ऐठन
कथा/
‘हातमा पि आर बिदेशमा ब्यापार भएको राजकुमारलाई छोडेर म तिमीसग के देखेर बिहे गरौ ? र मेरा परिवारले के देखेर तिमीलाई स्विकार गरुन् त !’ सिमाको मुखबाट निस्किएको यो शब्द मेरो मनमा एटम बम जसरी बिष्फोट भयो । जसरी दोस्रो बिश्वयुद्धको अन्तिममा हिरोसिमा र नागासाकीमा अमेरिकाले बिष्फोट गराएको थियो । म नि–शब्द भए । आखाहरु धमिला भए । पुसको ठण्डीले चिसिएको नगरकोटको सिरेटो पनि लु जस्तै हप हप तातो भएर आयो । पुरै खुलेर चाँदी जस्तै टल्किरहेका हिमालहरु आँखाबाट हराउदै गए । भाँङको नसाले लठ्ठ भए झै मेरा गोडाहरु लालाक्क लुलुक्क गले । नजिकैको पोथ्रोको आड लिदै म भुईमा थचक्कै बस्न पुगे । सुपरमलहरुमा सजिएर उभिईरहेको डमी झै, सिमा चुपचाप मुन्टो फर्काएर पारी तिर हेरीरही ।
मौनता लामो समय सम्म चलिरह्रो । मैले बिस्तारै आफुलाई सम्हालेर सिमातिर मुन्टो उठाए । सिमा अर्कोतिर फर्केर उभिईरहेकी थिई ।
मौनता तोड्दै मैले सिमा तिर हेर्दै भने “यो तिम्रो नै निर्णय हो ?”
सिमा केही बोलिन ।
मैले फेरी सोधे “के यो तिम्रो नै निर्णय हो ?”
सिमा मौन नै बसिरही ।
सिमाको मौनता देखेर मैले फेरी अलि ठुलो स्वरले बोले,
“के पारा हो तिम्रो केहि त बोल ”
सिमाले रुखो स्वरमा जवाफ फर्काई “अब अरु के सुन्न चाहान्छौ ?”
मलाई लाग्छ तिमीले उत्तर पाईसकेका छौ । उत्तर थाहा हुदा हुदै फेरी प्रश्न सोध्नुको म कुनै अर्थ देख्दिन र म पनि स्पस्टिकरण दिनु पर्ने आवश्यक ठान्दिन । सिमामा एक्कासी आएको भुकम्प जस्तो परिर्वतनले म अचम्मित भईरहेको थिए । सिमालाई हेर्दै म बली दिन पर्सिएको बोको झै निरिह भएर धेरै बेर टोलाई रहे । मैले केही सोच्नै सकिन । मैले मन मनै भगवानसग पुकारा गरिरहे । हे भगवान यो केटीलाई सम्झाई देउ । तर भगवानसग पनि मेरो कुन नजिकको साईनो थियो र ? मैले पुकार्ने बितिक्कै मेरो कुरा सुनिदिउन ।
मैले ज्याकेटको खल्तिबाट चुरोटको बट्टा निकाले । एक खिल्ली निकालेर आगो लगाए । पटक पटक लामो सर्को तानेर हावामा छोडेको धुवालाई नियालेर हेरिरहे । जति लामो सर्को तानेर हावामा छोडे पनि त्यो धुवा एकै छिनमा नगरकोटको चिसो हावामा बिलिन हुन्थ्यो । मैले मन मनै सोचे के सिमाको माया पनि यही धुवा जस्तै हो त ? म त चुरोटको धुवा सगै कता हराएछु , चुरोट ठुटो भई सकेको पत्तै पाईन तान्न खोज्दा धुवा नआउदा पो झल्यास्स भए । यसो हेरे हातमा बाकी ठुटो फिल्टर मात्र थियो । मैले मन मनै सोचे यो चुरोटको ठुटो र अहिलेको मेरो अवस्थामा के फरक भो र ? अनि झाडी तिर फालिदिए । फेरी त्यो उपयोगिता सकिएको ठुटोलाई कसले बट्टामा राख्थ्यो र ?
यसो घडी हेरे , पाँच बजिसकेछ । सिमातिर हेरे उ घोसे मुन्टो लगाएर अर्कोतिर फर्किरहेकी थिई ।
“अब जानु पर्छ” मैले भने ।
“तिमी जान सक्छौ ” सिमाले फर्किदै नफर्कि जवाफ दिई ।
“तिमी जान सक्छौ ?” मैले अली बुझिन
‘एकै छिनमा बुझ्छौ’ उसले मोवाईल चलाउदै उत्तर दिई ।
मैले उसलाई यसो हेरे उ मोवाईलमा बेस्त थिई । नेपथ्यमा गाडीको हर्न सुनियो । सिमा बाई पनि नभनी सरासर गाडीको हर्न आएको ठाउतिर लम्किई । दृष्यमा सेतो कार रोकियो । सिमाले अगाडीको ढोका खोलेर भित्र पसी । गाडी गन्तव्य तिर अगाडी बड्यो । म अर्धचेत जस्तै भएर उ गएको हेरिरहे , छिनमै गाडी नगरकोटको कुईनेटोमा बिलिन भयो । मैले चिच्चाएर उसलाई बोलाउन खोजे, ‘सिमा ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ!’
