तामाङ संघले २८५४ औं सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले २८५४ औं सोनाम ल्होछार मनाउने भएको छ । कोरियनहरुको चाड सलनालको पहिलो दिन अर्थात फेबु्रअरी १५ तारिखमा कार्यक्रम हुनेछ । संघको आइतबार बसेको बैठकले अध्यक्ष उइनासिंह वाइवाको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ ।
‘सोनाम ल्होछार तामाङ समुदायको ठूलो चाड हो । अब चरा बर्ष सकेर नखी ल्हो अर्थात कुकुर बर्ष लाग्दैछ । हामी बिदेशमा छौ । सबै मिलेर रमाइलो गर्ने एउटा आधार पनि हो यो ।’ संयोजक उइनासिंह वाईवाले भने । ‘सबै साथीभाइ मिलेर रमाइलो गरौ ।’ उनले थपे ।
‘कार्यक्रममा नेपालबाट कलाकारहरु पनि आउँदैछन् । हामी तामाङ समुदायसँगै अन्य समुदायको पनि साथ र सहयोगको अपेक्षा गर्छौ ।’ तामाङ संघका महासचिब मेघप्रसाद वाईवाले भने ।
‘ल्होछार कार्यक्रम सउलको एडब्लु कन्भेन्सन् सेन्टरमा हुनेछ । यो ठाउँ स्तरीय कार्यक्रम गर्नका लागि उपयुक्त ठाउँ मध्ये एक हो । कार्यक्रममा पाल्नुहुने सबैले रमाइलोसँगै तामाङ परिकारको मजा लिन सक्नु हुन्छ ।’ ल्होछार आयोजक समितिका सहसंयोजक संजिव कुमार गोलेले कार्यक्रम बारे जानकारी दिए ।