जेजु टापूलाई फन्को मार्दा (नियात्रा)
बाला राई
दक्षिण कोरिया-म हिमालको फेदीमा जन्मेको मान्छे । गगनचुम्बी पहाडसँंग लुकामारी खेल्दै हुर्किएँ । छङछङाउदै बग्ने ठाडो खोला र छहराहरुमा पौडिन्थें तर छाती चौडा पारेर तरंगित हुँंदै ठप्प अडिए झैं लाग्ने निलो सागरलाई नजिकबाट चुम्न पाएकी थिइन । कोरियामा पहिलोपटक समुद्रको नजिक पुग्दा म खुशीले रमाइकी थिएँ । अझ कोरियाको एउटा प्रान्त जेजु टाँपू घुम्न जाने कुराले मभित्र खुशीको सिमा रहेन । चारैतिर समुद्रले घेरिएको समुद्रको बिचमा उठेको सानो टाँपू हो जेजु । दक्षिण कोरियाको मुख्य पर्यटकीय स्थलको रुपमा चिनिने जेजु टाँपू जान कि त हवाइजहाज चढनुपर्छ कि त पानीजहाज । मलाई पानीजहाजबाट टाढाको यात्रा गर्ने औधी रहर । किनकी म समुद्र नभएको मुलुकबाट आएकी थिएँ । त्यहिमाथि जेजुदो त समुद्रबिचको सानो टाँपू । कस्तो होला ? भन्ने कौतुहलताले बढी सताएको थियो ।
छाङवन धामुन्ह्वा सेन्टर (Multicultural Family Support Center) बाट कोरियन परम्परागत अनुसार सामुहिक रुपमा हाम्रो विवाह भएको थियो । सरकारी निकायद्धारा संचालित दक्षिण कोरियाको हरेक क्षेत्रमा रहेको धामुन्ह्वा सेन्टरले हरेक देशबाट विवाह गरेर आएका अनि कोरियामा विवाह गर्न नसक्ने जोडीको हरेक वर्ष सामुहिक विवाह गर्दै आएको रहेछ । फिलिपिन्स, भियतनाम, कम्बोडिया, चीन र नेपाल गरी हामी पाँंच देशका पाँच जोडीको कोरियाको परम्परागत पहिरन हाम्बोक लगाएर कोरियन परम्परा अनुसार विवाह भएको थियो । कोरियाली परम्परागत शैलीमा भएको हाम्रो सामुहिक विवाहपछि हामीलाई तीनदिनको प्याकेजमा हनिमुनको लागि जेजुदो जाने ब्यवस्था मिलाएको थियो ।
जेजुदो जाने भन्नासाथ म खुशीले पुलकित भएकी थिएँ । किनकी कोरिया आएदेखिको जेजु टाँपू घुम्न जाने मेरो सपना पुरा हुन लागेको थियो । जेजुदो जाने हवाइ टिकट भाडा र केही खर्च आफ्नो अनि खाने बस्ने र घुम्ने खर्च आयोजकले मिलाइदिएको थियो ।
२०१३ अक्टोबर २५ तारिखका दिन बिहान किम्हे यअरपोर्टबाट बुसान यअरमा हामी जेजुदो उड्यौंं । बिहान साँढे नौबजेको हाम्रो फ्लाइट थियो । हामी लाम लागेर प्लेनभित्र पस्यौं । हामीलाई जेजुदो लैजाने प्लेन देखेर म चकित परेको थिएँ। ‘आम्मम कति ठुलो प्लेन हौ गाँठे । म नेपालबाट कोरिया आउदा चढेको जहाज जत्रै पो ठुलो छ त ।’ एकछिन त रनभुल्लमा परेर हामी चढ्ने हवाइजहाजलाई नजिकबाट नियालीरहें ।
सानी छोरीलाई काखमा राखेर हवाइजहाजको झ्यालबाट मैंले बाहिरको दृश्य अवलोकन गर्न थालें । जहाजले हेर्दाहेर्दै भुइँ छाडेर आकाशमा उड्न थाल्यो । केहीबेरमै कोरियाको गगनचुम्बी अर्पाट अनि गाउँवस्ती र हरियाली डाँडाकाँडा नाघ्दै निलो समुद्रमाथि जहाज उडिरह्यो । ‘ओहो, कति ठुलो समुद्र’, म खुशीले पुलकित हुँदै आकाशबाट देखिने समुद्रै समुद्रको क्षितिजसम्म आँखा च्यातिरहें । आकाशबाट निलो रंगमा सजिएको विशाल समुद्र हेर्दाहेर्दै जेजु एअरपोर्टमा जहाज बसेको पत्तै पाइन । सिटबेल्ट खोलेर श्रीमानले जाउँ भन्दा पो झसंग भएछु । अन्य यात्रुसँंगै हामी पनि आफ्नो सामान लिएर बाहिरियौं ।