मेरो बोली निस्किदै निस्किएन । मैले बल गरेर फेरी बोलाउन खोजे , फेरी बोली निस्किएन । मेरो घाटी कसैले थिचे जस्तै लाग्यो । म धेरै बेर छट्टपटाए र छटपटाउदा छटपटाउदै बिउझिए । शरिर पुरै पसिनाले भिजेको थियो । मलाई ऐठन भएछ ।
छेउको बत्तीको स्विज अन गरे । घडी हेरे भख्खर १ बज्दै रहेछ । टेबलमा रहेको आधा बोतल पानी एक सासमा पिए पछी शरिर अलि हल्का भयो । बेडको भित्ता तिर फर्केर सिमा मस्त निदाई रहेकी थिई । सिमालाई हेर्दै भख्खर देखेको सपना सम्झिए । मस्त निन्द्रामा खुलेको उसको शरिरलाई सिरकले हल्काछोपी दिदै होटलको बराण्डामा निस्किए ।
बाहिर सुख्खा चिसो सिरेटो चलिरहेको थियो । दिउसो सुनसान जंगलमा कानलाई नै कर्कस पार्ने गरी कराउने झ्याउकिरीहरु पनि राती त शान्त हुदा रहेछन् । नगरकोटको पुरै पाहाड चकमन्न सुनसान र शान्त थियो । कोही जिवित बाकी नभए जस्तो शान्त सुनसान रातमा केही हुचिलहरुले एकोहोरो ‘हु हु’ गर्दै जिवनको आभास दिईरहेका थिए । हुचिल को ‘हु हु’ अवाजले मलाई बाल्यकालको सम्झनामा पु¥यायो । म नगरकोटमा भएको पनि बिर्सिएर गाउको वाल्यकालमा पुगेछु । हिउदमा बेशी खेतमा तरकारी र अन्न बाली लगाईन्थ्यो । हिउदको मौसममा सुख्खाले बेशी खेतमा पानीको मुहान सानो हुन्थ्यो । सिञ्चाइ गर्नु पर्ने खेत धेरै र पानीको स्रोत सानो हुदा आफ्नो पालोमा राती पनि पानी कुरेर बस्नु पथ्र्यो । गाउमा बेला बेलामा चितुवाले कुकुरहरु लान्थ्यो । खेतमा पनि चितुवाको डर हुन्थ्यो । रातको समयमा हामी डर भगाउन आगो बालेर गित गाएर बस्ने गथ्र्यौ । बिजुली बत्ती नभएको बेलाको गाउहरु साझमै अन्धकारमा प्रवेश गर्थे । घर भित्रको अध्यारोलाई हटाउनै संर्घस गरिरहेका साना मट्टीतेलका टुकी बत्तीहरु घरलाई उज्यालो बनाउन असमर्थ थिए । त्यसैले गाँउका घरहरु सम साझमै अन्धकारमा डुब्थे । जब गाँउ चकमन्न हुन्थ्यो, पारी गाँउ तिरका कुकुरहरु पनि भुक्न छोड्थे तब हुचिल हरुले ‘हु हु’ गर्दा त्यो हुकारको आवाज सगै डर पनि मिसिएर मुटुमै पुग्थ्यो । सायद गाउ घरमा हुचिल कराए पछी भुत आउछ भन्ने कथा सुनेर पनि हो की ?
“सर यो जाडोमा बराण्डामा धेरै बेरदेखि टोलाई रहनु भएको देखे केही समस्या प¥यो की ?” होटलको पालेको आवाजले म झस्याङ्ग भए । त्यस्तो केहि होइन चुरोट तान्न निस्किएको थिए भन्दै म रुममा पसे ।
सिमा मस्त निन्द्रामा थिई । बिस्तारै ओड्ने हटाउदै बेडमा चडेर सिमालाई उठाउन मनलाग्यो । फेरी मन मनै सोचे होस् बिहान आईहाल्छ नि । बेडमा ढल्केको धेरै बेर सम्म निदाउन सकिन । मनमा धेरै कुरा खेलिरह्यो । परिवार सम्झे ,जागिर सम्झे , आफ्नो पढाई र भबिश्य सम्झे । सगै बेडमा सुतिरहेकी सिमालाई सम्झे र पटक पटक पछिल्लो समयमा देखेको सिरियल खण्ड खण्ड सपना सम्झे । टाउको भारी भएर आयो । अनुमान लगाए आज देखेको सपना अन्तिम खण्ड थियो । के सपनाले पुर्व संकेत गरिरहेको त छैन ? मन मनै सोचे के सिमाले मलाई छोडेर नै जालि त ? छोडेर गइ भने मेरो अबस्था कस्तो होला? मैले सहन गर्न सक्छु होला त ? आदि इत्यादी सबै सम्झे तर समाधन केही दिमागमा नआउदै निदाएछु ।
बिहान अली ढिलै निन्द्रा खुल्यो । यता उति हेरे सिमालाई देखिन । एक छिन प्रतिक्षा गरे उ कतै पनि भएको आभास पाईन । बाथरुम बराण्डा सबै तिर हेरे कतै देखीन । कपडा ब्याग मोवाईल केहि पनि देखिन । फोन गरे मोवाइल अफ थियो । सपनाले पुर्व संकेत गरेको थियो भन्ने मैले बुझे । हतपत कपडा लागाएर तल झर्दै थिए । रिसेप्सनको भाईले संकेत गर्दै भन्यो सर हजुरलाई मेडमले यो कार्ड दिनु भनेर जानु भएको थियो ।
को मेडम ? “सर पनि हिजो कोसग आउनु भएको थियो ?”
