तमु धीँ कोरियाको आठौ कार्यसमिती चयन गर्न सलनालमा बृहत भेला गरिने
दक्षिण कोरिया
सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ०) हरुको बाक्लो उपस्थितिको अपेक्षा सहित यहि २०१८ फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल सिन्सोलदोङ स्थित नेपाल हाउसमा एक बृहत भेलाको आयोजना गर्ने भएको छ ।
सोही बृहत भेलाबाटै आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमिति गठन गरिने र संस्थाको विधान अनुरुप नव गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई विधिवत् रुपमा शपथ ग्रहण गराईने कार्यक्रम रहेको तदर्थ समितिका संयोजक भिम गुरुङ (पर्वत) ले जानकारी दिनुभएको छ ।
तत्कालीन अध्यक्ष प्रदिप गुरुङको नेतृत्वमा बनेको सातौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा भई गत १९ नोभेम्बर २०१७ मा विघटन लगत्तै विविध कारणवश आठौं कार्यसमिति गठन हुन सकेको थिएन ।
नयाँ आठौं कार्यसमिति गठन नहुँदासम्म भिम गुरुङ (पर्वत) को संयोजकत्वमा कार्यकारी संयोजक बेल गुरुङ, कार्यकारी संयोजक जित गुरुङ, सञ्चालक सुरज गुरुङ, सह-सञ्चालक गुप्त गुरुङ, सह-सञ्चालक भिम गुरुङ (लमजुङ) लगायत ३१ जनाको सदस्यीय सहितको तदर्थ समिति गठन गरिएको थियो ।
सातौं कार्यसमिति विघटन भएपछिको गठन भएको तदर्थ समिति नै तमुहरुको महान् पर्व तमु खी ल्होसार र ल्होछार-२०७४ का लागि मूल आयोजक रहने गरि सदाको वर्षमा झैँ गत २०१८ जनवरी ०७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना ( 서울마리나) हलमा तमु खी ल्होसार र ल्होछार-२०७४ सम्पन्न भएको थियो ।
दक्षिण कोरियामा रहेका जातीय संस्थाहरुमा आफ्नो छुट्टै परिचय स्थापित गरिसकेको यस संस्थाले प्रवासमा छरिएर रहेका तमुहरुलाई एकत्रित गर्दै आफ्नो मौलिक पहिचान, भेषभूष, भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई जगेर्ना गर्न उल्लेखनीय भूमिका खेल्दै आईरहेको कुरा तदर्थ समितिका संयोजक भिम गुरुङले बताउनुभयो । उहाँ थप्नुहुन्छ – विगतमा जस्तै यस कार्यक्रममा पनि सम्पूर्ण तमुहरुको साथ, सहयोग र उपस्थिति रहनेमा विश्वस्त छु ।
नयाँ जोश र जाँगर सहित रचनात्मक भूमिकाले यस संस्थाको सुनौलो भविष्यमा नौलो आयाम थपिने कुरामा आशावादी रहँदै तमुहरुको एकता नै संस्थाको विकासको मेरुदण्ड भएकोले सबै सचेत र क्रियाशील हुनुपर्नेमा तदर्थ समितिका सञ्चालक सुरज गुरुङले जोड दिनुभयो ।
विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै जातीय अस्तित्व रक्षामा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । विरामी पर्दा, काम छोडेर बस्दा वा विभिन्न अप्ठ्यारो परिस्थितिमा बस्न सहज होस् भन्ने हेतुले करिव ३ वर्षदेखि सउल, थापसिम्नी स्थित तमु धीं आवास गृह (सेल्टर) पनि सञ्चालन भइरहेको छ ।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हरसम्भव सूचना दिइएको र कारणवश प्राप्त नभए यहि सूचनालाई आधार मानेर उपस्थित जनाइ कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमु धीं दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।
नोट – उक्त बृहत भेलामा चयन गरिने कार्यसमितिको प्रारम्भिक तथा अन्तिम तयारी बैठक आउँदो फेब्रुअरी ११ तारिक बसेर विविध विषयमा तय गरिने भएकाले कार्यसमितिमा आबद्व ईच्छुहरुले दिईएको नम्बरमा फोन गरेर जानकारी गराउनुहोला साथै उक्त फेब्रुअरी ११ तारिकको अन्तिम तयारी बैठकमा स्वयं उपस्थित पनि जनाउनुहोला ।
तपसिल –
मिति – २०१८ फेब्रुअरी १५ तारिक बिहीबार ।
समय – ठीक ११.०० देखि दिउँसो ०३.०० बजे सम्म ।
स्थान – नेपाल हाउस, सिन्सोलदोङ ।
सम्पर्कका लागि,
भिम गुरुङ (संयोजक) 010 5297 8850
सुरज गुरुङ (सञ्चालक) 010 8382 4342