यअरपोर्टमा हामीलाई लिन आएकी एकजना महिलाको गाडीमा पसेर हामी अगाडि बढ्यौं । केही बेरमा गाडीबाट झारेर हामीलाई एउटा ठुलो पर्यटक बस अगाडि लगेर बिदा भइन् । हामीले बसचालकसँंग खाना खाएर आउछौं भनेर रेष्टुराँभित्र छ्रिर्यौं । खाना खाएर बस चढ्यौं । बसमा अरु पनि धेरै यात्रुहरु थिए । बसले समुद्रको छेउमा लगेर छाड्यो आधा घण्टापछि सबै यहि बसमा फर्किनु भनेर । बसबाट ओर्लेर हामी सबैजना समुद्रको किनारातिर घुम्न थाल्यौं ।
समुद्रको छालसँगै बहने चिसो सिरेटोको पर्वाह नगरी समुद्र किनाराको रोमान्चक यात्रालाई क्यामेरामा कैद गर्दै हामी बस रोकिएको ठाउँतिर लम्कन थाल्यौं । सबै यात्रु आइसकेपछि बस समुद्रको किनारैकिनार हुँदै अघि बढ्न थाल्यो । केहीबेरमा गुम्बा अगाडि पुगेर बस रोकियो । हामी गुम्बा कटेर उकालो बाटो हिड्न थाल्यौं । डाँडामा पुगेर फोटो खिच्दै जेजु टाँपूलाई नियालेर फक्र्यौं ।
त्यसपछिको हाम्रो यात्रा जेजुदोको ऐतिहासिक ग्यालरीतिर मोडियो । जहाँं बेलायतकी महारानीले प्रयोग गर्ने गरगहना राखिएको संग्रहालय, बालबालिकाहरुका लागि बनाइएको दन्तेकथाका आकर्षक सचित्र चित्रकलाहरु, जनावरहरु पालिएको चिडियाघर, कृषिसामग्रीले सजिएको संग्राहलय हुँदै आइसबाट बनाइएका हिमचित्रहरु, विभिन्न तस्विर प्रर्दशनी स्थलहरुको अवलोकन गर्दै गयौं । साँझको सातबजेसम्म हामीले विभिन्न स्थलहरुको अवलोकन गर्दै रेष्टुराँमा गएर त्यहाँको स्थानीय खानाको स्वाद चाख्न पुग्यौं । बेलुकीको खाना खाएर हामी बस्ने होटलमा बसले पुर्यायो ।
अर्कोदिन बिहान होटलमै खाना खाएर साँढे आठ बजे हामीलाई लिन बस आइपुग्यो । दोस्रो दिन हामी चढेको बसका यात्रुहरु केही नयाँ थपिएका थिए । हामीलाई फेरी अर्को समुद्रको नजिक लगेर छाडिदियो । समुद्र वरिपरि भएका ठुलठुला चट्टानहरु हेर्दै हामीले एक घण्टा समुद्रको छेउको जंगल हिँडेर पार गर्यौं । बाटोमा थुप्रै पर्यटकहरु आवात जावत गरिरहेका थिए । दिउँसोको खाना खाएर हामी चाइनिज सर्कस हेर्न हलभित्र पस्यौ । त्यसपछि लेकका नांगाडाँडा पाखाहरु जस्ता देखिने खुला मैदान पार गर्दै मंगोल नाटक हेर्न एउटा हलभित्र पस्यौं । घोडाको प्रयोग गरेर मंगोलको इतिहासलाई समेटेर मञ्चन गरिएको नाटक भाषा नबुझे पनि दृश्यबाट बुझन सकिन्थ्यो । त्यसपछि हामीलाई घोडाहरु लमबद्ध राखिएको खुला चौरमा लगियो । रातो ज्याकेट र कालो ह्याट लगाएर घोडा चढन पालैपालो लाम लागेर बस्यौं । पहिलो पटक कोरिया आएर जेजुमा घोडा चढ्न पाउँदा अति रमाइलो महशुस भइरहेको थियो ।
बेलुकीपख हामी समुद्रको नजिक पुगेर ठुलो पानी जहाजमा चढ्यौं । एक घण्टा जहाजबाट समुद्रको रोमाञ्चक यात्रा गर्दैै फोटो खिच्दै फर्कियौं । त्यो दिन पनि हामी बिहानदेखि राती ८ बजेसम्म घुमेरै बितायौं । कहिले समुद्रको किनार, कहिले जंगलको फेदी त कहिले नांगो डाँडा पाखातिर बसले कुदाइरहदा जेजु टाँपूलाई धैरै पटक फन्को मारिरहे झैं लाग्थ्यो मलाई ।
