बागी बाटोहरु
इतिहासको आँगनबाट
निस्किएको एउटा बाटो
हात खोलेर उहिल्यैदेखि
चुपचाप सुतिरहेछ !
बाटोका ढाँडमाथि
अनेकौँ पाइलाहरु
पैतालाका नक्सा छोड्छन्
अनेकौँ गोडाहरु
गल्ली र भित्तामा ढल्छन्
अनेकौँ औलाहरु
बाटामै काटिन्छन्
छाती खोलेर उहिल्यैदेखि
ऊ चुपचाप सुतिरहेछ !
नाङ्गा खुट्टाहरु
घाईते कुर्कुच्चाहरु
भुपू सपनाहरु
वर्तमान समस्यहरु
भविष्यका कल्पनाहरु
हरेक रात, हरेक दिन
हरेक विहान, हरेक साँझ
अध्याँरो बोक्दै
प्रकाश पोख्दै
उर्जा भर्दै
लाली छर्दै
सबैसबै–हूलका हूलहरु
हिड्थे–त्यही एउटै बाटोमा ।
भरियाहरु
बटुवाहरु
गाई–बाख्राहरु
घाँस–दाउरेहरु
गोठालेहरु
जन्तीहरु
मलामीहरु
नेताहरु
प्रोफेसरहरु
विध्यार्थीहरु
मजदूरहरु
किसानहरु
कविहरु
सबैसबै–हूलका हूलहरु
हिड्थे–त्यही एउटै बाटोमा ।
अचानक,
एकदिन बाटोका विरुद्ध
समयले अरु थुप्रैथुप्रै
बाटोहरु खन्छ !
गोरेटोहरु
घोडेटोहरु
धुलौटेहरु
कालोपत्रेहरु
घुम्तीहरु
छड्केहरु
त्यसैले अचेल,
बाटोहरु स्वतन्त्र छन् !
तर,
हिड्नेहरु स्वतन्त्र छैनन् ।