मेरो श्रमजिवी किसान
कविता /
श्रमदिप चौलागाई
मेरो श्रमजिवी किसान
बिश्व पुजीबादसग प्रतिस्पर्धा गर्न
एक ढाकर सुन्तला बेचेर
एक बोतल फ्यान्टा किन्दै छ ।
मेरो अठार बर्षे जवान साथी
एक मानो तातो खरानीको खातिर
अंगालो भरी दाउरा बोकेर
आगोको खोजीमा बिदेश धाउदै छ ।
मेरो घर मुनीको कोशी
सिङ्गो पाहाडलाई सुख्खा छोडेर
तराईको छाती तोडेर
दुःखी मनले दक्षिण झर्दै छ ।
म स्वास्थ्य जाँचमा फेल भएको
गाँउ परिवारकै तिरस्कृत बबुरो
टाकुराको शिरमा बसेर
पारी ढ्वाङ्गमा बजिरको
सम्बृद्धीको भाषन सुनिरहेछु ।