बेकामे
कम्पनी घाटामा गयो । हल्ला चल्यो ।
अब साहुले हाकिमहरु फेर्दैछन् । मान्छे निकाल्दैछन् । फेरी हल्ला चल्यो । यस्ता हल्ला बेला बेलामा चलेका चल्यै छन् । कुन कुरा पत्याउनु कुन नपत्याउँनु ? ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।’ नेपालमै सुनेको उखान सम्झेर काममा गइयो । चिन्ता पनि खासै लागेन । लाग्न पनि भएन । कामले थिचिएर स्वास नै बन्द होला जस्तो जिन्दगी देखेर अलि अलि स्वच्छ हावामा कावा खाने रहर त थियो नै । हटाए पनि हटाओस कोरियामा यही कम्पनी मात्रै छ र ? यस्तै लाग्यो ।
नभन्दै एक्कसी कम्पनीका हाकिम फेरिए । पहिले पहिले जस्तो यो पटक हल्ला मात्र भएन । अब कामदार हटाउँदैछन् । हल्ला सकिएकै थिएन । हाकिम नै फेरिए पछि कामदार आफु अनुकुल ल्याउने फेर्ने काम हाकिमहरुका हुने नै भए । हटाए ठीकै छ ।
त्यो दिन पनि आयो । हामी कामदार न थियौ । हटाउने दिन नै कम्पनीमा सानो मिटिङ जस्तो गरेर ‘कम्पनी चुस्त दुरुस्त बनाउने । त्यसैले तिमीहरुलाई बिदा । तिमीहरुले लिन पर्ने पैसा पाइपाइ गरेर बैकमा हालि दिन्छ । बसेको ठाउँ एक हप्तामा खाली गर्नु । अरु हामीले सकेको सहयोग गर्छौ । धन्यबाद ।’ नयाँ हाकिमले नयाँ फरमान सुनाए । हुदैन भन्ने कुरै आएन ।
निकालिने सबैका अनुहार टिठ लाग्दा थिए । कामबाट निकाल्दा खुशी हुन्छु भन्ने लागेको साँच्चैकै निकाल्दा भारी मन भो । अघिल्लो दिनसम्म दिनकै चौध घन्टा कामले थलिएका हामी बेकामे भयौ । अघिल्लो दिनसम्म आफ्नै कम्पनी, आफ्नै काम अब बिरानो कम्पनी र बेकामे सिप भो । दुई बर्षसम्म मरि मरि सिकेको तालिम पानीमा गयो । फेरी अरु कम्पनीमा गएर सुरुबाट काम सुरु गर्ने पर्ने भो । जे होस भोली देखि ‘फ्रेसम्यान’ भइयो । अरु दिन हुँदो हो त भोली काम हुँदैन भन्दा जुन उत्साह र उमंग मनमा छाउँथ्यो अब शायद यो कम्पनीमा काम गर्नु पर्दैन भनिदाको पीडा अर्कै हुँदो रहेछ । हैट, मान्छेको जिन्दगी जे गर्दा पनि खुशी नहुने ।
एक महिना त घुमेरै बिताउने हो । मनमा योजना बन्यो । बेकामे भएकै दिन सबै भन्दा पहिले मोबाइलमा भएका सबै आर्लराम बन्द गरियो । अब चैनले सुतिन्छ । यस्तै लाग्यो । भोलिपल्ट बिहानै आर्लराम बज्ने समय भन्दा पहिले आँखा खुल्यो । थुक्क जिन्दगी क्या सुतिन्छ भनेको कता दिन्द्रा लाग्नु ? कताको सुत्नु ? मनमा अनेक कुरा घुमेका घुमेकै छन् ।
कम्पनी जाने बेलामा हिडियो सउल तिर । अरु दिन घुम्न जाँदा रमाइलो आफ्नै खालको हुन्थ्यो । आज त्यस्तो कहाँ हुनु ? छ दिन पछि कता बस्ने कता जाने ठेगान छैन । साथीहरु सबै ब्यस्तै छन् । कम्पनीको कामले थिचिएकै छन् । आफ्नो कुरा तिनलाई के भन्नु तिनका आफ्नै दुःख छन् । जस्लाई पीडा छ त्यसलाई पो दुख्छ । अरुले त साहनुभुति मात्रै त हो जनाउने ? आफू ठेगान नभएको मान्छे परियो । मनको पनि ठेगान हुने कुरै भएन । तन घुम्न हिडेको धेरै मन घुम्यो ।
दिन त्यस्तै बित्यो । रातमा अरु दिन कामले थाकेको ज्यान भुुसुक्कै निदाइन्थ्यो । आज निन्द्रा लागे पो ? सुत्ने प्रयास गर्यो निन्द्रा नलाग्ने । सोजु नसम्झेको पनि होइन । त्यो पनि सही समाधान होइन भन्ने मनमै लागे पछि पिउन मन लागेन । रात छिप्पिदै गयो । मनका कुरा पनि पत्र पत्र फिल्मको सिन झै एउटा आउँछ । जान्छ । फेरी अर्को आउँछ । जान्छ । सिक्वन्स मिलाए जस्तो । झुपुक्क निदाएको फेरी कम्पनी जाने समय अगाबै निन्द्रा हराइ हाल्यो ।
काम हुँदासम्म मलाई लाग्थ्यो आर्लरामले बिथोल्छ निन्द्रा । आर्लराम नबज्ने दिन निदाको निदाकै गर्छु । आराम नै आरामको समय बित्छ । तर जुन दिन देखि आर्लराम बन्द गरेँ त्यही दिन देखि निन्द्रा लागेन । त्यही दिन देखि लाग्यो निदाउन धेरै कुराले असर गर्दो रैछ ।
बानी लाग्ला दुई चार दिनमा । हप्ता बित्यो । अर्को हप्ता पनि बित्यो । बानी लागेन । मनका कुराका चाङ आउँछन् जान्छन् । घुम्न जाने ठाउँ रमाइला छैनन् । लाग्दैनन् । जता पनि आफ्नै पीडा ठूला झै लाग्छन् । तर अरुले बाल दिदैनन् । यो सहर कामको सहर हो । जति गर्नु छ पहिले काम गर्नुछ । पैसा कमाउनु छ । अनि मात्रै साथीभाइ रमाइलो, घुमघाम, नाता सम्बन्ध । बेकामे भएर हिड्नेलाई भाउ कस्ले दिन्छ ? अँ साँच्चि तँपाईको तिर सजिलो, पैसा राम्रो हुने कम्पनी कतै छ ? महिना कट्यो बेकामे भएर डुलेको पनि ।