्य छ । व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्नसके वाम नेतृत्वको यो कदम नेपाली राजनीतिक इतिहासमा आईस्ब्रेक सावित हुनेछ ।
पार्टी एकता प्रकृया सैद्धान्तिक रुपमा जति सहज र सरल छ, त्यति नै साङ्गठनिक रुपमा यसका कठिनाई र जटिलताहरु छन् । यस्ता समस्यालाई चिर्नको लागि सबैभन्दा पहिला राष्ट्रको हितलाई केन्द्रविन्दुमा राख्न सक्नु पर्दछ । साम्यवादी शक्तिहरु स्वाभावैले जनवादी केन्द्रीयतामा विश्वास गर्दछन् । साङ्गठनिक वरियताक्रम र तहगत संरचनालाई प्राथमिकता साथ हेर्दछन् । माक्र्सवादी दर्शन र लेनिनवादी साङ्गठनिक पद्धतिको जडसुत्रीय सार–सङ्ग्रहवादी सोच नै हालसम्म कम्युनिष्ट टुट–फुट र विभाजनको मूख्य कारणहरु बनेका छन् । तसर्थ, माक्र्सवादलाई युगसापेक्ष लोकतान्त्रिकरण गर्दै नेपाली माटो र हावापानीको विशिष्टता पहिल्याउन सक्नु पर्दछ । नत्र, एकीकरणले अर्कै दिशा तया गर्ने कुरामा दुइृमत हुने छैन ।
नेपाली राजनितीमा वाम एकताले मूर्तरुप लिनसके विशेषतः लेफ्ट डेमोक्रेटिक र फ्रन्ट कन्जरभेटिभ दुई पक्षीय संरचना बन्न पुग्दछ । लेफ्ट डेमोक्रेटिक कम्युनिष्टहरु हुन्छन् । फ्रन्ट कन्जरभेटिभ काङ्ग्रेसहरुको भूमिका रहन्छ । यस्तो समीकरणले वर्तमान राजनैतिक गतिरोधको अन्त्य गर्दै आदर्शयुक्त राजनैतिक संस्कारको विकास हुन पुग्दछ । त्यतिखेर, अहिले देखिएको अत्यासलाग्दो राजनितीको फोहर स्वतः सफा भएर जाने छ । पछिल्लो पिंढीका आम यूवाहरुको राजनितीप्रतिको वितृष्णा र निराशा आशामा परिणत हुनेछ । उनीहरु विस्तारै राजनितीतर्फ आकर्षित हुनेछन् । आम यूवाहरुको उपस्थिती र सहभागीतामा देशभित्र पोलिटिकलको मात्रै होइन, डेभलपमेन्टको पनि नयाँ डिस्कोर्ष सुरुआत हुनेछ ।
देशको लागि तत्कालीन र दीर्घकालीन फाइदै–फाइदा रहेको यस ध्रुबीकरण अभियानको मर्मलाई हृदयङ्गम गर्दै लेफ्ट डेमोक्रेटिक पक्षले फ्रन्ट कन्जरभेटिभ शक्तिहरुको गठजोड प्रक्रियाको थालनी स्वागतयोग्य रुपमा लिनु पर्दछ । यसरी नै फ्रन्ट कन्जरभेटिभ पक्षले लेफ्ट डेमोक्रेटिक पक्षलाई शिष्टाचारयुक्त व्यवहार गर्नु पर्दछ । यसले सुसंस्कृत राजनितिक जग बसाउने छ । साथै थप दुरी बढाउदै दुई ध्रुबीय विशेषता छर्लङ्ग बनाउन मद्धत पु¥याउने छ । दुबै पक्षलाई एकता प्रकृया मूर्तरुप दिन चर्को दबाब सिर्जना गर्नेछ । यसले नेपाल र नेपाली जनताको उज्ज्वाल भविष्य सुनिश्चित गर्न मार्ग प्रशस्त गर्न सक्दछ ।