‘उ कता गई त ?’
“खै सर त्यो त थाहा भएन तर अलि हतारमा देखिनु हुन्थ्यो ।”
अब त्यो कार्डमा के छ भन्नेमा म ढुक्क भए ।
त्यो कार्ड बोकेर म क्याफेको छेउको टेवलमा गएर बसे । वेटर भाईलाई चिया र चुरोटको संकेत गर्दै हातको कार्ड खोले ।
बाहिरै अलविदा लेखिएको थियो । अर्को तिर पल्टाए, लेखिएको थियो, ‘हाम्रो यात्रा याही सम्म रहेछ । समयको गति सगै हिड्नै पर्दो रहेछ । म मनमा धेरै दिन देखि यहि कुरा तिमीलाई भन्न खोजिरहेको थिए तर सकिन । यही कुरा तिमीलाई सिधै भन्दा त्यो बेलाको तिम्रो मनोभाव कस्तो होला डर लागेर आयो । सागर मैले तिमीलाई एक महिनादेखि संकेत गरिरहेको थिए । म टाढा हुन चाहान्थे र तिमीसग हरेक कुरामा निहु खोजिरहेको हुन्थे तर हरेक पटक तिमी मेरो गल्तीमा पनि आफै माफी मागेर समन्धलाई जोगाउने कोशिष गथ्र्यौ । म तिम्रो नजरमा तिमीलाई नै गल्ति देखाएर यात्रालाई अन्त्य गर्न चाहान्थे तर तिम्रो सालिनताको अगाडी सधै हार्थे । मैले यो निर्णय आवेगमा आएर लिएको होईन । नढाटी भन्नु पर्दा तिमीसग समन्धमा रहे पछि मलाई महशुष हुन थाल्यो मैले देखेका सपनाहरु मरिरहेका छन् । मैले मेरा चाहानाहरुसग सम्झौता गरिरहेको छु । हामीले सगै देखेका सपनाहरु भावनात्मक आवेग बाहेक केही होईन भन्ने लाग्दा लाग्दै फेरी म कसरि समन्धमा रहन सक्छु ? सागर, तिमीले मलाई सधै कियर गर्यौ । मेरा हरेक कुरामा साथ दियौ । भावनात्मकदेखि शारिरिक समिप्यता पनि दियौ , सधै मलाइ खुशी बनाउने कोशिष गर्यौ । तिमीसग मेरो कुनै गुनासो छैन र तिमी पनि नराख । अन्त्यमा म नयाँ जिवन सुरु गर्न जादैछु प्लिज अबरोध गर्ने कोशिष नगर । अलविदा ।’
“सर हजुरको अर्डर” वेटर चिया र चुरोट लिएर आई पुग्यो ।
मौसम बिहान देखीनै धुम्मिएको थियो । सायद आज हिउ पर्छ की मन मनै सोच्दै मैले चुरोट सल्काए । पारी हेरौ मौसम खुलेको थिएन कुरा गरौ सगै साथी थिएन । हिजो लिएर आएकी प्रेमिका पनि आज साथमा थिइन । मैले फेरी अर्को चुरोट सल्काए र थप चिया मगाए । छेउको कुनामा एक जोडी मज्जाले हात समातेर कसम खाइरहेका थिए ।
“बिश्वास लाग्दैन हो मेरो” केटीले सोध्दै थिइ ।
“आफ्नो भन्दा बढी बिश्वास छ डियर तर तिमी सुख सयलमा हुर्केकी म…….. ”
केटाले म भन्ने बितिक्कै केटीले मुख थुनिदिई ।
केटी बोली, “पैसा ठुलो कुरा होइन माया ठुलो हो डिएर ।” कसम खादै दुबै जाना अंगालोमा धेरै बेर टाँसिरहे ।
मैले पनि तिनीहरुलाइ कर्के नजरले हेर्दै सिमाले मसग खाएको कसम सम्झिए । मुख भित्र रहेको धुवा पुच्च उडाउदै खिस्स हाँसे ।