मेरो पहिलो यात्रा, थोरै समयमा धेरै ठाउँ घुमेको । म ठाउँ हेर्दै हरेकपल रोमान्चित हुन्थें साथमा एकवर्षकी छोरीलाई सम्हाल्दै मैंले घुमेको ठाउँको नाम टिप्न सकिन । नत दिमागमै बस्यो । हामीलाई घुमाउने महिला गाइडले हरेक ठाउँको बारेमा जानकारी गराउँथिन् । त्यस ठाउँको विशेषता अनि महत्व बताइदिन्थिन् । तर मैंले कोरियन भाषा राम्ररी नबुझ्ने भएकोले मुकदर्शक बनेर समुहको पछि पछि लाग्थें अनि त्यहाँको प्राकृतिक दृश्यसँग भरपुर आनन्द लुट्थें ।
तेस्रो दिन पनि बिहानै खाना खाएर घुम्न निस्कियौं । जेजुको विभिन्न सुन्दर पार्क, बुटानिकल गार्डेन हुँदै ऐतिहासिक स्थल, साँस्कृतिक संग्रहालय, पुराना वस्तीहरुको अवलोकन गर्दै ज्वालामुखी विस्फोट भएर बनेको गुफा(जो विश्व सम्पदा सूचि युनेस्कोमा समेत सुचिकृत छ) मा पुग्दा मलाई पोखराको महेन्द्र गुफाको याद आयो । दक्षिण कोरियाकै सबैभन्दा अग्लो १९५० मिटर अग्लो प्रख्यात हिमाल हाल्लासानको टुप्पोमा त हामी समयको अभावले पुग्न सकेनौ तर फेदीसम्म पुगेर हाल्लासानलाई नियाल्ने मौका पायौं ।
दक्षिण कोरियाकै सबभन्दा मिठो सुन्तला फल्ने ठाउँ जेजुदो । सुन्तला फल्ने मौसममा पुगेकोले गर्दा जता हेरेपनि ससाना बोटमा पहेलपुर देखिने लटरम्म फलेका सुन्तला झाडीले मलाई मेरो गाउँको याद दिलाइरहेको थियो । बाटोमा देखिने सुन्तला झाडीहरु पार गर्दै हामी एउटा घरभित्र प्रवेश गर्यौं । हामीलाई बोटबाट टिपेर ल्याएको ताजा सुन्तला खान दिएपछि विभिन्न जडीबुटीबाट बनेको औषधीको बारेमा जानकारी दिइयो । हामी त्यहाँबाट अर्को बजारमा गयौं । त्यहाँ सुन्तला र क्याकटसबाट बनेको चकलेटहरु कोसेली किनेर फेरी बुटानिकल गार्डेनतिर लाग्यौं ।
बेलुकी फर्किने बेला सुन्तलाको होलसेल पसल अगाडि हाम्रो गाडी रोकियो । सबैले सुन्तला किने । हामीले पनि सुन्तला किनेर त्यहिबाट आफन्तहरुलाई पठाइदियौं । हाम्रो किम्हेको प्लेन बेलुकी ९ बजेको थियो त्यसैले बिहान निस्कदै होटलबाट हाम्रो सामान साथमा लिएर निस्केका थियौं । त्यहि बसले हामीलाई यअरपोर्टसम्म ल्याएर छाडिदियो ।
यसरी तीनदिनसम्म जेजुको धेरै जसो स्थानहरुमा हामी घुम्न भ्यायौं । त्यहाँकोे एतिहासिक स्थल, विभिन्न मुर्तिकला, चित्रकला, वास्तुकला, आइसबाट बनेको संग्रहालयहरु, समुद्रीटत वरपरका ठुलठुला चट्टान, झर्नालगायतका थुप्रै स्थलहरुको अवलोकन गर्यौं ।
जेजु कोरियाको एउटा ठुलो टापू हो । यो पर्यटकिय स्थलको रुपमा धेरै प्रख्यात छ । जेजुदोको तीनबटा विशेषता रहेछन् हावा, महिला र घोडा । चारैतिर ठुलो समुद्र भएकोले बाह्रैमास हावा चलिरहन्छ । अनि जेजुका महिलाहरु उहिले समुद्रको गहिराइमा पुगेर समुद्री किराहरु निकाल्ने पेशा नै भएकोले महिलाको विशेष भूमिका रहेको छ । त्यसैले जेजुदोमा जताततै महिलाका मुर्ति देख्न सकिन्छ । अनि घोडाचढी पनि त्यहाँको मुख्य आकर्षण रहेको छ । प्राकृतिक सुन्दरता, ऐतिहासिक धरातल र मौलिक परम्परा रहेको जेजु टाँपूलाई आँखाभरी सजाएर फर्कियौं ।