एकता इतिहास टाढा नगएर सत्तचालीस सालमा निर्मित वाममोर्चा विभाजनलाई मात्रै नजर अन्दाज गर्ने हो भने पनि वाम एकीकरणको आन्तरिक र बाह्य चुनौती सतहमा आउनेछन । एकता प्रकृयाको चित्र समयान्तर केही फरक देखिएता पनि सैद्धान्तिक र साङ्गठनिक चरित्र उस्तै रहेका कारण फेरि पनि विभाजनको दिशा अङ्गाल्न सक्दैन भन्न कठिन छ । यसतर्फ नेतृत्व चनाखोमात्रै होइन, दलीय स्वर्थसमेत पुरै त्याग्न जरुरी छ । आधुनिक विकसित माक्र्सवादी कोणबाटै हेर्ने हो भने पनि यो प्रकृया केही सत्य हो, केही असत्य हो । केही अर्थपूर्ण छ, केही बेअर्थपूर्ण छ । केही सफल हुनसक्छ, केही विफल हुनसक्छ । केही राम्रा पक्ष छन, केही नराम्रा पक्ष छन । यस प्रकृयाबाट केही खुशी छन, केही बेखुशी छन । किन कि, एतिहासिक भौतिक द्धन्दवादले यहि कुरा प्रष्ट्याउछ । यस्तै सुझाउँछ । तर, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर दसचोटी नाप्ने र एकचोटी काट्ने सिद्धान्तलाई बिर्सने हो भने किन सैद्धान्तिक रटान लगाईराख्नु प¥यो ? त्यसो होइन भने यसलाई हतारको निर्णयको रुपमा लिइनु हुदैन । यसको पहलकदमी विगतबाटै सुस्त गतिमा अमूर्त रुपमा सुझ–बुझका साथ भईरहेको मान्नु पर्दछ ।
नेतृत्वले कार्यक्रम ल्याउदछ । कार्यकर्ताले कार्यन्वायन गर्नुपर्दछ । हरेक विषयले मूर्तरुप पाउने वा नपाउने भन्ने कुरा कार्यन्वायनमा गएर असर देखिन्छ । यसकारण, कार्यन्वायन तह सबैभन्दा बढी जिम्मेवार र सकरात्मक हुन जरुरी छ । यसको लागि वैचारिक, सैद्धान्तिक र साङ्गठनिक ज्ञान र चेतनाको स्तर उच्च हुनुपर्दछ । भाग्यवादी र नश्लवादी चेतभन्दा माथि उठ्न नसकेका केही डाईनोसरहरु जहाँ पनि घस्रिरहेका हुन्छन । उनीहरुको लोप अवश्यम्भावी भए पनि बाँचिरहेका समय दिग्भ्रमित र भयङ्करजस्तो देखिन्छ । यस किसिमको विशेषतालाई प्राथमिकताबाट हटाउदै अघि बढ्नु नै वैज्ञानिक हुन्छ । मेरो स्थान र स्थिति के हुन्छ भन्दा पनि हाम्रो देशको स्थिति के हुन्छ ? भन्ने सबैले मनन गर्न सक्नु पर्दछ । कतिपय अवस्थाहरुमा कठोर बन्नुपर्ने हुन्छ । त्यसो हुन नसके निर्णायक परिणाम आउन संभव हुदैन । यस सन्दर्भमा वर्गीय दृष्टिकोणबाट सामाजिक न्याय र समानताको वकालत गर्ने अभियानताहरुले परिणाम निकाल्ने अवस्था आए नआएको छुट्टयाउन सक्नु पर्दछ ।
विश्व भू–मण्डलीकृत पूँजी बजारको उच्च प्रयोगवादी क्रान्तिले सञ्चार र प्रविधिमार्फत पूर्वीय वैचारिक, साँस्कृतिक तटहरुमा अनेक आँधी, सुनामीहरु ल्याईसकेका छन । यसले विनाश मात्रै निम्त्याएको छैन । विकासको भ्रुण उमार्दै नयाँ सभ्यताको जग हाल्न खोजिरहेको देखिन्छ । यसले सबैखाले पहिचानको प्लटिङहरु नष्ट पार्दै सिङ्गो साँस्कृतिक साम्राज्य निर्माण गर्न अग्रसर रहेको छर्लङ्गै देखिन्छ । यसर्थ, हामीले आन्तरिक सङ्घर्षमा समय सातुको भाउमा गुजारिरहँदा सुनको भाउ गुमाईरहने छौँ । जहिले पनि परिणाम निकाल्न केन्द्रीत एकोहोरो सोंच घातक हुन्छ । दायाँ–बायाँ र विश्व नियाल्दै अघि बढ्नु आजको आवश्यकता हो । विश्वका महारथी मूलुकहरुले आफु र आफ्नाहरुलाई बिर्सेर अन्य मूलुकहरुसँग प्रत्येक सेकेण्ड–सेकेण्ड प्रतिष्पर्धा गरिरहेकाछन् । यसको अन्तर्यमा हेर्ने हो भने आफु जित्न यसो गरिरहेका छैनन् । आफ्नो स्थान यथावत राख्न लडिरहेका छन् । हामीले सेकेण्डको गतिमा उभिएर प्रतिष्पर्धा गर्नु त परकै कुरा भयो । आफ्नो पोजिसन कायम राख्ने त्यस सन्दर्भ थाहा पाउन मात्रै दशकौँ लाग्ने छ । यहि नै हाम्रो दुर्भाग्य र पछ्यौटेपन हो ।
विश्वको विकासशील समयले यसरी तीव्र वेग गतिमा हाम्रो मूलुकलाई छोडिरहेको अवस्थामा दुर्भाग्यबश नेपाली राजनितिमै गतिरोध भएको चेत यदि खुल्ने हो भने एक देशप्रेमी नागरिकलाई त्यो भन्दा ठूलो पीडा अर्को कुनै पीडा हुन सक्दैन । देशको हितलाई केन्द्रविन्दुमा राख्ने हो भने शक्तिकेन्द्रका हरेक किसिमका प्रलोभन र गलत सल्लाहबाट प्रभावित हुनु हुदैन । आन्तरिक मामलामा जहिल्यै पनि बाह्य शक्तिकेन्द्रको हस्तक्षेपका कारण आन्तरिक राष्ट्रियता कमजोर हुने र भईसकेका सहमति र बन्न लागेका कामहरु पनि भताभुङ्ग भएर जाने गरेका अप्रिय तीता क्षणहरु जगजाहेर छन ।
मूलतः राष्ट्रियता मजबुत बनाउन शीर्ष नेतृत्वले निर्णय लिने क्षमता प्रदर्शन गर्नु पहिलो शर्त हुन आउँछ । मल्टिपार्टी सिस्टम लोकतन्त्रको एउटा प्रमूख सुन्दरता हो । तर, सुन्दरताले मात्रै सबैकुरा पूर्ण हुन सक्दैनन् । यसका लागि जसरी जीवन, जगत र ब्रम्हाण्ड सृष्टिका सुत्रपात दुई चीजबाट भएको छ, त्यसरी नै लोकतन्त्रको संस्थागत, शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि दुई पक्षीय राजनैतिक ध्रुब अनिवार्य छ । यसको आवश्यकता र महत्व हरेक कोणबाट विधिवत र वैज्ञानिक देखिन्छ ।
सतही र फोस्रा कुराहरुलाई छाडेर यसको सार बुझ्ने र गहिराईसम्म पुगेर हेर्ने हो भने वाम गठबन्धन युगको आवश्यक्ता र समयको तात्कालीन माग हो । यसले विद्यमान राजनितिक गतिरोधको अन्त्य गर्दै शिष्टाचारयुक्त राजनितिक संस्कार, सामाजिक न्याय र समानता, लोकतन्त्रको दीर्घकालीन संस्थागत, स्थायी शान्ति र आर्थिक समृद्धिको तीव्र गति पैदा गर्नसक्ने देखिन्छ । एक पक्षले अर्को पक्षलाई सम्मान र शिष्टाचायुक्त व्यवहार गर्दै ठोस प्रमाण, राजनैतिक मुद्धा र विकासका उत्कृष्ट योजनाहरुको बलमा जनतासामु गएर अभिमत प्राप्त गर्ने वातावरण बन्न सक्नेछ । यसरी सुरुआत भएको राजनैतिक संस्कारले स्वच्छ राजनितिक आधारभूमि मात्रै तया गर्दैन, राजनितिप्रतिको सबैखाले फोहर र वितृष्णाहरुकोसमेत अन्त्य गर्दछ । यहि नै युगको आवश्यकता र समयको माग हो ।